
- प्रदिप कार्की
यो संवाद फेरि हामीबीचमा नहुने तितो यथार्थतालाई अँगाल्दैछु।
यसरी फेरि निलु दि (निलु डोमा शेर्पा) ले मलाइ बोलाउने छैनन् भन्ने थाहा छ तर मनले मान्दैन। उनको पार्थिव शरीरले हामीलाई छाडेर गएपनि मनबाट भने उनी कहिले जाने छैनन्। किनकी उनको कथा हामीसँग छ अनि हाम्रो हरेक कथामा उनी छिन्।
मेरो चिनजान भाको धेरै भाको छैन निलु दिसँग तर सामीप्यताका लागि चिनजान पुरानो हुनुपर्छ भन्ने पनि त छैन नि! उनलाई टाढाबाट देखेर मुल्यांकन गर्नेलाई आँखाले पाइरहेको धोकाको बारेमा थाहा नहोला तर नजिकबाट चिन्नेलाई थाहा हुन्छ। उनको सरलता, मिजासिलो व्यवहार र सकारात्मक सोचले नै सायद भुलाउन सक्थेनन् परिचितले उनलाई। उनको राम्रो बानी मध्येको एक थियो फिल्म हेर्ने। विदेशी फिल्मसँगै स्वदेशी फिल्म पनि उत्तिनै हेर्ने गर्थिन्। कतिपय नेपाली फिल्म त उनले गोपीकृष्ण हल पुगेर पनि हेरेकी छिन्। अनि उनि एक्लै हैन आफ्नो सर्कललाई नै फिल्म हेराउन लाने गर्थिन्, किनकी धेरै पटक हलमा फिल्म हेर्ने क्रममा भेटघाट पनि हुने गर्थ्यो।
हाम्रो चिनजानको श्रेय भने निर्देशक सुवास दाइ (सुवास कोइराला) लाई जान्छ। किनकी पहिलो पटक हाम्रो भेटघाट उहाद्वारा निर्देशित फिल्म आवरणको मोफसल पब्लिसिटीमा जाने क्रममा भएको थियो। त्यही टुरमा निलु दिसँगै प्रियंका दि (अभिनेत्री प्रियंका कार्की) सँग पनि राम्रो चिनजान भएको थियो। सायद फन्को फिल्मको सेटमा पुगेर फर्किएपछि शानदाइसंग (लेखक शान बस्न्यात) फिल्म हाउ फन्नी बनाउने सल्लाह भएछ। त्यसपछि मलाई मिडिया एड्भाइजरको रुपमा काम गर्ने प्रस्ताव आयो र म राजी पनि भएँ।
टिममा सँगै काम गरेकाले पनि होला मैले अझै नजिकबाट चिन्ने मौका पाएँ, निलु दिलाई । शुटिङमा त कहिलेकाहीं पुग्थे तर प्रि र पोष्ट प्रोडक्सनमा भने धेरै नै भेटघाट र सल्लाह हुने गथ्र्यो। म केही समय अगाडि अष्ट्रेलिया गएको थिएँ, त्यहाँ हुँदा पनि कहिलेकाहीं कुरा हुन्थ्यो। ’तिमीलाई केही अप्ठेरो भए भन्नु है मेरो मान्छे छन् त्यहाँ’ भन्ने गर्थिन्। अस्ट्रेलियाबाट फर्किएपछि भने विनोद दाइ (विनोद पौडेल) को पिज्जा वर्ल्डको ओपनिङगमा भेटघाट भएको थियो।
‘ल फर्कियौ राम्रो गर्यौ’ भेटनासाथ मलाई भनिन्। अनि फिल्म गर्ने योजना बनाईरहेको बताउँदै भेटेर कुरा गरुम न भनिन् अनि मैले हुन्छ भनें र हामी ओपनिङमै व्यस्त भयौं। त्यसपछि म आफ्नै व्यस्थापनमा केही व्यस्त भएँ र एकदिन फोन गरें। उनले पनि हेटौंडामा हुने भनिएको डिसीने अवार्डमा फिल्म दिनुपर्ने भएकोले दर्ता गर्न पुग्नपर्ने लोकेशन मागिन्। म त्यहीं भएकाले शान्तिप्रिय दाइको अफिस डिल्लीबजार आउने लोकेसन दिएँ र त्यहाँ भेटघाट भयो।
अवार्डको फर्म भरिसकेपछि मलाइ ‘एकै छिन’ भनेर बोलाइन्। त्यसपछि उनकै गाडी छेउमा उभिएरै लामै गफगाफ भयो। पछिल्लो अपडेट गराईन र फिल्मको लागि सल्लाह गर्न भेट्ने भन्दै घरतिर लागिन्। उनले यी पछिल्ला भेटघाटमा भन्ने एउटा शब्द थियो ‘आइ एम रेडी फर वर्क’
केही समय विरामी त्यसपछिको घुमघाम सकेकी उनी अब सिरियस भएर काम गर्ने बताउँथिन्। तर हामीले भेटेर सल्लाह गर्ने भनेको भेटघाट भने अझै भएको थिएन, हाम्रो भेटघाट कार्यक्रमहरुमा भने भइरहेको थियो। म आफ्नै निजी काममा व्यस्त भएकाले गर्दा मैले फोन गरेको थिइन भने उनले पनि फोन गरेकी थिइनन्। तर हाम्रो भेटघाट आधालभ फिल्मको प्रिमियरमा कुमारी हलमा भयो। त्यहाँ टिकट चेक गर्ने गेटकै छेउमा उनीसँगै सम्तेन दाइ (निर्देशक साम्तेन भुटिया) सँग पनि लामै गफगाफ भयो। त्यहाँ पनि निलु दि सँगै साम्तेन दाइलाई पनि भेट्ने सल्लाह भयो। निलु दि ले पनि साम्तेनदाइकै अफिसमा फिल्म सम्पादन गर्ने सल्लाह भयो।
त्यसपछि हामी फिल्म हेर्न लाग्यौं। म भने साथीको विवाह र स्थानीय तहको निर्वाचन भएकाले गर्दा घर जाने तयारी गर्न थालें। तर घर जानु अगाडि भेटौं जस्तो लागेर फोन गरें। साम्तेन दाइ खुट्टा या हातमा केही समस्या आएकाले आराम गरिरहेको बताउनुभयो। यता निलु दिले पनि एकदुई दिन व्यस्त रहेको बताउनुभयो। त्यसपछि मैले ‘म घरबाट आएसी भेटौं है त दि’ भनेको थिएँ। तर उनले आफू बाहिर जाने भन्दै फोनमै केही कास्टको नाम भनिन् र त्यसमा छलफल गर्ने र कुराकानी गर्ने भनिन्। उनले दिएको नामको कलाकारसँग मेरो प्रत्यक्ष चिनजान नभएकाले सामिप्य दाइ (लेखक तथा पत्रकार सामिप्य तिमिल्सेना) एक पटक भेटेर सल्लाह गरौं भन्ने प्रस्ताव राखे निलु दि पनि सहमत नै भइन्। तर म घर हिंडेपछि सम्पर्क हुन सकेन।
घरबाट बिहीबार फर्किएपछि मैले शुक्रबार सामिप्य दाइलाई साँझ भेटेर कास्टको बारेमा छलफल गरें र उहाँले पनि भेटेर सल्लाह गर्दै भन्दै सकेको सहयोग गर्ने बताउनुभयो । तर अब यो सल्लाह कहिले हुनेछैन किनकी गत शनिवार उनले हामीलाई सधैंको लागि छाडेर गईन्। त्यस्तो त आउँदै गरेको जुलाईलाई लिएर उनी निकै एक्साइटेड थिइन्। ‘जुलाई इज कमिङ’ उनले नजिकका साथीलाई बारम्बार भन्ने गर्थिन्। उनलाई एक ज्योतिषले यो जुलाईमा You will meet someone special भनेका थिए, जसले गर्दा उनी निकै खुसी थिइन्। तर उनले पर्खिरहेको जुलाईले उनलाई हामीबाट धेरै टाढा लिएर गयो। सायद उनलाई भन्दा हतार परलोकमा भगवान्लाई थियो होला Someone Special लाई भेट्ने। त्यो समवान स्पेशल भगवानका लागि निलु थिइन्।
सफा मन र राम्रो व्यवहार भएको मान्छे त हामी मानवलाई झैँ भगवानलाई पनि त मन पर्छ नि हैन र? त्यसैले उनी त आज हामीसँग छैनन् तर उनको याद र नमेटिने कृति भने छन्। गतवर्ष रिलिज भएको फिल्म हाउ फन्नीमार्फत निर्देशनमा डेब्यु गरेकी निलुले धेरैलाई माया दिएकी छिन् भने जाँदाजाँदै पनि दोस्रो फिल्म मिथ्या दिएर गएकी छिन्। तपाइँ हाम्रो मनमा हुनुहुन्छ निलु दि । वि मिस यु एण्ड लभ यु दि !