काठमाडौँ : मनसुन पूर्णरुपमा सक्रिय भएसँगै देशैभर वर्षा भएको छ। एक साताअघि मनसुन सक्रिय भएपनि काठमाडौँ उपत्यकासहित कतिपय भेगमा वर्षा हुनसकेको थिएन।
वर्षा नहुँदा उपत्यका आसपासका फाँटमा रोपाइँ गर्न समस्या भएको थियो। गत जेठ २९ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन असार १३ गतेदेखि देशभरिनै फैलिएको छ।
मध्यअसारमा पानी नपर्दा किसान छटपटीमा थिए। पूर्वका धेरै स्थानमा प्रर्याप्त वर्षा हुनसकेको थिएन। तर, सोमबारदेखि मनसुन पुनः सक्रिय भई उपत्यकासहित देशैभर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुन न्यूनचापीय रेखा साधारण रहने स्थानभन्दा उत्तरतिर सरेकाले केही दिनयता मनसुनी वर्षा राम्रो भइरहेको मौमसविद् सुवास रिमाल बताउँछन्। उनका अनुसार बङ्गालको खाडीबाट आउने जलबास्प पूर्वी वायुले देशको प्रायःसबै ठाउँमा वितरण गरेको छ, यसले गर्दा देशभरनै वर्षा गराउने जलबास्प प्रशस्त मात्रमा देखिएको छ ।
मध्यतराईमा भारी वर्षा हुने
भारतको पूर्वी उत्तर प्रदेशमा न्यूनचापीय क्षेत्र विकास भएको छ। यसको गति उत्तर पश्चिमतिर रहेकाले आज, भोलि र पर्सी देशभर बदली र वर्षा हुने मौसमी अनुमान छ।
अहिले पूर्वी उत्तर प्रदेशमा घना बादल विकास भइरहेको र यसको असर स्वरुप आज दिनभर र राति देशका मध्यतराई चितवन, नवलपरासी, बारालगायत आसपास क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् रिमालले जानकारी दिए।
त्यसैगरी बुधबार बिहानीपख सुदूरपश्चिमका तराई क्षेत्र कैलाली, कञ्चनपुरलगायत स्थानमा भारी वर्षा हुने सम्भावना छ।
महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी धनगढीमा ९३ र सबैभन्दा कम पोखरामा ४ मिलिमिटर वर्षा भएको छ। यस्तै, नेपालगन्जमा ६६, दाङमा ६५, वीरेन्द्रनगरमा २६, डडेल्धुरामा २४ र दिपायलमा ४ तथा पूर्वको धनकुटामा ३३, ओखलढुङगामा १५, ताप्लेजुङमा १४, विराटनगरमा १० मिलिमिटर वर्षा भएको छ। काठमाडौँमा २५ मिलिमिटर र भैरहवामा २४ मिलिमिटर वर्षा भएको छ।
वर्षासँगै देशैभर बढेको तापक्रम केही घटेको छ। आज सबैभन्दा बढी सिमरा र दाङमा ३१ तथा सबैभन्दा कम जुम्लामा १७ डिग्रिसेल्सियस तापक्रम रहेको छ। काठमाडौँको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस रहेको छ। रासस