
तिराना : मुटुसम्बन्धी रोग र विभिन्न प्रकारका ट्युमरका कारण अल्वानियामा धेरै नागरिकको मृत्यु भएको पाइएको छ।
इन्स्टिच्युट अफ स्टाटिस्टिक्स् नामक एक संस्थाले गरेको सर्वेक्षणको प्रतिवेदनमा मुटु र ट्युमरलाई अल्वानियामा हुने मृत्युमध्ये सवै भन्दा धेरै जनाको ज्यानलिने रोगका रुपमा लिइएको छ।
मुटुसम्बन्धी रोगबाट मृत्यु हुनेहरुको सङ्ख्या सन् २०१६ मा ४.२ प्रतिशतले वृद्धि भई यहाँ भएका कुल मृत्युको ५२ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ।
यसरी सो रोगका कारण पछिल्लो समयमा यहाँ मुटुरोगीको सङ्ख्या प्रतिदिन बढिरहेको पाइएको छ। तर प्रतिवेदनमा के कति कारणले यहाँ मुटुका रोगी बढिरहेका छन् भन्ने बारेमा भने केही बताइएको छैन।
मुटुसम्बन्धी रोगबाट मृत्यु हुनेहरुको सङ्ख्यालाई विभिन्न प्रकारका ट्युमरबाट मृत्यु हुनेहरुको सङ्ख्याले पछ्याई रहेको पनि तथ्याङ्कमा देखाइएको छ।
ट्युमरबाट मृत्यु हुनेहरुको सङ्ख्या पनि देशभरमा बढेको छ। यसबाट मृत्यु हुनेहरु अहिलेसम्म यसवर्ष दुई प्रतिशत बढेर कुल १६ प्रतिशत पुगेको पाइएको छ।
यी मध्ये फोक्सोमा ट्युमर भएर मृत्यु हुनेहरुको सङ्ख्या २०.४ प्रतिशत रहेको छ। प्रतिवेदनमा अल्वानियामा विभिन्न ट्युमरका कारण हुने मृत्युमध्ये फोक्सोमा हुने ट्युमरबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा पनि २०.४ प्रतिशत रहेको हो।
प्रतिवेदनमा उल्लेख गरिएका तथ्याङ्कका अनुसार, गतवर्ष दुई लाख १३ हजार ८८८ जनाको मृत्यु भएको छ। ती मध्ये ५२.८ जना पुरुष र ४७.२ प्रतिशत महिला रहेका छन्।
देशभरमा कुल मृत्यु भएकामध्ये ८७.४ प्रतिशतको मृत्यु प्राकृतिक कारणले भएको छ। त्यस बाहेक २।१ प्रतिशतको सवारी दुर्घटना र १.१ प्रतिशतले आत्महत्या गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। रासस/सिन्ह्वा