चितवनाः चितवनमा घरेलु हिंसाका घटनामा कमी आएको तथ्यांकले देखाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका सेवा केन्द्रले दिएको तथ्यांक अनुसार वैशाख महिनाको तुलनामा जेठ महिनामा चितवनमा घरेलु हिंसाका घटनामा कमी आएको हो।
वैशाख महिनामा केन्द्रमा विभिन्न ९० वटा घटनाका निवेदन दर्ता भएकोमा घरेलु हिंसाका ३० वटा घटना दर्ता भएका थिए।
जेठ महिनामा भने निवेदन पनि घटेको र घरेलु हिंसा पनि घटेको तथ्यांकले देखाएको छ। जेठ महिनामा विभिन्न ६५ वटा निवेदन दर्ता भएकोमा घरेलु हिंसा सम्बन्धी २६ वटा मात्रै उजुरी परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।
त्यसैगरी जेठ महिनामा घरेलु हिंसाका २० वटा घटना मिलापत्रबाट समाधान गरिएको भएपनि अन्य छ वटाको बारेमा भने छलफल भइरहेको र मिलापत्र नभएको अवस्थामा अदालती प्रकृयामा जाने श्रेष्ठको भनाइ छ।
जेठ महिनामा विभिन्न उमेर समूहका ३० जना व्यक्ति हराएका उजुरी परेको थियो। हराएका व्यक्ति मध्ये जेठ महिनामा दुई बालिका र महिला गरी पाँच फेला परेका प्रहरीले जनाएको छ।
हराएको निवेदन प्रहरीमा पर्ने तर भेटिएको जानकारी नआउने कारणले पनि भेटिएका भन्दा हराएका व्यक्तिको सूची बढी हुने गरेको प्रहरीको भनाइ छ।