विराटनगरः बुधबार घोषणा गरिएका मोरङका ३ मध्ये २ नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेस र १ मा नेकपा एमाले विजयी भएका छन्।
मोरङको उत्तरपुर्वी क्षेत्रमा पर्ने उर्लाबारी नगरपालिकामा काङ्ग्रेसका खड्ग फागो ११ हजार ६ सय ३२ मत ल्याएर विजयी भए। उनका निकटतम् प्रतिस्पर्धी एमालेका भूपालसिंह राईले ८ हजार ५ सय ४२ मत प्राप्त गरे।
उर्लाबारीको उपप्रमुखमा भने एमालेकी लक्ष्मीदेवी भण्डारीले जितिन्। उनले ९ हजार ५ सय ३९ मत प्राप्त गरेकी छन्। भण्डारीलाई काङ्ग्रेसकी सीता कार्कीले ९ हजार २ सय ८० मत ल्याएर पछ्याएकी थिइन्।
उर्लाबारीका बहुमत वडाका वडा अध्यक्ष काङ्ग्रेसले हत्याएको छ। कुल ९ मध्ये वडा नं. २, ३, ५, ६ र ७ गरी ५ वटा वडा अध्यक्षमा काङ्ग्रेसका आकांक्षीले जितेका हुन्।
त्यस्तै वडा नंं. १, ४, ८ र ९ गरी ४ वटा वडा एमालेलका पोल्टामा परेका छन्।
मोरङको पूर्व क्षेत्रमा पर्ने सुनबर्सी नगरपालिका पनि काङ्ग्रेसका जिम्मामा परेको छ। सुनबर्सीमा काङ्ग्रेसका तर्फबाट प्रमुखमा उम्मेदवार कालीप्रसाद दासले ५ हजार ४ सय ७३ मत प्राप्त गरेर आफ्नो जित सुुनिश्चित गरे। उनका नजिकका प्रतिद्वन्द्वी माओवादी केन्द्रका श्यामप्रसाद राजवंशीले ३ हजार ८ सय ८४ मत ल्याए।
त्यस्तै, उपप्रमुखमा पनि काङ्ग्रेसकै मञ्जुकुमारी राई ६ हजार १ सय ९३ मत ल्याएर विजयी भइन्। उनको नजिकमा माओवादी केन्द्रकै मीरादेवी दास केवरतले ४ हजार १ सय ७१ मत प्राप्त गरिन्।
मोरङको बेलबारी नगरपालिकामा एमालेका ज्ञानेन्द्र सुवेदी १० हजार ७ सय ८४ मत ल्याएर प्रमुख पदमा विजयी भए। उनका निकटतम प्रतिस्पर्धी काङ्ग्रेसका राजकुमार लिम्बूले १० हजार ५ सय ८३ मत ल्याए।
बेलबारीको उपप्रमुखमा एमालेकै ढाकाकुमारी पराजुलीले जितिन्। पराजुलीले ११ हजार ३ सय २२ मत ल्याइन । उनका निकटतम् उम्मेदवार १० हजार ९ सय २२ मत ल्याएर काङ्ग्रेसका रुक्मिनी धिमाल भइन्।
बेलबारीका ११ वडामध्ये एमालेले १, २, ३, ६, १० र ११ गरी ६ वटा, काङ्ग्रेसले ५, ७ र ८ गरी ३ र माओवादी केन्द्रले ४ र ९ गरी २ वटामा विजय हात पारेका छन्।
मोरङका ८ नगरपालिकामध्ये पथरीशनिश्चरे र रङ्गेली गरी २ को मात्र मतगणना भइरहेको छ। पथरीशनिश्चरेको प्रमुखमा एमाले र रङ्गेलीमा माओवादी केन्द्रका प्रत्यासी अगाडि छन्।
यसअघि घोषणा गरिएका रतुवामाई, लेटाङ र सुन्दरहरैँचामा काङ्ग्रेसका प्रमुखले जितेका थिए।