७० वर्षअघि तत्कालीन राजा महेन्द्र वीर विक्रम शाह दम्पतीको कोखबाट माइलो सन्तानका रुपमा धर्तीमा पाइला टेक्दैगर्दा ज्ञानेन्द्र शाह राजपरिवारका सदस्य भए पनि आम मान्छे भन्दा केहीमात्रै भिन्न र उच्च थिए। तर, भाग्यको लहरीले तीन वर्षको उमेरमा नै उनको शिरमा श्रीपेच पहिरिएर देशको राजा हुने अकल्पनीय अवसर जुरायो। देशको माटो र देशवासीले जहाँनियाँ राणा शासनको कहरबाट खोजेको मुक्ति र उनका हजुरबुबा राजा त्रिभुवन तथा राणा शासकले खोजेको शक्तिको निरन्तरताको जुक्तिमा जोडाइए उनी अनायाशै। उनको बाल मष्तिष्कले नै बोध गर्न नसक्ने राजकीय अभिभारा बोकाइएका ती बालक पुनः २००७ को प्रजातान्त्रिक शासन व्यवस्थासँगै फेरि राजपरिवारका सदस्यमा घटुवा भए। त्यसै हैसियतमा बित्यो उनको बालककाल, युवावय र लगभग कामकाजी उमेर पनि।
जसै २०५८ जेठ १९ शुक्रवार राति नारायणहिटी राजदरबारमा भएको अकल्पनीय विभत्स गोलीकाण्डले राजा वीरेन्द्रको वंश विनास भयो। यसले शाही राजपरम्पराको क्रमभंग गर्योी र फेरि उनै ज्ञानेन्द्र देशको नयाँ राजा बनाइए। राजा ज्ञानेन्द्रकै शब्दमा 'त्यो परम्पराको जन्जिरमा बाँधिएर उनले दिवंगत दाजुभाउजुप्रति शोकमा आशु बगाउन पनि नपाएर बोकिदिएको शासकीय संवैधानिक भार थियो।'
तर, जसै शोक, वियोग र वेदनाको जगबाट चामत्कारिक शैलीमा पुनः राजा बनाइए उसै उनले आफ्नो शासकीय महत्वाकांक्षालाई छोटो अवधिमा नै अकल्पनीय रुपमा देखाउने कोसिस गरे। दोहोरिएर राजा हुन पाएको दोस्रो अवसरमा उनी आफ्ना पिता महेन्द्रको पथ, सारथी र शैलीमा नै उदाउन उद्दत भए।
तर, २०५२ सालदेखिको माओवादी जनयुद्धले थिलोथिलो भएको मुलुकमा नयाँ राजाको तत्कालीन भूमिका र शैली भने आफ्नै खुट्टामा बन्चरोसरह सावित भयो। राजाको शासकीय महत्वाकांक्षाको पराजीत शैलीका कारण नै छिटो देशमा गणतन्त्र आएको माओवादी तथा अन्य संसदवादी दलका नेताको स्वीकारोक्तिले सिद्ध गर्छ। देशको २ सय ४० वर्षे लामो राजतन्त्र इतिहासको अन्त्य गर्ने पात्र बने उनी। उनले शासनको मुढो ताकेपनि शासकीय महत्वाकांक्षाको बन्चरो उनको घुँडोमा लाग्यो। फेल खाए उनी शासक राजा बन्ने दौडमा।
इतिहासका यिनै अपत्यारिला यथार्थ ताजा आरोह अवरोहका आलोकमा आफ्नो ७१ औं जन्म दिवस मनाइरहेका पूर्व राजा ज्ञानेन्द्र शाहको जीवन एक अप्रत्यासित मोडहरुको दु:खान्त जीवन कहानीको पर्याय हो। शुक्रवार समर्थकहरुसँग निजी निवासमा रमाएर ७१ औ जन्मदिवस मनाइरहँदा ज्ञानेन्द्रसँग बिगतको नाटकीय उतारचढावपूर्ण शासकीय जीन्दगीको ताजा चित्रको फ्ल्यास व्याक र नागरिक जीवनका सीमितताको संवेगको रोचक समिश्रण छ। त्यसबाहेक आफू गद्धीच्यूत भएपछिको देशको अवस्थाप्रति उनको सुक्ष्म अवलोकन, त्यसप्रतिको विमति र कता कता मनमा पुनः पूर्ववत् फर्कने अतृप्त तृष्णाका तरेलीहरु सल्बलाउँदा हुन्।
तर, पूर्वराजाका रुपमा उनका शासकीय भुलहरुका बग्रेल्ती थाक र रवाफको पाटोलाई बिर्सेर एक सामान्य मानिसका रुपमा ज्ञानेन्द्रलाई चियाउने हो भने उनको जीवन सबैभन्दा सरल छ, शालिन छ, भद्र र शान्त छ। २०६५ जेठ १५ मा पहिलो संविधान सभाको विधि नपुर्याइएको आदेशकै भरमा पनि उनले सत्ता हाँसेरै छाडे।
गद्धी त्यागेर पनि देश नत्याग्ने बाचा उनले सबैभन्दा भद्र नागरिकका रुपमा पूरा गरिरहँदा आफ्ना शासकीय भुलहरुको क्षतिप्रति पनि क्षमा पाउँदै गरेका छन् नागरिक तहबाट। लोकसम्मतिका आधारमा चल्ने शाहवंशीय परम्परालाई मानेर भनौं वा आफू प्रतिकूल राजनीतिक माहौलमा बाध्यताको बन्दी भएर बिना प्रतिवाद नारायणहिटी दरबार र शाहवंशको चिनो श्रीपेच सरकारलाई बुझाएपछि उनमा कतै रोष, कुण्ठा वा प्रतिशोधको हर्कत देखिएन।
गणतन्त्रका सबैभन्दा असली पालकका रुपमा आफ्ना कदमहरु सीमित गर्न कोसिस गरेकै कारण गणतन्त्रवादीमाथि नागरिकका अनेक प्रश्नहरु उठिरहँदा पनि उनीमाथि आरोप र विरोधका तरवारहरु कम उठेका छन्। 'जनता खुशी भए मलाई पनि गणतन्त्र मन्जुर छ' भन्ने सन्देश दिनैका लागि हुनुपर्छ उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमै पुगेर अभिवादन गरे, मित्रता बढाए। राष्ट्रपति भण्डारीलाई आफ्ना नातीको ब्रतबन्ध भोजको अतिथिमा विनम्रतापूर्वक स्वागतमात्र गरेनन् उनलाई कारसम्मै पुगेर रिसिभ गरे भने फर्किँदा कारसम्मै पुगेर विदाइ। गणतन्त्रको प्रतीक राष्ट्रपति संस्थासँग उनले देखाएको उठबसको यस्तो बेजोड सहकार्य नमुना नै हो।
१० वर्षे गणतन्त्र २ सय ४० वर्षे राजतन्त्रको राजनीतिक व्यवस्था परिवर्तन गर्न सक्षम भए पनि त्यो जनताको परिवर्तनका यावत चाहना र अवस्था परिवर्तनमा अनुभूत नै गर्ने गरी खासै उपलव्धी भएको छैन। यस्तो बेलामा परम्परागत शक्तिका लागि आशाका धरोहर हुन् ज्ञानेन्द्र। परिवर्तनकारी कित्ताको नेतृत्वमा जति प्रचण्ड चतुर र हस्तक्षेपकारी बनेका छन, परम्परागत कित्ताबाट ज्ञानेन्द्र उति नै सुस्त र आवश्यक्ता भन्दा बढी भद्र, शालिन र एक किसिमले निस्कृय देखिएका छन्।
यसैले राजाका ती सत्ताकालीन दिन अब फेरि दोहोरिने सम्भावनाहरु झन् कमजोर हुँदै गएका छन्। अझ आफूलाई सिंगै राजावादी कित्ताको एकल मसिहा ठान्ने कमल थापा नेतृत्वको अवसरवादी सत्ता राजनीतिले त राजाको पक्षमा विश्वासिलो ढंगमा बोलिदिने दलकै समूल अन्त्य गरिदिएको छ।
२० वर्षपछि देशमा भएको स्थानीय तह चुनावको पहिलो र दोस्रो चरणको चुनावमा राप्रपाको पराजय कमल थापाको अवसरवादी सत्तामुखी राजनीतिप्रति जनताको थप्पड मात्रै होइन पूर्वराजाको सहानुभूति पाएको ठानिएको दलको झापड स्वयं ज्ञानेन्द्रका लागि पनि असह्य पीडा हो।
तर, पीडा र क्षतिका सबै पक्ष लुकाउन सक्ने अद्वितीय क्षमताका कारण हुनसक्छ ज्ञानेन्द्रले गणतन्त्र संस्थागत गर्न आफूलाई 'तुरुप' बनाउने दल राप्रपामाथि न कटाक्ष गरे, न त चित्त दुखाई नै।
शासनसत्तामा हुँदा सय प्रतिशत कठोर तानाशाहको भूमिकामा देखिएका उनले नागरिक हुँदा फेरि शत् प्रतिशत आज्ञाकारी भद्र नागरिकको भूमिका देखाएका छन्। उनी बेलाबेला गणतन्त्रवादीहरुलाई बिज्ञप्ति निकालेर सम्झाउने बाहेक अन्य कुनै पनि मोडलमा व्यवस्थाको जग भत्काउन प्रत्यक्ष रुपमा सामेल भएका देखिँदैन।
यस अर्थमा नेपालको गणतन्त्रको दशकलाई पूर्व शासक शाहले पनि सघाएको व्यवस्था भनिदिँदा फरक पर्दैन। यस अर्थमा उनको यो ढल्कँदो उमेरमा गणतन्त्रवादीहरुले पनि उनलाई ह्याप्पी बर्थ डे एक्स किङ भन्दा फरक पर्दैन। कठोर यथार्थ के हो भने ज्ञानेन्द्रको जति उदार मुटु गणतन्त्रवादीप्रति देखिन्छ, उति नै कठोर छुच्चो र सानो देखिन्छ गणतन्त्रवादीहरुको रवैया उनीप्रति।
प्रचण्ड शब्दमा के नक्कली थिए ज्ञानेन्द्र?
जनयुद्धको २ दशक र शान्ति कालपछि ल्याइएको गणतन्त्रको दशकपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन राजा ज्ञानेन्द्र तथा माओवादी जनयुद्ध र दरबारको सम्बन्धबारे रोचक खुलासा गरे। पत्रकार उजिर मगरको पुस्तक 'अंश' को विमोचनमा अध्यक्ष प्रचण्डले राजावादी बरिष्ठ पत्रकार युवराज घिमिरेले उठाउँदै आएका प्रश्नहरुको जवाफमा माओवादी तत्कालीन दरबारमा जोडिएको भन्ने हल्ला र बास्तविकताको पनि सटिक चित्रण गरे।प्रचण्डले दलहरुसँगको वार्ता भएर पनि सफल नभएपछि 'मालिक' अर्थात् तत्कालीन राजा ज्ञानेन्द्रसँग सिधै बार्ता गर्ने भनेर बिज्ञप्ति जारी गरेको सप्रसँग स्मरण गरे। प्रचण्डका शब्दमा 'हामीले अब नोकरसँग हैन सीधा मालिकसँगै बार्ता गर्छौ भनेर विज्ञप्ति जारी गरेकै हौं,' उनले भने, 'कान्छो चै'को नाम के अरे (धीरेन्द्रसँग) वार्ता भइसकेकै थियो। तर, त्यसको लगत्तै जेठ १९ मा दरबार हत्याकाण्ड भयो।'
उनले वीरेन्द्र धेरै सकारात्मक हुँदाहुँदै पनि वार्ता गर्न नै नपाएको दुखेसो सम्झे। र, सक्कली राजा र नाटकीय ढंगले आएका नक्कली राजामा पनि फरक हुँदो रहेछ, राजकुमार दिक्पालको नक्कली र सक्कली कहानी जस्तै,' प्रचण्डले भने, 'हामीले पनि स्वदेशमै समस्या समाधान होस् भनेर ज्ञानेन्द्रसँग पनि वार्ता गर्दा हुन्छ कि भनेर प्रयास गर्यौ तर हुन सकेन।'
तत्कालीन राजा ज्ञानेन्द्रसँग नेतृत्व क्षमता नहुँदा दिल्लीमा १२ बुँदे भारतमा गर्नु परेको प्रचण्ड दाबी थियो।ज्ञानेन्द्रमा नेतृत्व क्षमता भएन। त्यसैले उनी इतिहास बनाउने अवसरबाट चुके,' प्रचण्डले भने, 'त्यसैले युद्धलाई रोक्नै पर्ने अन्तर्रार्ष्ट्रिय परिस्थिति र शान्ति प्रक्रियाको दवावले हामी दिल्ली पुगेर १२ बुँदे सम्झौता गर्न बाध्य भयौं।'
यसरी प्रचण्डले नै जनयुद्ध र राजाकालिन सत्ताको साइनोबारे तथ्य ओकलिसकेको सन्दर्भमा पूर्व राजाको कुनै जवाफी प्रतिक्रिया आएको छैन। तर, उद्घाटित तथ्य के हो भने उतिबेला ज्ञानेन्द्रले माओवादीलाई सैन्य बलमा सिध्याउने दम्भ नदेखाएको भए वा माओवादीले बढाएको मित्रताको हात थामेको भए, संभवतः राजा र माओवादीको नयाँ एकताले तात्कालीन ७ दललाई समाप्त गरेर राजा सहितको माओवादी सत्ता स्थापना गर्ने ठूलै अवसर उतिबेलाको राजनीतिक रस्साकस्सीमा भएकै रहेछ।
पूर्व पत्रकार रबिन्द्र मिश्रको शब्दमा शासनमा बस्दा अराजक र नागरिक हुँदा भद्र देखिने ज्ञानेन्द्र आफ्नै मतीका कारण माओवादीलाई शान्तिमा ल्याउने जस पाउनबाट चुकेका रहेछन्। चितवनको शक्तिखोरको भिडियो प्रकरणमा उतिबेलै पनि प्रचण्डले ज्ञानेन्द्रको शाही सेनाले माओवादीलाई घेराबन्दीमा पार्दै ल्याएको र आफ्नो सैन्य क्षमता ७ हजारमा खुम्चिएको तथ्य खुलाएका थिए।
के अब फर्केलान ज्ञानेन्द्रका दिन?
शासनमा हुँदा चर्को आलोचना र विरोधका तारो बनेका ज्ञानेन्द्र शासनबाट हटेसँगै सहानुभूतिका पात्र बनिरहेका बेला आफ्नो ७१ औं जन्मदिन मनाइरहेका छन्। क्षमाशील नेपाली मनोविज्ञानले उनका शासनका कठोर कदमलाई बिर्साउँदै लगेको छ। उनको जन्मदिनको तामझाम भड्किलो छैन, तर उनका समर्थकहरुले उनलाई पुनः शक्तिमा फर्काउन मनका भँडास पूर्व महाराजाका सामु पोख्ने एक थलो र अवसर बनेको छ निर्मल निवासको वर्थ डे जमघट। दर्जनौं झुण्डका राजावादी संघसंस्था चर्का नारासहित ज्ञानेन्द्रलाई भनिरहन्छन, 'राजा आऊ देश बचाउ।' तर, कहिल्यै मुड अफ र क्रुद्ध नदेखिने पूर्व राजा भने हँसिलो मुद्रामा बुझेँ भनेर मुन्टो हल्लाउने बाहेक थप केही बताउँदैनन्। नेपालमा राजावादीको वर्तमान हैसियत उनीहरु बीचको विभाजन, अवसरवादी चरित्र र भिजनबिहीन 'एकोहोरा राजा चाहिन्छ' मात्रै भन्ने रटानका कारण अमेरिकाका बामपन्थी वा चीनका प्रजातन्त्रवादीको जस्तै हुँदैछन्। नेपालमा बरु राणा शासन नै ठीक थियो भन्ने पनि मानिस भेटिन थालेको समयमा राजा र राजसंस्थावादीको स्तर खस्किँदै जाँदा पनि त्यसको चिन्ताका कुनै लेस ज्ञानेन्द्रको मुहारमा देखिँदैन।
पीडा लुकाएर सधै हाँस्न, रम्न सिकेका ज्ञानेन्द्रले शक्तिमा पुनः फर्किन अदृश्य खेल र झेल जारी राखेका भन्ने र्यूमरहरु बीच पनि एक कटु सत्य के हो भने उनले समर्थकहरुको 'राजा आउ देश बचाउ'को नारा खारेज गरेर जनता आउ राजा फर्काउ भन्न सिकाइसकेका छन्।
यसैले अब यो डाँडामाथिको जुन झै उकालो जीवन यात्रामा रहेका एक ज्ञानेन्द्र नै गणतन्त्रका खतरा वा बैरी हुन् भन्ने आरोपहरु सम्पूर्णतामा सत्य होइनन्। सत्य हो दर्शक कित्तामा रहँदा ज्ञानेन्द्र निष्कलंक र विवादरहीत देखिँदै गएका छन्। गणतन्त्रका मूल्य मान्यतालाई गिज्याउने गणतन्त्रवादी शासकहरुका असक्षम हर्कतहरुका कारण उनको वर्तमान कद अग्लो देखिन थालेको छ। तर, पनि संस्थागत हुँदै गएको गणतन्त्रले राजसंस्थाको पुनरागमनको सपनालाई अतृप्त चाहनामा कैद गर्दैछ। यसबाट पनि खासै विचलित छैन ज्ञानेन्द्रको जीवन संघर्ष।
आधुनिक नेपालका रचनाकार राजा पृथ्वी नारायण शाहका अन्तिम वंश पूर्वराजा ज्ञानेन्द्र शाहलाई एक पूर्व राष्टप्रमुखका रुपमा, शाहवंशको उत्तराधिकारीका रुपमा, गणतन्त्रप्रति सहिष्णुता देखाउने पूर्व शासकका रुपमा र समग्रमा एक असल नागरिकका रुपमा ह्याप्पी वर्थ भन्न कसैले लाज मान्नु पर्दैन नै।
सास छउन्जेल आश भने झै उनले पुनः शक्तिमा आउने चाहना राखेकै भरमा उनी छि छि र दुर दुर गर्दै दुत्कार्नु पर्ने पात्र हैनन्। गणतन्त्रकालमा बढेको विदेशी हस्तक्षेप, कमजोर हुँदै गएको राष्ट्रिय एकता, बढ्दो नागरिक तप्का बीचको मनभेद तथा राजनीतिक मतभेद र शक्तिसंघर्षका पेचिला मोडहरुमा कतै न कतै उनै पूर्वराजाको पनि सम्झना र तरङ्ग एउटा हाउगुजी बनेको छ। त्यसले पनि उनको वर्तमान गुमनाम छैन र उनी पनि एक शक्ति हुन् है भन्ने नै देखाउँछ। शासकका भूमिकामा जहाँ रहुन् नागरिक भूमिकामा उम्दा देखिएका एक्स म्याजेस्ट्रेट किङ्ग ज्ञानेन्द्रलाई ७१ औं जन्मदिनको शुभकामना। ह्याप्पी वर्थ डे एक्स म्याजेस्ट्रेस।