PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

निजी वायु कम्पनीले आन्तरिक भाडा घटाए



रासस

निजी वायु कम्पनीले आन्तरिक भाडा घटाए

काठमाडौँ : हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन्। 

नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा दर घटाएको हो। 

निगमले हवाई इन्धनको मूल्य घटाएकाले आन्तरिक भाडादर केही समायोजन गरिएको सङ्घका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए। निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर चार घटाएर ८२ बनाएको थियो। 

असार २१ गते बुधबारदेखि लागू हुनेगरी हवाई भाडादर घटाइएको बुद्धएयरका बजार व्यवस्थापक विनिता थापाले जानकारी दिइन्। 

नयाँ भाडादरअनुसार अब काठमाडौँबाट विराटनगर जाँदा सात हजार १०४ तिर्नुपर्छ। यसअघि विराटनगरको भाडा सात हजार २०० थियो। 

त्यस्तै भद्रपुरको भाडा आठ हजार ६७६, भैरहवाको पाँच हजार ९१३, धनगढीको १२ हजार १९ र नेपालगन्जको आठ हजार ३६५ पर्छ। यसअघि भद्रपुरको आठ हजार ७००, भैरहवाको रु छ हजार, धनगढीको १२ हजार २०० र नेपालगन्जको नौ हजार ५०० थियो। 

त्यसैगरी पोखरा जान पहिला चार हजार ७०० तिर्नुपथ्यो भने अब चार हजार ६३४ लाग्ने भएको छ। काठमाडौँबाट जनकपुर जान तीन हजार ९४८ लाग्नेछ। पहिला यही रुटमा चार हजार लाग्थ्यो । 

सबैभन्दा कम दूरीको उडान रहेको सिमरा जाने भाडामा भने ४० मात्र घटेको छ। सिमरा जान पहिला तीन हजार ४५ लाग्थ्यो भने अब तीन हजार पाँच तिरे पुग्छ। भरतपुर जान तीन हजार ३५३ लाग्छ । पहिला तीन हजार ५०० थियो। 

तुम्लिङ्टारको भाडा पाँच हजार ७०० बाट घटाएर पाँच हजार ६२३ कायम गरिएको छ। माउन्टेन फ्लाइटको भाडामा पनि ११ हजारबाट घटाएर १० हजार ८६२ कायम गरिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell