
सोल : दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियाले तत्कालै फेरि अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने कुनै सङ्केत नरहेको जानकारी दिएको छ।
विश्व समुदायको आग्रह बिपरित उत्तर कोरियाले मङ्गलबारमात्र एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। त्यसपछि पनि लगत्तै उत्तर कोरियाले अर्को परीक्षण गर्नसक्ने भनी प्रचार गरिएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उत्तर कोरियाले अर्को क्षेप्यास्त्र हान्ने तयारी गरिरहेको बताएका थिए। तर, सो समाचारको दक्षिण कोरियाली रक्षा मन्त्रालयले बुधबार खण्डन गरेको छ।
दक्षिण कोरियाली रक्षामन्त्री हान मिन्कुले आगामी केही समयभित्रै उसले अर्को क्षेप्यास्त्र परीक्षण गर्ने बारेमा गरिएको खोजीमा त्यस्तै कुनै पनि सङ्केत नपाइएको जानकारी दिए।
सोमबारमात्र अमेरिकी र चिनियाँ राष्ट्रपतिबीचको फोनवार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले जारी राखेको आणविक परीक्षण रोक्ने बारेमा पहल गर्न आग्रह गरेका थिए।
उत्तरले मङ्गलबार गरेको परीक्षणलाई शक्तिशाली रहेको भनिएको छ । विज्ञहरुले उक्त परीक्षण यसअघिको भन्दा शक्तिशाली रहेको र यसले अलास्कासम्म मार हान्न सक्ने खालको रहेको समेत बताएका छन्।
उत्तर कोरियाले दुई वर्षयतादेखि निरन्तर रुपमा आणविक परीक्षण जारी राखेको छ। साथै उसले हरेक परीक्षणसँगै दक्षिण कोरिया र अमेरिकाको विरोध पनि गर्ने गरेको छ।
संयुक्त राष्ट्रसंघ र विश्व समुदायले उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको प्रतिक्रिया दिँदै आएका छन्।
उत्तर कोरियाली राजधानी प्योङयाङको नजिकको समुद्रबाट परीक्षण गरिएको यो क्षेप्यास्त्र अलास्कासम्म पुग्नसक्ने भनिएको थियो । तर दक्षिण कोरियाले भने मङ्गलबारको यो परीक्षण बढीमा ९३० किलोमिटरसम्म मात्र पुग्न सक्ने बताएको छ।
जापानले भने सो क्षेप्यास्त्र करिब २ हजार ५०० किलोमिटरसम्म मार हान्न सक्ने क्षमताको रहेको अनुमान गरेको थियो। उत्तर कोरियाले भने आफूले अमेरिकासम्म पुगेर मार हान्न सक्ने क्षमताको यस्तो ब्यालेस्टिक बनाउने बताउँदै आएको छ। रासस/एएफपी