PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

प्रधानमन्त्रीसँग महन्थ ठाकुरको 'वान अन वान' वार्ता



रमेश वाग्ले

प्रधानमन्त्रीसँग महन्थ ठाकुरको 'वान अन वान' वार्ता

काठमाडौं : राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा अध्यक्ष ठाकुर र देउवामात्र सहभागी भए। प्रधानमन्त्रीले भेटमा आफ्ना सहयोगी समेत राखेनन्।

'प्रधानमन्त्रीज्यू र अध्यक्ष ठाकुरबीच भेटवार्ता भयो। तर, भेटमा भएको छलफलका विषयमा हामीलाई जानकारी छैन,' देउवाका सहयोगी केशवराज जोशीले भने, 'उहाँहरुबीच मात्र छलफल भएको हो।' भेट करिब आधा घण्टा चलेको थियो। 

संविधान संशोधन नभएसम्म निर्वाचन हुन नदिने भन्दै पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा बन्द आह्वान गरेर विरोध गरेको राजपाका नेताहरुले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मका अभिव्यक्ति यसअघि सार्वजनिक गरिसकेका छन्। 

विगतमा सार्वजनिक कार्यतालिका अनुसार नै प्रधानमन्त्रीलाई एक्लै गएर भेटेका ठाकुरले भेटमा राजपा अध्यक्ष मण्डलका अरु नेताहरुसमेत सहभागी गराएनन्। बिजुलीबजारमा जारी अध्यक्ष मण्डलको बैठक रोकेर प्रधानमन्त्रीसँग भेटका लागि गएका थिए।

ठाकुरले आजै साँझ दोस्रो पटक अध्यक्ष मण्डलको बैठक डाकेका छन्। 

'अध्यक्षज्यू प्रधानमन्त्रीसँगको भेटपछि फर्किसक्नुभएको छैन,' राजपाका नेता केशव झाले भने, 'भेटमा के कुरा भयो भन्ने कुरा पनि बैठकमा अध्यक्षज्यूले ब्रिफिङ गरेपछि मात्र थाह हुनेछ।' 

राजपा अध्यक्ष मण्डलका नेता भोलि नै उपचारका लागि भारतको व्याङ्गलोर जाँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell