काठमाडौं : फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जुलाई महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो। ११७ अंक रहेको नेपाल एक स्थान तल झर्दै १७०औं स्थानमा पुगेको छ।
गत जुनमा एएफसी एसिया कप छनोट अन्तर्गत घरेलु मैदानमा भएको खेलमा यमनसँग गोलरहित बराबरी खेलेको नेपालले एक अंक थप गरेपनि वरीयतामा भने एक स्थान तल झर्यो।
दक्षिण एसियामा भारतले शीर्ष स्थानमा कायमै छ र ४ स्थान सुधार गर्दै ९६औं स्थानमा उक्लेको छ। भारत सन् १९९६ मा ९४औं स्थान सम्म पुगेको थियो।
यता भर्खरै सम्मपन्न कन्फेडेरेसन कपको उपाधि जितेको विश्व विजेता जर्मनी ब्राजिल र अर्जेन्टिनालाई पछि पार्दै विश्व वरीयताको शीर्ष स्थानमा उक्लेको छ।
दक्षिण एसियाली क्षेत्रमा भारतसँगै माल्दिभ्स र भुटान नेपाल भन्दा अगाडी छन् भने बंगलादेश, श्रीलंका र पाकिस्तान पाल भन्दा पछि छ। १४ स्थान सुधार गरेको माल्दिभ्स १४२ तथा २ स्थान सुधार गर्दै भुटान १६४औं स्थानमा उक्लेको छ।
यता बंगलादेश पनि २ स्थान सुधार गर्दै १९०औं स्थानमा उक्लको छ। श्रीलंका १९७औं र पाकिस्तान २ सयौँ स्थानमा यथावत छ।
विश्व वरीयतामा जर्मनी शीर्ष स्थानमा उक्लेपछि ब्राजिल दोस्रो तथा अर्जेन्टिना तेस्रो स्थानमा झरेको छ। जर्मनी दुई स्थान सुधार गर्दै २ वर्षपछि शीर्ष स्थानमा पुगेको हो। यता कन्फेडेरेसन कपको सेमिफाइनल पुगेको युरो च्याम्पियन पोर्चुगल ४ स्थान फड्को मार्दै चौथो स्थानमा उक्लेको छ भने ४-४ स्थान सुधार गरेका स्वीट्जरल्याण्ड र पोल्याण्ड क्रमश: पाँचौ र छैटौँमा छन्।
समान ३ स्थान गुमाएका चिली, कोलम्बिया, फ्रान्स र बेल्जियम क्रमश: सातौँ, आठौँ, नौ र दशौँ स्थानमा झरेका छन्।