
चितवन : चितवनको भरतपुर र रत्ननगर नगरपालिकाको बीच सडकमा पर्ने टिकौली जङ्गलको जैविकमार्गमा वन र वन्यजन्तुको सुरक्षा गर्न आजदेखि ‘संरक्षणका लागि एक मिनेट’ अभियान सुरु भएको छ ।
गाडीको ठक्करबाट वन्यजन्तु मर्ने क्रम बढेपछि वन्यजन्तुको जोखिम कम गर्न अभियान सुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।
उनले आजदेखि साउन १ गतेसम्म प्रचारात्मक कार्यक्रम गरेर सवारी चालकलाई जानकारी दिइने र साउन १ गतेपछि अटेर गरेमा जरिवाना सहितको कार्वाही गरिने जानकारी दिए।
आज बिहान चितवन राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय चितवन, राष्ट्रिय प्रकृति संरक्षण कोष, स्थानीय सामुदायिक वन, प्रहरी तथा नेपाली सेनाको सहभागितामा कार्यक्रम गरिएको हो।
पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगर र भरतपुरको बीचमा वन्यजन्तु आवतजावत हुने जैविक मार्ग (कोरिडोर) छ। करिब ७ किलोमिटर क्षेत्रको जङ्गल अतिसंवेदनशील क्षेत्र हो।
यहाँ वन्यजन्तुले बाटो काटेर हिंड्ने भएकाले सवारी साधनको ठक्करबाट वन्यजन्तु मर्ने क्रम बढेपछि यो अभियान सुरु गरिएको हो।
जिल्ला वन कार्यालयको तथ्याङ्कमा अघिल्लो वर्ष सो क्षेत्रमा १३ वटा वन्यजन्तु आक्रमणका घटना भएपनि तीनवटा मात्रै गाडीलाई कारबाही गरिएको थियो। अरू गाडी फरार भए।
सिसी क्यामेरा राखिए पनि त्यसको भरपुर प्रयोग नहुँदा समस्या भएपछि अहिले सो क्षेत्रको निगरानी बढाइएको हो।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले अब साउन १ बाटै लागू हुनेगरी गाडीलाई एक हजारसम्म जरिवानसहित कारबाही थाल्न जङ्गलमा अस्थायी सुरक्षा पोष्ट नै स्थापना गरिएको र पोष्टमा सेना, संरक्षणकर्मी सशस्त्र वनरक्षक परिचालन गर्ने बताए। रासस