काठमाडौंः उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग गल्फ (खाडी) मुलुकका तीन राजदूतले आज भेटवार्ता गरेका छन्।
परराष्ट्रमन्त्री महरासँग साउदी अरबका राजदूत अब्दुलनसेर हुसेन अल–हार्थी, इजिप्टका राजदूत बहेर नविल अब्देलफटाह हेल्मी र संयुक्त अरब इमिरेटकाका कार्यबाहक राजदूत हइटहम अल हमादीले भेट गरेका हुन्। भेटमा मन्त्री महराले राजदूतहरुसँग गल्फ मुलुकमा काम गर्ने नेपालीको सुरक्षाबारे जानकारी लिएका थिए।
उनले भने,‘यहाँहरुको मुलुकमा काम गर्ने लाखौं नेपालीको सुरक्षा हाम्रो पहिलो चासो हो।’
नेपाल शान्ति ‘लबिङ’ मुलुक भएको स्पष्ट पार्दै महराले कतारमा देखिएको कुटनीतिक समस्या वार्ताको माध्यमबाटै समाधान हुनुपर्ने बताए।
भेटमा तीनै मुलुकका राजदूतले संयुक्तरुपमा कतारसँग गरिएको सम्बन्ध विच्छेदका जानकारी गराएका थिए। इजिप्टका राजदूत बहेरले कतारसँग सम्बन्ध विच्छेद गर्नु परेको कारणबारे जानकारी गराउँदै भने, “मुस्लिम ब्रदरहुडलाई वित्तीय सहयोग गरेर आतङ्कवादलाई संरक्षण गरेको छ। अलजजिरा नेटवर्क यहाँका जनताका विरुद्धमा छ।’
साउदी राजदूत अब्दुलनसेरलेले साउदी, इजिप्ट र यूएइमा कार्यरत नेपाली पूर्णरुपमा सुरक्षित रहेको बताए। उनले नेपालीको दैनिकीमा कुनै समस्या नआउने आस्वस्त पारेका थिए।