PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

नारायणगढ–मुग्लिन सडकः असार २५ देखि दैनिक  १० घण्टा बन्द गरिने



रासस

नारायणगढ–मुग्लिन सडकः असार २५ देखि दैनिक  १० घण्टा बन्द गरिने

चितवन : पहिरोलगायत कारण असुरक्षित भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड यही असार २५ गतेदेखि राति १० घण्टा बन्द गरिने भएको छ । 

जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठकले यातायात सञ्चालनमा रोक लगाएको हो। प्रजिअ नारायणप्रसाद भट्टले बैठकले मुग्लिनतर्फबाट साँझ ७ बजे र नारायणगढतर्फबाट ६ बजेदेखि यातायात रोक्ने निर्णय गरेको जानकारी दिए।

यसैगरी बिहान मुग्लिनबाट ५ बजे र नारायणगढतर्फबाट ४बजे यातायात खुला गरिनेछ। 

यसअघि व्यवस्थापिका–संसद्, विकास समितिले यही असार ११ गते उक्त सडक खण्डको अनुगमन गरेको थियो। समितिले गृह, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलगायत सरोकार भएका मन्त्रालयलाई उक्त सडकखण्डका बारेमा एघारबुँदे विशेष ध्यानाकर्षण र निर्देशन गरेको थियो।

निर्देशनपछि गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले उक्त निर्णय कार्यान्वयन गराउन सुरु गरेको हो। 

विस्तार भइरहेको उक्त सडकखण्डमा राति सम्भव भएका निर्माणका कार्य गर्ने बैठकले निर्णय गरेको छ। त्यसैगरी सडक विस्तारका क्रममा परेका बिजुलीका खम्बा र खानेपानीको पाइप सार्ने र रुख काट्ने कामलाई यथाशक्य छिटो सम्पन्न गरी कामलाई सहजीकरण गरिने प्रजिअ भट्टले बताए। 

उक्त सडकखण्डमा तीन र्यापिड रिस्पोन्स टिम (आरआरटीं) को व्यवस्था गरिसकिएको प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए। उक्त सडकखण्डमा रहेका ४४ जोखिमपूर्ण घरलाई अस्थायी रुपमा भए पनि तत्काल स्थानान्तरण प्रक्रिया सुरु गरिने भएको छ । उक्त कामको जिम्मेवारी सम्बन्धित स्थानका जनप्रतिनिधिलाई दिइएको छ। 

यता निर्माण कम्पनीहरुले भने राति काम गर्न नसकिने जनाएका छन् । उनीहरुले काम गर्ने मजदुर कर्मचारीको सुरक्षा खतरा रहेकाले काम गर्न असहज हुने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell