
मस्कोः रसियाली एक उच्च नेताले कोरियाली प्रायद्वीपमा व्याप्त तनावलाई साम्य पार्न सैनिक बलको सट्टा वार्ता र सम्झौता आवश्यक रहेको बताएका छन्।
प्योङयाङले मङ्गलबार गरेको क्षेप्यास्त्र परीक्षणपछि रसियाली संसद (डोमा) का अन्तर्राष्ट्रिय सम्बन्ध मामिला समितिका प्रमुख लियोनिद स्लटस्कीले प्योङयाङविरुद्ध सीमा क्षेत्रमा युद्धकविमान तैनाथ गरेर भन्दा वार्ताका माध्यमबाट सहमतिको खोजी गर्नुपर्ने बताएका इन्टर फ्याक्स न्युज एजेन्सीले बताएको छ।
उत्तर कोरियाले एक महादेशबाट अर्को महादेशसम्म क्षेप्यास्त्र आक्रमण गर्नसक्ने हतियारको परीक्षण गरेको बताउँदै यो सफलता प्योङयाङका लागि कोसेढुङ्गा सावित हुने बताएको थियो।
यसैबीच रसियाली रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्रालयले मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण गरेको रेकर्ड गरेको जनाएको थियो।
क्षेप्यास्त्र परीक्षण रसियाली सीमाको विपरित दिशामा गरिएको र यसबाट रसियालाई कुनै खतराको सिर्जना नगरेको विज्ञप्तिमा जनाइएको छ।
संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले उत्तर कोरियालाई क्षेप्यास्त्र प्रविधि तथा आणविक परीक्षण वा अन्य कुनै उत्तेजित गतिविधि सञ्चालन गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। रासस/सिन्ह्वा