PahiloPost

May 15, 2024 | २ जेठ २०८१

ओखलढुंगाले जोगायो कांग्रेसको साख : पूर्वी पहाडी जिल्लामा बहुमत पाउने एक्लो जिल्ला 



रमेश वाग्ले

ओखलढुंगाले जोगायो कांग्रेसको साख : पूर्वी पहाडी जिल्लामा बहुमत पाउने एक्लो जिल्ला 

काठमाडौँ : एक नगरपालिकासहित आठ स्थानीय तह रहेको ओखलढुङ्गामा नेपाली कांग्रेस चार स्थानीय तहमा सीमित भएको छ। कुनै समय कांग्रेसको किल्ला भनेर चिनिने ओखलढुंगा स्थानीय तह निर्वाचनको परिणाम आउँदा नेपाली कांग्रेस आधा स्थानीय तहमा सीमित भएको हो। 
पूर्वी पहाडका जिल्लामा कतै पनि बहुमत नपाएको कांग्रेसले आधा स्थानीय तह जिते पनि जिल्ला सभामा भने बहुमत प्राप्त गरेको छ। 

आठ स्थानीय तहका १६ सदस्यीय जिल्ला सभामा चार गउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा एक गाउँपालिकामा उपाध्यक्षसमेत जितेर नौ जना सुरक्षित गर्दै कांग्रेसले जिल्ला सभाको बहुमत प्राप्त गरेको हो। 

तिनै जिल्लासभाका सदस्यहरुबाट जिल्ला समन्वय समिति निर्वाचित हुने भएकाले समन्वय समितिको नेतृत्व गरेर आफ्नो नाक जोगाउने अवस्था देखिएको हो। 

ओखलढुंगामा एमालेले तीनवटामा स्थानीय तह जितेको छ भने माओवादी केन्द्र एउटा स्थानीय तहमा सीमित भएको छ। 

कांग्रेसले चम्पादेवी, खिजिदेम्बा, मानेभञ्ज्याङ र सुनकोसी गाउँपालिकामा विजय हात पारेको छ भने मोलुङ् गाउँपालिका उपाध्यक्ष जित्न सफल भएको छ।

एमाले भने एकमात्र नगरपालिका सिद्धिचरणमा जित हासिल गरेको छ भने, मोलुङ र लिखु गाउँपालिकामा विजय प्राप्त गरेको छ। मोलुङ्मा भने अध्यक्ष जितेपनि उपाध्यक्ष कांग्रेसले जितेको छ। 

नेकपा माओवादी केन्द्र भने चिशंखुगढी गाउँपालिकामा जम्मा तीन मतले विजयी भएको छ। 

यस्तो छ ओखलढुंगाका स्थानीय तहको परिणाम


सिद्धिचरण नगरपालिकाको प्रमुखमा एमालेका मोहनकुमार श्रेष्ठ चार हजार ७३९ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकट प्रतिस्पर्धी कांग्रेसका डिल्ली खनालले एक सय २६ मत कम अर्थात् चार हजार ६१३ मत प्राप्त गरेका छन्। 

उपप्रमुखमा पनि एमालेकै इच्छाकुमारी गुरुङ चार हजार ८२६ मत प्राप्त गरी विजयी भइन्। प्रतिस्पर्धी उम्मेदवार कांग्रेसकी हेमालक्ष्मी राईले चार हजार ४५७ मत प्राप्त गरिन्। 

मानेभञ्ज्याङ गाउँपालिकामा कांग्रेसका मोतीराज राई तीन हजार ८५९ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी एमालेका रुपलाल तामाङले दुई हजार ५७२ मत प्राप्त गरे। 

उपाध्यक्षमा कांग्रेसकी सविता राई चार हजार ३५ मत प्राप्त गरी विजयी भइन्। उनकी प्रतिस्पर्धी एमालेकी अम्मता राईले दुई हजार १५० मत प्राप्त गरिन्। 

चम्पादेवी गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेसकै नवराज केसी तीन हजार २४१ मत प्राप्त गरी विजयी भए। उनका निकट प्रतिस्पर्धी एमालेका हरिप्रसाद घिमिरेले दुई हजार ८४१ मत प्राप्त गरे। 

उपाध्यक्षमा पनि काँग्रेसकै निर्मलादेवी रैका तीन हजार २४५ मत प्राप्त गरी विजयी भइन्। उनकी निकटतम प्रतिस्पर्धी एमालेकी कल्पना थापाले तीन हजार ११ मत प्राप्त गरिन्। 

खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका वेदबहादुर रोका दुई हजार ९६० मत प्राप्त गरी विजयी भए। उनका निकट प्रतिस्पर्धी एमालेका लाक्पागेल्बु शेर्पाले दुई हजार ३६१ मत प्राप्त गरे। उपाध्यक्षमा पनि कांग्रेसकै सुशीला तामाङ तीन हजार १२४ मत प्राप्त गरी विजयी भइन्। उनकी निकट प्रतिस्पर्धी एमालेकी पार्वती रोकाले दुई हजार ९४ मत प्राप्त गरिन्। 

यस्तै सुनकोसी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रुद्रप्रसाद अधिकारी तीन हजार ७०२ मत प्राप्त गरी विजयी भए। प्रतिस्पर्धी एमालेका ज्ञानबहादुर खड्काले तीन हजार ३९७ मत प्राप्त गरे। 

उपाध्यक्षमा कांग्रेसकी दुर्गाकुमारी तामाङ तीन हजार ४८५ मत प्राप्त गरी विजयी भइन्। उनकी प्रतिस्पर्धी एमालेकी मुना श्रेष्ठले दुई हजार ९०९ मत प्राप्त गरिन्। 

मोलुङ गाउँपालिकाको अध्यक्षमा एमालेका मणिराज राई निर्वाचित भए भने उपाध्यक्षमा कांग्रेसकी हेमकुमारी तामाङ निर्वाचित भइन्। 
अध्यक्ष निर्वाचित राईले तीन हजार १२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका महेन्द्र कार्कीले दुई हजार ९८६ मत प्राप्त गरे। 

उपाध्यक्ष निर्वाचित कांग्रेसकी तामाङले तीन हजार २५९ मत प्राप्त गरिन भने प्रतिस्पर्धी एमालेकी हेमकला धमलाले दुई हजार ७५२ मत प्राप्त गरिन्। 

लिखु गाउँपालिकाको अध्यक्षमा एमालेका गोविन्दबहादुर पौडेल तीन हजार १० मत प्राप्त गरी विजयी भए भने प्रतिस्पर्धी कांग्रेसका अशोककुमार कार्कीले दुई हजार ९३५ मत प्राप्त गरे। उपाध्यक्षमा एमालेकी शान्ता ढुङ्गेल तीन हजार ११० मत प्राप्त गरी विजयी भए भने उनकी प्रतिस्पर्धी काँग्रेसकी मन्दिरा दाहालले दुई हजार ४३८ मत प्राप्त गरिन्। 

चिशङ्खुगढी गाउँपालिकाको अध्यक्षमा भने नेकपा माओवादी केन्द्रका निशान्त शर्मा बास्तोलाले प्रतिस्पर्धी एमालेका भीमबहादुर थापा मगरलाई तीन मतले पछि पार्दै विजय प्राप्त गरे। 

बास्तोलाले एक हजार नौ सय छ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेका थापामगरले  एक हजार नौ सय तीन मत प्राप्त गरे। 

उपाध्यक्षमा एमालेकी सुष्मिका राई दुई हजार ७३ मत प्राप्त गरी विजयी भइन् भने उनकी प्रतिस्पर्धी कांग्रेसकी खिलामायाँ आलेमगरले एक हजार नौ सय ६९ मत प्राप्त गरिन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell