
काठमाडौं : नेपाल यु-२३ र बंगलादेश यू-२३ टोली बीचको मैत्रीपूर्ण फुटबल खेलका लागि सम्पूण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
एएफसी यू-२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाल र बंगलादेशबीचको खेल यही असार २७ (जुलाई ११) गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्टो टर्फ मैदानमा हुनेछ।
मैत्रीपूर्ण खेलले एएफसी च्याम्पियनसिपको छनोटमा रहेको दुवै टोलीलाई सहयोग पुग्न एन्फाले जनाएको छ।
समूह डी मा रहेको नेपालले छनोटमा बयोजक युएई, उज्वेकिस्तान र लेवनानसँग खेल्नेछ। यता समूहमा बी मा रहेको बंगलादेशले जोर्डन, ताजिकिस्तान र प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्नेछ।
अन्तिम टोली केही दिनमै
बंगलादेश विरुद्ध खेल्नका लागि २३ सदस्यीय नेपाली टोली केही दिनमै घोषणा हुने एन्फाले बताएको छ। राष्ट्रिय टोलीको प्रशिक्षक रहेका राजुकाजी शाक्यले नेपाली यू-२३ टोलीको पनि प्रशिक्षण हेरिरहेका छन्।
एन्फाका अनुसार च्याम्पियनसिप छनोटका लागि अहिले प्रशिक्षणमा रहेको २८ खेलाडीबाटै अन्तिम टोली घोषणा हुनेछ।
नेपालसँग खेल्नका लागि २३ खेलाडीहसितको ३० सदस्यीय बंगलादेशी टोली आगामी आइतबार नेपाल आइपुग्नेछ। बंगलादेशी टोलीको खाने बस्ने सम्पूर्ण खर्च एन्फाले नै बेहोर्ने र टिम ठमेलस्थित मनाङ होटलमा बस्ने एन्फाले जनाएको छ।
टिकट मूल्य ५०० र एक हजार
नेपाल र बंगलादेशबीचको खेलका लागि कूल १४ सय टिकट बेचिने भएको छ। जसमध्ये १२ सय जेनेरल प्याराफिट र २ सय भिआइपी प्याराफिट तर्फ रहने एन्फाले जनाएको छ।
जेनेरलतर्फको टिकट मूल्य रु ५ सय र भिआइपीतर्फको मूल्य १ हजार रहनेछ। खेलका लागि इसेवाबाट टिकट काट्ने व्यवस्था मिलाइएको छ। टिकट बिक्री बिहबार ३ बजेदेखि सुरु हुनेछ।
खेल विवरण
नेपाल यू-२३ भर्सेस बंगलादेश यू-२३
स्थान : एन्फा कम्प्लेक्स सातदोबाटो
मिति : २०७४ साल असार २७ गते
समाय : दिउँसो ३ बजे