PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

काठमाडौँमा चार ठाउँमा बन्दैछ नयाँ स्मार्टसिटी, साउनदेखि डिपिआर सुरु हुने



दिनेश खड्का

काठमाडौँमा चार ठाउँमा बन्दैछ नयाँ स्मार्टसिटी, साउनदेखि डिपिआर सुरु हुने

काठमाडौँ : उपत्यकामा निर्माण हुन लागेका चार नयाँ शहर(स्मार्टसिटी)को विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) साउनबाट सुरु हुने भएको छ।

उपत्यका विकास प्राधिकरणका अनुसार टेण्डर मूल्यांकन सकिएको र साउनदेखि डिपिआरको काम सुरु हुनेछ। 'हामीले टेण्डर प्रकृया असारभित्र सक्छौं। साउन १ गतेदेखि डिपिआरको काम सुरु हुन्छ,' प्राधिकरणका शहरी योजनाकार भागवत खोखालीले भने।
 
प्राधिकरणले जग्गा यकिन गरेर काठमाडौ,भक्तपुर,ललितपुर तीनै जिल्लाका शहर बन्ने क्षेत्रमा कित्ताकाट तथा नयाँ संरचना निर्माणमा रोक लगाएको छ। करिब १ लाख ३० हजार रोपनी क्षेत्रफलमा चार नयाँ शहर निर्माणको योजना अघि बढिसकेको छ। काठमाडौं लगायतका वरपर आफुखुशी प्लटिङ र आवास बनाउने कार्यले शहरनै कुरुप बनेपछि सरकारले सबै सुविधासहितको व्यवस्थित शहर बनाउने निर्णय गरेको थियो।

सरकारले आगामी पाँच वर्षभित्र यो शहर निर्माण हुनेछ। यो शहरमा सबै पूर्वाधारहरु हुनेछन्। अव्यवस्थित शहरीकरणलार्इ रोकेर स्मार्ट सिटी अवधारणमा बस्ती बनाउने योजनासहत सरकारले काम अघि बढाएको हो।

डिपिआर १५ महिनाभित्र तयार हुनेछ। डिपिआर मन्त्रिपरिषद्बाट पारित भएपछि स्मार्टसिटीको काम सुरु हुनेछ। डिपिआर पारित भएपछि प्राधिकरणले तयार पारेको संरचना अनुसार घर निर्माण गर्न पाइनेछ।
 
यो शहर निर्माणका लागि पाँच खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। उपत्यकाका तीन जिल्लालार्इ समेटेर एकीकृत शहर निर्माण हुनेछ।प्राधिकरणका आयुक्त भाइकाजी तिवारीका अनुसार यी चार नयाँ शहरमा बसोबास व्यवस्थित गरिनेछ। यो बस्तीमा बसोबास,सरकारी कार्यालय,बैक वित्तीय क्षेत्र,औद्योगिक क्षेत्र,विद्यालय,स्वास्थ्य चौकी,बजार ,सपिङ सेन्टर हुनेछन्। 

कहाँ कहाँ बन्नेछ शहर?
 

पहिलो नयाँ शहर: काठमाडौ र्इसान (पूर्व-उत्तर क्षेत्र)

यो उपत्यकामा निर्माण हुन लागेको पहिलो नयाँ शहर हो। यो पहिलो र सबैभन्दा ठूलो शहर हुनेछ। यो शहर करिब १ लाख रोपनी क्षेत्रफलमा फैलने छ। यो काठमाडौ पूर्व-उत्तर क्षेत्रमा पर्छ।
 
 पूर्वमा भक्तपुरको नगरकोट जाने सडक,तेलकोट भन्ज्याङसम्म तथा पश्चिममा जोरपाटी क्रिकेट स्टेडियमबाट मुलपानी गोठाटार हुँदै मनोहरा पुल भक्तपुर जाने बाटो फैलिने छ। त्यस्तै उतरमा साँखु बजार तथा दक्षिणमा भक्तपुरको पुरानो बाटोसम्म फैलने छ। 
 

दोस्रो काठमाडौ आग्नेय (पूर्व-दक्षिण)

 
यो करिव १० हजार रोपनी क्षेत्रफलमा फैलिने छ।  यो पूर्वमा अरनिको राजमार्गको सुर्यविनायक चोकदेखि मन्दिर, सूर्यविनायक वनलाइ बाहिर पार्दै शहर निर्माण हुनेछ। 
 
पश्चिममा खहरे खोला ,बालकोट विरुवा सडक, पानी ट्याङकी अमरनगर, ठिमी हुँदै अरनिको राजमार्ग सिमानालार्इ छुनेछ। शहर उत्तरमा अरनिको राजमार्ग सिमानासम्म फैलने छ। दक्षिणमा भक्तपुर जिल्लाको सिलामगाल, रानीकोट जंगल छेउ ,अनन्तलिङगेश्वर फेदी, तर्खगाल,पात्लेश्वर विरुवा हुँदै खहरेसम्म पुग्नेछ।
 

तेस्रो: काठमाडौ नैऋत्य (दक्षिण पश्चिम) 

यो तेस्रो नयाँ शहर १० हजार रोपनी क्षेत्रफलमा फैलिने छ। यो ललितपुरलार्इ समेटेर निर्माण हुनेछ। पूर्वमा छ्यासिकोटदेखि साविक सैंबु गाविसको सिमाना हुदै फर्सिडोल बाग्मती नदिको झोलुङगे पुल सम्म पुग्नेछ। त्यस्तै पश्चिममा बाग्मती नदीको सिमाना सम्म तथा उत्तरमा साविक सैवु गाविसको सिमाना छुने छ।   दक्षिण तर्फ बागमती नदीसम्म फैलिने छ। 
 

चौथो नयाँ शहर : काठमाडौँ उत्तर 

यो नयाँ शहर पनि १० हजार रोपनी क्षेत्रफलमा फैलिने छ। पूर्वमा सामाखुशी,टोखा रोड हुँदै बाइपास पुग्नेछ। पश्चिममा काभ्रेस्थली बाइपास जाने मूल सडक छुनेछ।  त्यस्तै उत्तरमा सपनातीर्थ मालुङ हुँदै काभ्रेस्थली तिर जाने छ । दक्षिणमा ग्रीनल्याण्ड चोक देखि मनोरथ हुँदै महादेव खोला काभ्रेस्थलीको मुल सडकको पुल छुनेछ।

यी शहरलाइ विस्तारै स्मार्ट सिटीको रुपमा विस्तार गर्दै लैजाने उपत्यका विकास प्राधिकरणले जनाएको छ। यी क्षेत्रमा भएका हालका जंगललार्इ पार्कको रुपमा विकास गरिने र  नदीलार्इ तालको रुपमा विकास गरिने तिवारीले बताए। मनहरा खोलामा कम्तिमा ३ सय रोपनीको ताल बनाइने उनले बताए।
 

प्राधिकरणको लक्ष्य थप तीन नयाँ शहर 

प्राधिकरणले आगामी साउन देखि डीपीआर सुरु हुन लागेका चार बाहेक थप तीन नयाँ शहर बनाउन तयारी सुरु गरेको छ।अब बन्ने तीन शहर भने ललितपुरमा मात्रै हुनेछ।
 
यो शहरका लागि प्रारम्भिक अध्ययन तत्काल थालिने प्राधिकरणले बताएको छ। सरकारले दिगो विकासको लक्ष्य (एसडिजी) अनुसार सन् २०३० सम्म नेपालभरि ५० नयाँ शहर बनाउने लक्ष्य अघि सारेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell