काठमाडौँ : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन प्रक्रिया अघि बढाउने सहमति गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजनमा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुवै पक्षका शीर्ष नेताको बैठकले संविधान संशोधन प्रक्रिया शीघ्र अघि बढाउन अन्य दलसँग पनि वार्ता र छलफल गर्ने सहमति गरेको हो।
बैठकमा राजपा नेपाल र सरकारबीच भएको तीनबुँदे सहमतिअनुसार तराई–मधेस आन्दोलनका क्रममा लागेको मुद्दा फिर्ता गर्ने, संविधान संशोधन प्रस्ताव पारित गर्नेलगायतका काम सत्ता पक्षले चाँडै गर्ने आश्वासन दिएको राजपा नेपालको अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए।
पहिले पनि सरकारबाट आश्वासन पाएको स्मरण गर्दै अध्यक्ष ठाकुरले सहमतिअनुसारका माग पूरा भए आगामी असोज २ गते निर्धारित स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टी सहभागी हुने बताए । संशोधन प्रस्ताव पारित गर्न सबै दलले आ–आफ्नातर्फबाट प्रयास गर्ने सहमति भएको उनको भनाइ थियो ।
बैठकमा स्थानीय तहको तेस्रो चरणको र बाँकी प्रदेशसभा र सङ्घको निर्वाचन निर्धारित समयमै गर्नेबारेमा छलफल भएको थियो। सबै प्रकारका निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक राजनीतिक वातावरण बनाउन छलफल भएको काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए।
बैठकले संशोधन पारित गराउन सक्रियतापूर्वक लाग्ने र त्यसका लागि आवश्यक दुई तिहाइ बहुमत पु¥याउन सबै दलसँग छलफल गर्ने सहमति गरेको छ।
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राजपा नेपालले संविधान संशोधनका सम्बन्धमा उठाएका माग सम्बोधन गर्न सकेसम्म अघि बढाउने र पारित गर्न सबै दलले आफ्नोतर्फबाट प्रयास गर्ने सहमति भएको जानकारी दिए । उनले भने, “त्यसका लागि अन्य पार्टीसँग पनि छलफल गर्छौं ।”
बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गृहमन्त्री जनार्दन शर्मा, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शाशाङ्क कोइराला, नेताहरु प्रकाशमान सिंह तथा माओवादी केन्द्र नेताहरु वर्षमान पुन, रामबहादुर थापा र मातृका यादव सहभागी हुनुहुन्थ्यो । त्यस्तै राजपा नेपालका तर्फबाट अध्यक्ष ठाकुर, नेताहरु राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिल झा र राजकिशोर यादव सहभागी थिए। रासस