काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पहिलो पटक अन्तर्राष्ट्रियस्तरको आइसागो प्रमाणपत्र प्राप्त गरेको छ।
निगमले उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ (भूमि सेवा) बापत अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको हो। निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले अन्तर्राष्ट्रिय प्रमाणपत्रले निगमको सेवा अन्तर्राष्ट्रिय मापदण्डको भएकाले यसले व्यावसायिक सफलतामा थप टेवा पुग्ने बताए।
‘आइएटिएज सेफ्टी अडिट फर ग्राउन्ड अप्रेसन’ विश्वका ग्राउन्ड ह्यान्डलिङ गर्ने उत्कृष्ट एयरलाइन्सलाई सर्टिफाइ गर्छ। निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्ड सर्भिस प्रोभाइड’ गरेबापत अन्तर्राष्ट्रिय प्रमाणपत्र पाएको हो।
यसको दुई वर्षीय अवधि हुन्छ। विमानस्थलमा हाल निगमका ग्राउन्ड ह्यान्डलिङ, इन्जिनियरिङ, क्यास र क्वालिटी फ्लाइट सेफ्टी विभागमा ९००भन्दा बढी कर्मचारी कार्यरत छन् ।
निगमले एक बोइङ र दुई एयरबसबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएकामा पछिल्लो केही दिनयता एक मात्र बोइङ पनि ग्राउन्डेड भएको थियो।
थप दुई वाइडबडी खरिदका लागि निगमले पहिलो किस्ता रकम खरिद गर्ने कम्पनीलाई पठाइसकेको छ। निगमले हाल आठ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ। रासस