PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

नखुलेको साझा सवाल : के थियो शेरबहादुर-सुशीलाबीच गोप्य सहमति ?



रमेश वाग्ले

नखुलेको साझा सवाल : के थियो शेरबहादुर-सुशीलाबीच गोप्य सहमति ?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव सहमतिमा फिर्ता भएको खुलासा गरेका छन्। 

'बीबीसी मिडिया एक्सन'को कार्यक्रम साझा सवालमा सुरुमा महाअभियोगको प्रस्ताव फिर्ता भइसकेकाले त्यसबारे केही बोल्न नचाहेको बताएका प्रधानमन्त्री देउवाले धेरै दबाबपछि पनि अपूर्ण कुरा मात्र खोलेर त्यसलाई थप रहस्यमय बनाएर छोडिदिएका छन्।

'महाअभियोग प्रस्ताव फिर्ता भइसकेकाले अहिले म त्यसबारे कुरा गर्न चाहन्न,'  प्रस्तोतादेखि सहभागीसम्मको दवावमूलक प्रश्न पछि देउवाले मुख खोले , 'सहमति भएर नै महाअभियोग फिर्ता भएको हो। धेरै कुरामा सहमति भएको छ।' 

कस्तो सहमति गरेर महाभियोग दर्तासँगै निलम्बनमा परेकी प्रधान न्यायाधीश सुशीला कार्की सर्वोच्च फर्किएकी हुन् त? वा के सहमतिका आधारमा कांग्रेस-माओवादीले महाअभियोग फिर्ता लिएका हुन्? देउवाले त्यो खुलाएका छैनन्। 

'बताइदिनुस् न त के थियो त्यो सहमति’ भन्ने प्रश्नमा  देउवाले आफ्नै शैलीमा भने 'त्यो म अहिले बताउन चाहन्नँ।  जबर्जस्ति गर्न पाइन्छ?'

महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्चको अन्तरिम आदेशले सर्वोच्च फर्किएकी सुशीला कार्कीले मुद्दा हेरिनन्। पहिले विवादित बनेका मुद्दामा पनि पुनः हात हाल्ने काम गरिनन्। 

प्रहरीले विभागीय छानबिन गरेका समयमा नवराज सिलवाललाई प्रहरीले थुनामा राखेकै छैन भने पनि सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको आदेश दिएको थियो। तर उनी फर्किएपछि त्यस विषयलाई छुँदै नछोएर तटस्थ हुने प्रयास गरिन्। 
 
१९ वैशाखमा पेशी नसारिने भन्दै फैसलाका लागि पेशी तोकेको डिआइजी नवराज सिलवालको आइजी मुद्दाको पनि अहिलेसम्म फैसला हुन सकेको छैन। आफ्नै प्रतिष्ठाको विषय बनेको आइजी प्रकरणलाईसमेत चुपचाप हेरेर उनले विदा लिइन्।

आफू जाँदै गर्दा न्यायपरिषद बैठक नै नराखी ६ जना न्यायाधीशलाई प्रधान्यायाधीशका लागि सिफारिस गरिन्। 

महाअभियोग लागेर निलम्बनमा रहेका बेला सुशीलाले आफ्नो कार्यकालभर कहिलै इजलास 'शेयर' नगरेका चोलेन्द्र शमशेरको इजलासको आदेशबाट उनी फिर्ता भइन्। राणा भएका कारण शेरबहादुर पत्नी आरजु राणासँग निकट भनिने चोलेन्द्रशमशेरको इजलासको आदेश र सहमतिमा फिर्ता भएको प्रधानमन्त्रीको अभिव्यक्तिले शंका गर्नेहरुलाई ठाउँ बनाइदिएको छ। 

सर्वोच्चबाट विदा भएपछि सुशीला कार्कीका तीन वटा अन्तर्वार्ता सार्वजनिक भए। त्यस मध्येका दुईवटा कान्तिपुर मिडियासँग सम्बन्धित थिए भने एउटा बीबीसी मिडिया एक्सनको ‘साझा सवाल’ थियो। 

ती अन्तरवार्तामा पूर्वप्रधानन्यायाधीश कार्कीले राजनीतिविरुद्ध खरो टिप्पणी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तेजोबध गर्न भ्याएकी छन्। 

उनले कार्यकारीले सामान्य मुद्दासम्ममा प्रभावित गर्न खोजेका विषयदेखि लोकमान मुद्दामा निस्सा प्रदान गर्ने आफ्नो निर्णय रोक्ने प्रयास गरेकासम्म आरोप प्रधानमन्त्रीविरुद्ध लगाएकी छन्। 

'प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरैपटक प्रधानन्यायाधीशसँग कुरो मिलिसक्यो, अदालतमा सबै कुरा मिलाइसकेँ पनि भन्नुभएको थियो। खासमा के कुरा हुन्थ्यो तपाईंहरूबीच?'  उनी बहाल रहँदै नेपाल म्यागेजिनले सोधेको प्रश्नमा सुशीलाले भनेकी छन्,  'उहाँले तीन खेप बोलाउनुभयो। एकपटक लोकमानको मुद्दा भएका बेला, अर्कोपटक सीमांकन विवाद हुँदा र अर्को केमा हो बिर्सें। तीनपटक नै म पाँच–पाँच मिनेटजति बसेँ हुँला। चिया खाएँ, निस्किएँ। राज्यका दुई निकायका प्रमुखबीचको भेटलाई मैले सुरुसुरुमा शिष्टाचारकै रूपमा लिएँ। तर, जतिपटक मैले भेटेँ र निस्कन नपाउँदै उहाँले कुरा मिलिसक्यो भनेर मिडियालाई भन्न थाल्नुभयो। पछिल्लोपल्ट भेट्दिनँ भनेको कारण पनि त्यही हो। सेनाको एउटा भोज थियो, त्यहाँ भेट हुँदा पनि बालकृष्ण ढुंगेलको मुद्दा र संक्रमणकालीन न्यायसम्बन्धी कुरा उठाउनुभयो। केही त गर्नुपर्‍यो भन्नुभयो। मैले त्यहाँ पनि भन्दिएँ, म तपाईंसँग अब भेट्दिनँ, भेट्नेबित्तिकै अफवाह आउँछ। त्यसपछि म प्रचण्डसँग सतर्क पनि भएँ।' 

सुशीलाले 'लोकमानसिंह कार्की'को मुद्दामा त प्रचण्डले रोक्नै खोजेको प्रसंग समेत बाहिर ल्याएकी छन्। 

'अब त म हिँड्ने बेला भयो, खुलेरै भन्नुपर्छ यो कुरा। लोकमानको मुद्दा पुनरावलोकनका लागि निस्सा दिएपछि उहाँले बोलाउनुभयो, भारत भ्रमणबाट आएको भोलिपल्टै। ‘तपाईंले निस्सा दिएर बबाल गर्नुभयो, लोकमानजीले मलाई धम्क्याए, म यो कुर्सीमा सात महिना बस्छु, म बसुन्जेल मुद्दा रोकिदिनुहोस्, गएपछि फैसला गर्नुहोला’ भन्नुभयो,' सुशीललाले नेपाल म्यागेजिनलाई दिएको अन्तरवार्तामा भनेकी छन्, 'अब मेरो हातमा छैन, मुद्दाले आफ्नो कोर्स लिइसक्यो। मैले मुद्दा हेर्दा पनि हेर्दिनँ, अर्को बेन्चले हेर्छ भनिदिएँ।' 

उनले 'बीबीसी मिडिया एक्सन'को कार्यक्रम साझा सवालमा कांग्रेस नेता रमेश लेखकको चर्कै आलोचना गरेकी छन्। पार्टीका नेताहरुले न्यायाधीश नियुक्तिमा दिने गरेको दवाव उल्लेख गर्दै आफूले त्यसलाई पन्छाइदिएको भन्दै उनको धज्जी उडाएकी छन्। 

'कांग्रेसका एकजना नेता पनि आएका थिए। यो गरिदिनुभएन भन्न मेरो पार्टीमा बुमर्‍याङ् हुन्छ भन्दै,' साझा सवालमा सुशीलाले भनेकी छन् , 'त्यो लेखकलाई मैले यो पार्टीको भर्तिकेन्द्र हैन तपाई जानुस् भनेर फर्काइ दिएँ।'

 उनले को लेखक भन्ने प्रस्तोताको जिज्ञासामा 'त्यो कांग्रेसको छ नि के लेखक हो मन्त्री पनि भएको' भन्दै रमेश लेखकका विषयमा बताएकी छन्।
सुशीलाले सिधा आउनेलाई मात्र नभएर बाहिर अदालतका विषयमा टिप्पणी गर्नेलाई समेत छोडेकी छैनन्। 'मलाई के आभास छ भने उहाँहरू भनसुन गर्नुहुँदो रहेछ। सबैको बानी परेको रहेछ । नेताहरूले अदालत भन्ने निकाय छुट्टै हो, स्वतन्त्र छ, यसको हामीले यति इज्जत गर्नुपर्छ भन्नेचाहिँ छैन। उनीहरूले यो सोचेकै छैनन्,' सुशीलालले भनेकि छन् , 'नभए शशांक कोइरालाजस्तो पढेलेखेको व्यक्तिले अदालतलाई संसद् मातहत ल्याउनुपर्छ भन्न नहुने हो।'

कांग्रेसका महामन्त्री शशांक कोइरालाले विराटनगरमा भएको पत्रकार सम्मेलनमा अदालतलाई संसद मातहत ल्याउनु पर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए।

प्रधानन्यायाधीशले आइजी मुद्दा हेरेपछि त्यतिबेला सिफारिस गर्ने सरकार प्रचण्डको भए पनि चर्चामा प्रधानमन्त्री भन्दा बढी शेरबहादुर देउवा नै थिए। आइजी नियुक्तिमा दवाव दिएकोदेखि आइजीका विषयमा गरेको फैसलामा कांग्रेस केन्द्रीय समितिले कार्यकारिणी अधिकारमाथि हस्ताक्षेप भएको भन्ने निर्णयसमेत भएको थियो। 

त्यही कांग्रेस केन्द्रीय समितिको निर्णयविरुद्ध अधिवक्ता हरि मैनालीले अदालतको अपहेलना मुद्दा हालेपछि प्रधानन्यायाधीश र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आमने सामने हुने अवस्था बनेको थियो। यिनै विविध विषयहरु उठाउँदै कांग्रेसका मिन विश्वकर्माको नेतृत्वमा महाअभियोग प्रस्ताव संसद्मा दर्ता भएको थियो र त्यसमा शेरबहादुर देउवाले पनि हस्ताक्षेर गरेका थिए। 

तर अवकाश पाएपछिका अन्तर्वार्ताहरुमा सुशीला कार्कीले देउवालाई कतै पनि टिप्पणी गरेकी छैनन्। नेपाल म्यागेजिनले कार्कीलाई देउवाकै विषयमा तोकेर प्रश्न सोधेको छ। तर कार्कीले जवाफमा नामसमेत उच्चारण गरेकी छैनन्। 

'शेरबहादुर देउवाको पनि कुनै त्यस्तो भनसुन आयो कि?' भन्ने नेपाल म्यागेजिनको प्रश्नमा उनको जवाफ यस्तो छ-

'म राजनीतिक दलसँग भिजेकी मान्छे होइन। राजनीतिक दलको जुन प्रकृति छ, त्यो एकदमै मन पर्दैन। ३२ वर्ष वकालत गरेँ। कानुनको बाटोभन्दा दायाँबायाँ नजाने मेरो स्वभाव भयो। राजनीतिक पार्टीभित्र जे पनि बोल्न हुन्छ, जे पनि भन्न हुन्छ भन्ने प्रवृत्ति छ, यो गर्न मेरो चरित्रले दिँदैन। हुन त म राजनीतिक परिवारको सदस्य हुँ। मेरा पिताजीदेखि सबै परिवार नेपाली कांग्रेसमा हुनुहुन्थ्यो। अहिले पनि भाइहरू होलान्, अलग कुरो। म त ४० वर्षदेखि एउटै पेसा र बाटोमा यसरी प्रवृत्त भएँ कि राजनीतिज्ञहरूसँग घुलमिल हुनै सकिनँ। आज एउटा कुरा गर्‍यौँ भने भोलि अर्को कुरा गर्दैनौँ,' सुशीलालले भनेकी छन्, 'कसैसँग संगत पनि भएन। मनमोहन अधिकारी, गणेशमानजी, गिरिजाप्रसाद कोइरालाहरूका मुद्दा लड्ने काम गरेँ। तर, राजनीतितिर मेरो आकर्षण रहेन।' 

एकातिर उनले देउवाको नामसमेत नलिनु, अर्कातिर देउवाले नै सहमति भएको थियो भन्नुले देउवा र कार्की दुवैप्रति इङ्गित हुने गरी साझा सवाल उब्जिएको छ – आखिर के सहमति भएको थियो?

उनले आफू छँदा प्रतिष्ठाको विषय बनेको आइजी प्रकरण नटुंग्याई विदा लिनु, चितवनको भरतपुर महानगरको १९ वडामा मतपत्र च्यातिएका सम्बन्धमा परेको मुद्दामा सक्रियता नदेखाउनु  लगायतका विषय पनि देउवाको अभिव्यक्तिपछि प्रश्न उब्जिएका छन्।  

देउवाले भनेको सहमति कस्तो हो भनेर बाहिर नआउँदासम्म यी सबै विषय गिरिजाप्रसाद कोइरालाले उतिबेला भन्ने गरेको दरबार हत्याकाण्डको ग्राण्ड डिजाइन जस्तै रहस्यमै रहने छन्। 

त्यसबेलाको ग्राण्ड डिजाइन गिरिजासँगै स्वर्गीय भइसकेको छ। अब सुशीला र शेरबहादुरबीचको सहमति पनि ग्राण्ड डिजाइनकै गति लिनेछ त्यसको रहस्योद्घाटन गर्न देउवा तयार नभए पनि कार्की तयार हुन्छिन त्यो भने समयले नै बताउने छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell