PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

ठूलो शालिग्राम शिला परिक्रमास्थल भत्किँदा समस्या



रासस

पर्वत : कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध भत्काएपछि प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सेतीवेणीमा रहेको विश्वकै सबैभन्दा ठूलो शालिग्राम शिला परिक्रमा गर्न समस्या भएको छ। 

कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको जलाशयका कारण डुबानमा परेको शिलामा परिक्रमा गर्नका लागि बनाइएको तटबन्ध दुई वर्षअघि आएको बाढीले भत्काएपछि मर्मत नहुँदा तीर्थालुले शिलाको परिक्रमा गर्न नसकेका हुन्। शिलालाई परिक्रमा नगरेसम्म मनोकामना पूरा नहुने जनविश्वास छ। 

पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने शालिग्राम शिला दर्शन गर्न बागलुङ, पाल्पादेखि मुलुकका अन्य स्थानबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी र पर्यटक आउँछन्। अहिले शिला परिक्रमा गर्न नपाउँदा भक्तजन निराश भएर फर्कने गरेको स्थानीयवासी रवि भट्टराईले बताए । 

गतवर्ष बाँसको पुलेसो बनाइए पनि जोखिम भएका कारण यस वर्ष नबनाइएको भट्टराईले बताए। 

कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रले तटबन्ध मर्मत गर्दै आएपनि यस पटक मर्मतका लागि कुनै चासो नदिएको गुनासो स्थानीयवासीले गरेका छन्।

केन्द्रको जलाशयले शिला डुबानमा परेपछि परिक्रमा गर्न सहज होस् भन्ने उद्देश्यले तटबन्ध बनाइएको थियो। वर्षायाममा जलविद्युत् केन्द्रको बाँधका सबै ढोका खोलिने भएकाले बाढीले तटबन्ध भत्काउने गरेको छ।

केन्द्रले नदीतर्फका भागमा वर्षायाममा झिक्न मिल्ने र हिउँदमा राख्न मिल्ने गरी तटबन्ध राख्नुपर्ने सुझाव स्थानीयवासीको छ। 

फलामका खम्बा र सिमेन्टका स्ल्याब निकाल्न मिल्ने गरी बनाउन सकेमा वर्षायाममा भत्काउने र बग्ने समस्या अन्त्य हुने भट्टराईले बताए।

सुरुमा शिलाको भाग खाली राखेर तटबन्ध बनाउने माग भएपनि जलविद्युत् केन्द्रका प्रविधिज्ञले हरेक वर्ष आउने मर्मतको रकममा कमिसनको लोभमा परेर अर्कै संरचना बनाएको आरोप पनि स्थानीयवासीले लगाएका छन्। 

शालिग्राम क्षेत्र विकास समितिका अध्यक्ष तथा पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले यस वर्षको हिउँदमा जुनसुकै हालतमा पनि मर्मत गर्नुपर्ने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell