
काठमाडौं : 'तपाईँलाई धेरै धेरै बधाई छ। हाम्रो पार्टीको प्रतीक नै हुनुभयो।'
मंगलवार बिहानै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले फोनबाट बधाई दिएपछि उनी दङ्ग थिए। अध्यक्षले फोनमा भने झै राप्रपामा प्रतीक नै बने यिनी। दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा गाउँपालिकामा जितेर उनले हिन्दु राष्ट्रको पक्षपोषण गर्दै आएको राप्रपाको साख जोगाएका थिए।
झापाको कचनकवल गाउँपालिकाको अध्यक्षमा हिन्दु राष्ट्रलाई अभियान बनाउने दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जित हात पार्ने यिनी हुन् अञ्जरा आलाम, एक मुसलमान।
आलामले ५ हजार ८ सय १६ मत प्राप्त गरी जिते। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कलेन्द्रप्रसाद सिंह राजवंशीले ५ हजार ३ सय ५३ मत ल्याए।
रोचक त के रह्यो भने हिन्दु धर्मको रक्षा र सनातन हिन्दुराष्ट्र हुनुपर्ने मुख्य एजेन्डा बोकेर हिड्ने राप्रपामा पार्टीको नाक राख्ने काम भने इस्लाम धर्मावलम्बीले गरे। तर, उनी पार्टीको हिन्दु राष्ट्र हुनपर्ने एजेन्डाले नै आफूलाई जित दिलाएको दावी गर्छन्।
'वर्षौदेखि नेपाल हिन्दु राष्ट्रको पहिचान लिएर रहेको हो। यो पहिचानलाई विश्वको नक्साबाट हटाउने काम भयो। जनतालाई सहमत भएनन र हिन्दु धर्म सबैको सर्वपरी धर्म हो। हिन्दुधर्म पहिचानको रुपमा रहनु पर्छ भन्ने मान्यता हो त्यसैले जितायो,' पहिलोपोस्टसँगको कुराकानीमा उनले भने, 'म मुस्लिम समुदायको भए पनि नेपाल धर्म सहिष्णुता र हिन्दु धर्मले सबै धर्मलाई समेटेका कारण यो पहिचान हटाउन मिल्दैन।'
'पहिचानवादी' आन्दोलनले संक्रमित गरेको समाजमा फरक धर्मावलम्बीले यस्तो भनेको सुन्दा अपत्यारिलो लाग्ला। तर, उनको जीतले त्यसलाई पुष्टि गरेको छ। 'राष्ट्रको पहिचानको लागि हिन्दु राष्ट्र हुनपर्छ,' उनले भने।
करिब १० हजार जनसङ्ख्या रहेको गाउँपालिकामा करिब ३ हजार मुस्लिम मतदाता छन्। २०५४ सालदेखि राप्रपाको राजनीतिमा लागेका आलाम २०५४ सालमा झापाको पाठामारी वडा नम्वर १ बाट वडा सदस्य जितेका थिए। आफ्नो गाउँपालिकाका केही स्थानमा सडक नपुगेकाले आफ्नो पहिलो प्रथमिकता सडक पुर्याउने उनी बताउँछन्।
सबै धार्मिक समुदाय र वर्गको सहयोगले विजय गराएकाले सबै धर्म र संस्कृतिलाई समेटेर लैजाने उनको योजना छ। त्यस्तै बेरोजगारीको अवस्थामा सुधार तथा सडक नपुगेका ठाउँमा सडक पुर्याउने उनको योजना छ।
पेशाले उनी व्यवसायी हुन्। उनको झापामा इटा उद्योग छ।