
लुम्विनी: भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। २०५४ सालयता कुनै पनि निर्वाचनमा विजय हासिल गर्न नसकेको एमालेले २०७४ को स्थानीय तह निर्वाचनमा आफ्नो पकड जमाएको छ। एमालेले रुपन्देहीका अधिकांश स्थानसहित सिद्धार्थनगरमा पनि झन्डा गाड्न सफल भएको छ।
एमालेले सिद्धार्थनगर नगरपालिकाको प्रमुख र उपप्रमुखसहित ६ वटा वडामा विजय हासिल गरेको छ। सिद्धार्थनगरको प्रमुखमा एमालेका हरिप्रसाद अधिकारी निर्वाचित भएका छन्। उनले ६ हजार ७०५ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले जानकारी दिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकाका मातृकाप्रसाद यादवले पाँच हजार २५० मत प्राप्त गरे।
त्यस्तै, उपप्रमुखमा पनि एमालेकी उमा काफ्ले निर्वाचित भएकी छन्। उनले ६ हजार १७२ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी माधवी शर्मा वाग्लेले पाँच हजार २२४ मत प्राप्त गरिन्।
यसैगरी, राप्रपाको प्रमुखका उम्मेदवार सागरप्रताप राणाले चार हजार ६३७ र उपप्रमुख उम्मेदवार रमिता थापामगर केसीले तीन हजार ५१७ मत प्राप्त गरे। माओवादीका फैज अहमद खाँले तीन हजार ४०७ र उपप्रमुखमा कमला थापाले तीन हजार १२९ मत पाउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रमुख र उपप्रमुखसहित नगरका वडा नम्बर २, ३, ५, ९, ११ र १३ मा एमाले विजयी भएको छ।
त्यस्तै, कांग्रेसले वडा नम्बर १, ६, ७, ८, १० र १२ मा विजयी भएको छ भने वडा नं ४ मा सङ्घीय समाजवादी फोरम नेपालले जितेको छ। १ नं वडाअध्यक्षमा नेकाका रमेश मल्ल, २ मा एमालेका दीपककुमार थापा, ३ मा एमालेका थानेश्वर पौडेल, ४ मा सङ्घीय समाजवादी फोरम नेपालका मुक्तिनाथ यादव ‘भोला’, ५ नं मा एमालेका चेतबहादुर क्षेत्री, ६ नं मा नेकाका विनोद श्रीवास्तव, ७ नं मा नेकाकै भीमसेन कर्माचार्य विजयी भएका छन्।
त्यस्तै, वडा नम्बर ८ को वडाध्यक्षमा नेकाका राजनजङ्ग राणा, ९ नं मा एमालेका शेषकान्त भण्डारी, १० मा नेकाका विजयनाथ धोवी, ११ मा एमालेका दिलीप यादव, १२ मा नेकाका करुन्जन श्रेष्ठ र १३ मा एमालेका शतिशप्रसाद मर्सानी विजयी भएका हुन्। रासस