PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

भूकम्प पीडितको छाप्रोमा मन्त्री प्रभु साह



पहिलोपोस्ट

भूकम्प पीडितको छाप्रोमा मन्त्री प्रभु साह

  • एनके दाहाल -
काभ्रेपलाञ्चोक : ‘तपाईँको घर त सबै भत्केको रहेछ। किन नबनाउनु भएको ?’ 

बिहीवार शहरी विकास मन्त्री प्रभु साह अकस्मात काभ्रेको पाँचखाल वडा नं ३ स्थित आधाबाटका भीमसेन काफ्लेको घरमा पुगेर प्रश्न गरे। 
भत्केको घर छेउमा उभिएका क्षेत्रीले पनि मन्त्री साहको प्रश्न नसकिँदै भने, ‘बनाउनै नसक्ने अवस्थामा छौं। ३ जना बच्चाबच्ची पढ्न जान्छन। हामी बुढाबुढी पेट पाल्न काम गर्ने कि घर बनाउने? '

सरकारले दिएको ५० हजार रुपैयाँले केही पनि नपुग्ने भन्दै क्षेत्रीले घर बनाउन सुरु गरेकै छैनन्। ५० हजार पाएपछि उनले काठ किनेर राखेका छन्। 

छाप्रोमा जीवन गुजारिरहेका काफ्ले एउटा प्रतिनिधि उदाहरण मात्र हुन्।

पुनर्निमाणको कामले गति नलिएपछि के र किन ढिलाइ भइरहेको छ भन्ने जिज्ञासाको उत्तर खोज्न पीडितको घरमा पुग्ने उद्देश्यका साथ बिहीवार काभ्रेपलाञ्चोकको पाँचखालमा पुगेका थिए मन्त्री साह। मन्त्री साहले काफ्लेलाई जस्तै ठूलीमाया लामा र माया लामासँग पनि घर किन नबनाएको भनेर प्रश्न गरे। मन्त्रीको प्रश्नको उत्तर दिँदै ठूलीमाया लामाले भनिन् ‘पैसा भए पो घर बनाउनु। ५० हजारले के चाहिँ पुग्छ?’

भूकम्प जानुभन्दा २ वर्ष अगाडि बनाएको घर भुइचालोले भत्काएपछि पुरानै घर बनाउँदाको ऋण तिरिसकेकै छैनन्। भनिन्, ‘घर बनाउने मन छ, धन छैन।’

माया लामाले पनि घर भत्केपछि बनाउन नसकेकै कारण टहरो बनाएर बस्दै आएको बताइन्। 

उनीहरु सबैको एउटै भनाइ थियो,  पैसा नहुनु, बनाउन थाल्न मिस्त्री नपाउनु, पानीको समस्या हुनु आदि।  

एकातिर पहिलो किस्ता पाएकाले घर बनाउन सुरु गरेका छैनन् भने अर्कोतिर बनाएकाहरुले पनि प्रोत्साहन पाउन सकेका छैनन्। 

सोही गाउँकी अनिता भूजेलले सरकारले दिएको रकममा थप गर्न जग्गा धितो राखेर घर बनाइन्। तर, उनले पहिलो किस्ता पछि दोस्रो किस्ता पाउनै नसकेको गुनासो पोखिन्। 

'मेरो घर एक तलाको बनाएर लगभग सकिन लाग्यो, तर इन्जिनियरहरुले भएन भनेर पास गरेकै छैन। मैले कसरी दोस्रो किस्ता पाउन सक्छु?’ उनले भनिन्। 

जग्गा धितो राखेर घर बनाएको उनले बताइन्। ‘मेरो जग्गा पनि धितो राखेको छु, घर बनाएको पनि हुँदैन भन्छ,’ भुजेलले भनिन्, ‘अब यसलाई न भत्काउन सक्छु न अर्को बनाउन नै।’

घर बनाउन सुरु गर्दाको मिस्त्री बीचमै हिड्यो। 'मिस्त्रीले मापदण्ड अनुसार काम गरेनछ। म त जान्दिन पनि,’ उनले भनिन्, ' तर इन्जिनियरले पास नै गर्न नसक्ने भनेको छ।'

भूकम्प पुनर्निर्माण सम्बन्धी काम गरिरहेका इन्जिनियर दुर्गा पौडेलले भने मापदण्ड अनुसार नभएको कारण पास गर्न नसक्ने प्रतिक्रिया दिए। ‘यो घर बनाए पनि मापदण्ड अनुरुप छैन, कसरी पास गर्न सकिन्छ?’ पौडेलले भने, ‘हामीलाई पनि जुन मापदण्डले तोकेको छ, त्यही अनुसार भए नभएको हेरेर मात्रै पास गर्ने हो।’

भूकम्प पीडितको गुनासो सुनेपछि मन्त्री साहले बनाएको घर भूकम्प प्रतिरोधी छ भने इन्च नापेर बस्न आवश्यक नभएको प्रतिक्रिया दिए। 
मन्त्री साहले भने, ‘यदि भूकम्प प्रतिरोधी छ भने किन इन्च–इन्च नै नापेर बस्नुपर्‍यो, प्रक्रिया मिलाएर पास गरी पुननिर्माणको काममा तीब्रता दिनुस्।’ 

छाप्रोबाट मुक्त हुनैपर्छ

मन्त्री साहले भने ‘छाप्रोबाट मुक्त हुनै पर्छ। दुई वर्षको छाप्रोको बास अन्त्य गर्न चाहन्छौं, त्यसैले नै समस्या कहाँनिर छ भनेर बुझ्न यहाँ आएको हुँ।’ 

मन्त्रीको टोलीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको वडा नं. ३ स्थित थुम्काडाँडा र आधाबाट अनि वडा नं. ६ को झिंगनावेसीमा पुगेर भूकम्प पीडितहरुको गुनासो र पुनरनिर्माणको अवस्थाको बारेमा जनकारी लिएको थियो। 

जिल्लास्थित सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका अनुसार ६६ हजार ७ सय २९ जना लाभग्राहीले सम्झौता गरेको, ७ हजार २ सय ११ जनाले घर बनाइसकेको र ५ हजार ६ सय ४३ जनाको किस्ताको लागि सिफारिस गरिसकेको जनाएको छ। कार्यालयले जनशक्ति अभाव, गाउँमा बुढाबुढीमात्रै हुनुजस्ता कारणले पुनर्निर्माण राम्रोसँग हुन नसकेको जनाएको छ। 

जिल्लामा १३७ जनाको प्राविधिक दरबन्दीमा १३३ जनाले काम गरिरहेको छ। मन्त्रीसँगै पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेल, मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा र शहरी विकास मन्त्रालय केन्द्रीय कार्यान्वय आयोजनाका निर्देशक तपेन्द्र बहादुर खड्का लगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell