इटहरी: धरान उपमहानगर–९ को मतगणना चलिरहँदा गणकले गलत मनसाय राखी एउटा पार्टीले प्राप्त गरेको मत अर्कै पार्टीका नाममा जोडेपछि उत्पन्न समस्यामा राति अबेरसम्म चलेको बैठकले निकास निकालेको छ।
बैठकले निकास निकाल्दै आज बिहानदेखि ५९ घन्टादेखि अवरुद्ध रहेको मतगणना चालु हुने भएको छ।
प्रमुख निर्वाचन अधिकृत अर्जुनकुमार कोइरालाको सक्रियतामा राति अबेरसम्म धरानमा चलेको बैठकले यसअघिका निर्वाचन अधिकृत जयप्रसाद महतको सट्टामा अर्का मतदान अधिकृत कमल थापालाई नियुक्त गरी वडा नम्बर १ देखि ८ सम्म गनि सकिएको मतको पुनः रुजु गर्ने र गणना भइरहेको वडा नं ९, १० र ११ को मत पुनः गणना गर्ने सहमति भएपछि मतगणना सञ्चालन हुने पक्का भएको हो। अब कसैले पनि गल्ती दोहोरिन नदिनका लागि सतर्कता अपनाउने पनि सहमति भएको बताइएको छ।
मतगणकका रुपमा रहेका दुई कर्मचारीले गरेको नियोजित गल्तीप्रति गम्भीर आपत्ति जनाउँदै आएको नेकपा माओवादी केन्द्र लगायतका राजनीतिक दलको आग्रहमा ती कर्मचारीहरु हाललाई निलम्बित भएको बताइएको छ। ती कर्मचारीले कस्तो सजाय पाउने भन्ने यकिन भइसकेको छैन। गणना भइसकेको वडाको नतिजाअनुसार वडा नं १ र २ मा नेपाली काँग्रेसले सबै पद जितेको छ भने ३, ४, ५, ६, ७ र ८ वडामा नेकपा एमालेले जित निकालेको छ।
धरान उपमहागनरको कुल ८० हजार मतदातामध्ये ५३ हजार ८१२ जना मतदाताले मात्र मतदानमा सहभागिता जनाएका छन्। रासस