PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

बाढीले महाकालीको पक्की तटबन्ध भत्काउँदा स्थानीय त्रसित



रासस

दार्चुला : तीन दिनदेखिको लगातार वर्षाका कारण महाकाली नदीमा पानीको बहाब एक्कासी बढेको छ। 

बिहीबार दिउँसो दुई बजेपछि एक्कासी नदीमा पानीको सतह बढेपछि स्थानीयवासीमा त्रास थपिएको छ। 

विसं २०७० असारको पहिलो साता आएको महाकालीको बाढीलाई झझल्को दिने गरी नदी किनारमा निर्माणाधीन तटबन्धको फाउन्डेसन भत्काउँदा बङ्गाबगड क्षेत्रका बासिन्दामा बाढी त्रास बढेको स्थानीयले बताएका छन्।

महाकाली नदी नियन्त्रण आयोजनाको प्याकेज नम्बर १० मा हालेको पक्की तटबन्धको फाउन्डेशन वाल भत्काएर नदीले कटान सुरु गरेको छ। 

गत कात्तिकमा भारतपट्टी गएको सुख्खापहिरोको कारण नदीको बहाव नेपालतर्फ मोडिँदा तटबन्धको वाल धँसिएको स्थानीय प्रशासनले जनाएको छ।

तटबन्धको फाउन्डेशन नदीको सतहभन्दा माथि रहेको हुनाले नदीले माटो बगाउँदा पक्की तटबन्धको वाल भत्केको प्राविधिकको भनाइ छ । उक्त क्षेत्रमा पक्की तटबन्धको १० मिटर लम्बाई, पाँच मिटर चौडाई र सात मिटर उचाई जमिनबाट छुट्टिन पुगेको छ। 

नदीले कटान सुरु गरेपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निर्माण व्यवसायी र स्थानीय मिलेर जालीमा ढुङ्गा भरिरहेका छन्। नदीले थप कटान रोक्नका लागि डोजरको प्रयोग गरी ढुङ्गा राख्न सुरु गरिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell