PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

दुई सातापछि चितवनको माडीमा विद्युत सेवा सुचारु



रासस

चितवन : दक्षिण चितवनको माडीमा अवरुद्ध भएको विद्युत् सेवा दुई सातापछि सञ्चालनमा आएको छ। चितवन राष्ट्रिय निकुञ्जस्थित जमिनमुनी गाडिएको विद्युत्को तारमा देखिएको खराबी पत्ता लगाउन नसक्दा असार ५ गतेदेखि विद्युत् सेवा अवरुद्ध हुँदैआएको थियो। 

जमिनमुनीको तारमा देखिएको खराबी पत्ता लगाउन नेपालका प्रविधिज्ञले नसकेपछि खराबी पत्ता लगाउने मेसिन (केबल फल्ट फाइन्डिङ मेसिन) भारतबाट ल्याइएको थियो।

विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सुपरभाइजर तथा माडी क्षेत्रका इन्चार्ज आनन्द कुँवरका अनुसार मेसिनले चितवनको राप्तीखोलाबाट एक हजार ५०० मिटर पर जङ्गलभित्र जमिनमुनी गाडिएको तार प्वाल परेको देखाएको र त्यसलाई मर्मत गरेर आइतबार रातिदेखि विद्युत् सेवा सुरु गरिएको हो।

जमिनमुनी गाडिएको तारको माथि उक्त मेसिन हिंडाउँदा खराबी भएको ठाउँमा आवाज परिवर्तन भई बिग्रिएको सङ्केत दिने गर्छ। विद्युत् सेवा नहुँदा यो गर्मीमा ठूलो पीडा खेपेका माडीवासीलाई सेवा सुरु भएसँगै राहत मिलेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell