कुवेत : आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि लगाइएको नाकाबन्दी खोल्न उसले पूरा गर्नुपर्ने शर्तका बारेमा कतारले मङ्गलबार जवाफ पठाएको छ।
कतारमाथिका ती आरोपसँगै गल्फका चारवटा देश साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए। ती चार देशले उसको नाकाबन्दी खोल्नका लागि भन्दै विभिन्न १३ बुँदे शर्त राखेका छन्।
साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँग थप नयाँ शर्त राखेर ती पूरा गर्न चेतावनी दिइएकोमा कतारले पूरा नगरेपछि हिजोदेखि लागू हुनेगरी थप ४८ घण्टाको समय कतारलाई दिएका थिए।
कतारले ती शर्तका सम्बन्धमा मङ्गलबार आफ्नो जवाफ कुवेतसमक्ष पठाएको समाचारमा जनाइएको छ।
कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल्लाह रहिमले आज सो जवाफ लेखिएको हस्तलिखित पत्र कुवेतका विदेशमन्त्री शेख सबाह अल अहमद अल जाबेरलाई हस्तान्तरण गरेका छन्।
कतारका राजाले कुवेतका राजालाई पठाएको पत्र कतारी विदेशमन्त्रीले कुवेती विदेशमन्त्रीलाई हस्तान्तरण गरेका थिए। कतारका राजाले लेखेको भनिएको सो हस्तलिखित पत्र कुवेतका राजालाई मङ्गलबारै हस्तान्तरण गरिएको पनि समाचारमा जनाइएको छ।
कतारमाथि उनीहरुले नाकाबन्दी लगाएको करिब महिना दिनपछि यो प्रतिबन्धलाई हटाउनका लागि भन्दै केही प्रस्तावहरु अघि सारेका छन्। सोमबार सो शर्त पूरागर्ने समय सकिएपछि उनीहरुले ती प्रस्तावको स्वीकृतिका लागि भन्दै सोमबार उक्त चेतावनीको समय ४८ घण्टा थप गरेका थिए।
यसअघिका शर्त आगामी ४८ घण्टाभित्र पूरा गर्ने भएमा मात्र कतारसँग वार्ता गरी शान्तिपूर्ण समाधान निकाल्ने बताएका उनीहरुले ती शर्त कतारले पूरा नगरेमा के गर्ने भन्ने बारेमा भने केही बताएका थिएनन्।
कुवेतले कतार सङ्कटको समाधानका लागि मध्यस्थता गरिरहेको छ। त्यसैले कतारका राजाले कुवेतका राजालाई पत्र पठाएका र त्यसमा आफ्नो सरकारलाई लगाइएको नाकाबन्दी र त्यसको समाधानका लागि राखिएका पछिल्लो शर्तहरुको जवाफ पठाइएको छ।
त्यसमा कतारले के जवाफ लेखेको छ भन्ने बारेमा भने अहिले नै केही बताइएको छैन। सम्भवत यो सङ्कट समाधानका लागि कतारले शर्तहरु मान्ने बारेमा पत्रमा लेखिएको अनुमान गरिएको छ।
कतारमाथि नाकाबन्दी लगाउनुको साथै उसँगको कूटनीतिक सम्बन्ध तोडेका साउदी अरेबियासहितका देशले पछिल्लो समयमा कतारसँगको सम्बन्धको पुनस्र्थापनाका लागि भन्दै विभिन्न शर्त राखेका छन्।
उनीहरुले राखेका शर्तहरुमध्येको एक कतारको टेलिभिजन अलजाजिरा बन्द गर्नुपर्ने छ। त्यसैगरी इरानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्नुपर्ने अर्को शर्त हो। दुई हप्ता अघि उनीहरुले राखेको यो शर्त पूरागर्न कतार भने अनिच्छुक रहँदै आएको छ।
यसैबीच, अर्को एक समाचारअनुसार इजिप्टले कतारमा जारी सङ्कट समाधानको लागि गल्फ देशहरुका विदेशमन्त्रीहरुको बैठक बुधबारका लागि आह्वान गरेको छ। इजिप्टले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र बहराइनका विदेशमन्त्रीहरुसँग यस बारेमा छलफल गर्ने जनाएको छ।
इजिप्टको राजधानी कायरोमा इजिप्टसहित चार देशका विदेशमन्त्रीहरुको बैठक बस्न लागेको छ। बैठकको आतिथ्यता इजिप्टले गर्ने भएको इजिप्टेली विदेशमन्त्रालयले जानकारी दिएको छ।
इजिप्टको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा बैठकमा कतार सङ्कटको वर्तमान अवस्था र यसको समाधानका बारेमा छलफल हुने जनाइएको छ। रासस/एएफपी