
कोलम्बो : श्रीलङ्काको उच्च अदालतले सन् २०१४ मा पत्रकार मेलिसी गुणसेखराको हत्या गरेका व्यक्तिलाई मृत्युदण्ड दिने फैसला सुनाएको छ।
हत्यारा भनिएका एन्टोनी रामसन जर्जविरुद्ध तीन वर्षदेखि चलेको मुद्धामा उच्च अदालतका न्यायाधीश पियासेना राणसिङघाले मृत्युदण्डको फैसला सुनाएका हुन्।
चालीस वर्षीय मेलिसी मेलको नामले निकै लोकप्रीय थिए। उनले लण्डनको इस्ट लण्डन विश्वविद्यालयबाट स्नातक गरेका थिए। स्थानीय ‘सण्डे टाईम्स’ नामक पत्रिकामा सम्पादकको रुपमा कार्यरत उनी एएफपीका लागि कोलम्बोबाट सम्वाददातासमेत थिए।
सन् २०१४ को फेब्रुअरी २ तारिखका दिन कोलम्बोमा रहेको आफ्नै घरमा उनको हत्या भएको थियो। उनको हत्या भएको बेला उनका बाबुआमा र भाइ पनि घरमै थिए। उनी घरकै भान्सा कोठामा मृत अवस्थामा भेटिएका थिए।
हत्यारा ठानिएका व्यक्तिले पहिला उनकै घरमा रङ्ग लगाउने काम गरेका थिए। पछि हत्याका लागि उनैलाई भाडामा लिइएको अनुमान गरिएको थियो।
हत्यारा पहिचान भइसकेपछि यहाँका सरकारी वकिलहरुले पनि उनलाई हदैसम्मको कारबाहीको माग गरेका थिए। सोही बमोजिम नै न्यायाधीशले पनि उनलाई मृत्युदण्डको सजाय सुनाएका कोलम्बोबाट प्राप्त समाचारमा जनाइएको छ ।
यस फैसलाको श्रीलङ्काका पत्रकारहरुले स्वागत गरेका छन्। श्रीलङ्कामा बिगतका कैयौँ वर्षदेखि पत्रकारको हत्या हुने गरेको छ। तर उनीहरुको हत्यारा भने पत्ता लाग्ने गरेको छैन।
तर यी पछिल्लो पत्रकार गुणशेखराको हत्यामा घरमा रङगरोगन लगाउने मानिस किन संलग्न भए भन्ने विषय भने खोजीको विषय भएको पत्रकारहरुले जनाएका छन्। रासस/सिन्ह्वा