
काठमाडौँ : सांसदहरुले स्थानीय तहको निर्वाचन सम्पन्न भइसके पनि निर्वाचित जनप्रतिनिधिलाई काम गर्न आवश्यक कानुन शीघ्र निर्माण गर्नुपर्ने बताएका छन्।
व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा सांसद डा राजन भट्टराईले हालै निर्वाचन सम्पन्न भएका स्थानीय तहका लागि आवश्यक कानुन छिटो ल्याउनुपर्ने बताए। संविधानले तोकेको अवधिभित्र सबै प्रकारका निर्वाचनको तयारीमा सरकारको आवश्यक तदारुकता नदेखिएको टिप्पणी गर्दै उनले त्यसका लागि आवश्यक कानुन र तयारी हुन नसकेको बताए।
सांसद राजाराम स्याङ्तानले स्थानीय तहमा आवश्यक कर्मचारी नभएर काम गर्न कठिनाइ भएको भन्दै स्थानीय तहको शासन सञ्चालनसम्बन्धी ऐन कहिले आउँछ भनी प्रश्न गरे।
सांसद जनकराज जोशीले अन्तरिम संविधान, २०६३ मा भएको सहमतिको व्यवस्था हालको संविधानमा नभए पनि सहमतिका नाममा संसद् बाहिर बन्द कोठामा बसेर दीर्घकालीन असर पार्ने र ठूला सहमति हुने गरेको प्रति आपत्ति जनाए।
सांसद श्यामकुमार श्रेष्ठले सहमतिको राजनीति राम्रो भएपनि नेपालमा यो भागबण्डाका रुपमा विकृत भएको टिप्पणी गरे। रासस