ढाका : बङ्गलादेशको सरकारले विपक्षी दलका कैयौं कार्यकर्तालाई गैरकानुनी थुनामा राखेको रहस्योद्घाटन भएको छ।
बङ्गलादेशका सुरक्षा निकायहरुले ती विपक्षीलाई कारागारभन्दा अलग्गै गोप्य रुपमा थुनामा राखेको एक अनुसन्धानबाट पत्ता लागेको हो।
एचारडब्ल्यु नामक अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाले उक्त गोप्य कुरा पत्ता लगाएको हो। समाचारअनुसार सरकारले बिपक्षी दलका कार्यकर्तालाई उनीहरुले सरकारको विरोध गरेकोमा थुनेर राखिएको र त्यो कुरा सबैलाई थाहा नभएको पाइएको छ।
उसले यहाँका सुरक्षा निकायले कतिपयलाई सन् २०१३ देखि र अरुलाई लामो समयदेखि गोप्य तवरले थुनेर राखेको थाहा पाएको बताएको थियो।
संस्थाले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाएअनुसार सरकारी सुरक्षा निकायले यसरी गतवर्षमात्र ९० जनालाई थुनेको राखेको थियो।
न्युयोर्कमा मुख्यालय रहेको सो संस्थाले यसरी थुनेर राखिएका २१ जना मानिसलाई कहाँ रखिएको छ भनी गरिएको अनुसन्धानमा केही पत्ता नलागेको बताएको थियो।
तर, तिनीहरु पछि मारिएको पाइएको बताइएको छ। त्यसैगरी उक्त संस्थासँग रहेको प्रमाणका आधारमा यहाँ ९ जना थप पनि थुनामा रहेका बेला अन्तर्वार्ता गरिएको र उनीहरुका बारेमा थुनामा राखिएका प्रसस्त प्रमाणहरु रहेका थिए।
उनीहरु अहिले कहाँ छन् भन्ने बारेमा पनि केही पत्ता नलागेको बताइएको छ। संस्थाका एसिया निर्देशक ब्राड आदमले भनेका छन् ‘ती मानिसको बाँच्न पाउने अधिकार छ, उनीहरुको वास्तविक अवस्था के हो भन्ने बारेमा चाँडै स्पष्ट गरियोस।’
यसरी बेपत्ता पारिएकामा विपक्षी दल बङ्गलादेश नेशनल पार्टीका एकजना नेता ३७ बर्षीय सान्देल इस्लाम सुमन पनि रहेका छन्।
उनको बारेमा वास्तविक जानकारी दिन सो संस्थाले यसअघि पनि सार्वजनिक रुपमा अपिल जारी गरेको थियो। सो अपिलपछि सरकारको कुनै प्रतिक्रिया आएको छैन।
बङ्गलादेशमा राजनीतिक अस्थिरता निकै बढ्दो देखिन्छ। जसका कारण यहाँ यस्ता हत्या हिंसाका घटना निकै हुने गरेका छन्। रासस/एएफपी