PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

बीमा नगर्दा चितवनका केरा किसान मारमा



रासस

बीमा नगर्दा चितवनका केरा किसान मारमा

चितवन : १२ विघामा केराखेती गर्दै आएका पूर्वी चितवनका रामचन्द्र दवाडीको हावाहुरीले ढलाउँदा यसवर्ष ९०० बोट केरा क्षति भयो। 

पहिलोपटक केराखेती गरेका दवाडीलाई बीमाको बारेमा जानकारी भएन। बीमाबारे जानकारी नुहँदा उनलाई तीन लाख ६० हजार रुपैयाँ बराबर घाटा लाग्यो। 

दवाडीले जस्तै स्थानीय ३० केरा किसानका केरा हावाहुरीले क्षति गर्यो । उनीहरुको करिब एक करोड बराबरको केरा नष्ट भएको छ। तर राहत भने शून्य छ। 

जिल्लामा बीमा नगरेका कारण केरा किसान प्रभावित हुँदै आएका छन्। बीमा गर्ने किसानले क्षतिको ९० प्रतिशत क्षतिपूर्ति पाउँदै आएका छन्। तर बीमा नगरेका किसान उक्त सेवाबाट वञ्चित हुनुपरेको छ। 

चितवन केरा उत्पादक सङ्घले बीमाका लागि केरा किसानलाई पटकपटक आग्रह गर्दै आएको छ। सङ्घका अध्यक्ष विष्णुहरि पन्त बीमा गर्न आग्रह गर्दा पनि कतिपयले नगरेका कारण क्षतिपूर्ति पाउन नसकेका बताउँछन्। 

‘पटकपटक ताकेता गर्दा पनि ६३० जना मध्ये २१९ केरा किसानले मात्र बीमा गरेका छन्,’ उनले भने। जेठ महिनामा जिल्लामा भीषण हावाहुरी आएपछि चार करोडको केरा क्षति भएको अनुमान छ। त्यसमध्ये ४० प्रतिशतको हाराहारीमा बीमा नगरेका किसानको क्षति भएको छ। 

यस्तै जेठ ३१ गते आएको हावाहुरीले एक करोड बढीको ५० हजार केराको बोट क्षति पुर्याएको थियो। करिब १५ देखि २० हजार बोट बीमा नगर्ने किसानको क्षति भएको छ। कहीँबाट राहत नपाउने हुँदा ती किसान आफैँले क्षति बेहोर्नुपर्ने बाध्यता छ।

अन्य बीमा भएका किसानको हकमा भने विभिन्न बीमा कम्पनीले क्षतिको विवरण सङ्कलन गरिरहेको केरा व्यवसायी यज्ञ सुवेदी बताउँछन्। 

बीमा गर्ने किसानका लागि क्षतिको ९० प्रतिशतसम्म बीमाबाट रकम आउने गर्छ। कृषि बीमामा सरकारले ७५ प्रतिशत प्रिमियम दिन्छ।

अझै समूह या सहकारीमार्फत बीमा गरे प्रिमियम बढ्ने भएकाले किसानलाई न्यून भार पर्छ। पछिल्लो एक वर्षमा जिल्लामा २०० विघामा केराखेती थपिएको छ।

चितवन केरा उत्पादक सङ्घका अनुसार अघिल्लो वर्ष दुई हजार ४०० बिगाहामा केराखेती भएकामा यसवर्ष क्षेत्रफल विस्तार भई दुई हजार ६२० बिगाहा पुगेको छ भने जिल्लामा एक अर्बको केराको कारोबार हुँदै आएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell