PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

राजपाले दल दर्ताका लागि आयोगमा दियो निवेदन,  दर्ता नम्बर ८३६६



रासस

राजपाले दल दर्ताका लागि आयोगमा दियो निवेदन,  दर्ता नम्बर ८३६६

काठमाडौँ :  राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ। 

तराई–मधेस केन्द्रीत राजनीति गर्दै आएका छ दलले एकीकृत पार्टीका रुपमा राष्ट्रिय जनता पार्टी दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा औपचरिकरुपमा निवेदन दिएका हुन्। 

दल दर्ताका लागि निवेदन दिन राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रप्रसाद यादव, अनिल झा, राजकिशोर यादव अपराह्न ४.४५ बजे आयोगमा पुगेका थिए। 

आयोगको सभाकक्षमा कामु सचिव महेश्वर न्यौपानेलाई सदस्य ठाकुरले दल दर्ताका लागि निवेदनसहितको आवश्यक कागजात बुझाए।

त्यसलगत्तै आयोगले उनीहरुको निवेदन दर्ता गरेको थियो। दल दर्ताका लागि उक्त पार्टीले दिएको निवेदनको दर्ता नम्बर ८३६६ रहेको छ। तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई–मधेस सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच गत वैशाख ७ गते एकीकृत भएपछि राजपाको जन्म भएको हो। राजपाले आफ्नो चुनाव चिह्न छाता प्रस्ताव गरेको छ। 

संविधानसभाबाट जारी भएको नेपालको संविधानको केही अन्तरवस्तुमाथि फरक विचार राखेर आन्दोलन गर्दै आएका मधेस केन्द्रीत दललाई स्थानीय तहको निर्वाचनको घोषणाले एकीकृत हुन दबाब सिर्जना गरेको थियो। 

एकीकृत दलको विधानलाई अन्तिम रुप दिने क्रममा ती दलबीच विवाद देखिएका कारण दल दर्ता गर्न केही ढिलाइ भएको बताइएको छ। दल दर्ताको निवेदन दिएर बाहिरिने क्रममा अध्यक्ष मण्डलका सदस्य ठाकुरले दल दर्ताका लागि निवेदन दिन आएको प्रतिक्रिया दिए। 

उनले भने, “विधानसहित आवश्यक काजगत पेश गरिसकेका छौँ, अब प्रक्रियामा जान्छ, सरकारले प्रष्टसँग संवाद गरिरहेको छैन, हामीले उठाएका माग सम्बोधन भएका छैनन्, यथास्थितिमा चुनावमा भने प्रवेश गर्ने छैनौँ।” 

आन्दोलनको दौरानमा नेताले, जनताले क्षति व्यहोरेको छ, धरपकड हुँदैछ, त्यो बेलाको मुद्दा फिर्ता लियोस्, जेलमा परेकालाई छोडियोस्, अपाङ्ग र घाइतेलाई क्षतिपूर्तिको व्यवस्था गरोस् सरकारले अनि हामी सोच्छौं, यो संविधानमा हाम्रो स्थान नै छैन– नेता ठाकुरले भने। 

अध्यक्ष मण्डलका नेतामध्ये शरदसिंह भण्डारी मुलुक बाहिर भएकाले उपस्थित भएनन्। दल दर्ताका लागि राजपाका सांसद र अरु नेता तथा कार्यकर्ता आयोगमा पुगेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell