PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

विराटनगर महानगरमा २० वर्षपछि काङ्ग्रेसको कम ब्याक



अनन्तराज न्यौपाने

विराटनगर महानगरमा २० वर्षपछि काङ्ग्रेसको कम ब्याक

विराटनगरः अन्य कुनै चमत्कार भएन भने आइतबार बिहानसम्ममा विराटनगर महानगरमा नेपाली काङ्ग्रेसका प्रमुख र उपप्रमुख निर्वाचित भएको खबर आइसक्ने छ।

महानगरपालिकामा २० वर्षपछि काङ्ग्रेस नेतृत्वको कम ब्याक हुने भएको हो। महानगरमा फराकिलो मतान्तरले काङ्ग्रेसका प्रमुख र उपप्रमुखले कुर्सी जमाउने भएपनि २० वर्ष अघिकै जस्तो बहुमत भने नपाउने सङ्केत देखिएको छ।

वडाका १९ मध्ये ७ वटा वडामा मात्र काङग्रेसका वडा अध्यक्षले जितेका छन्। मतगणना जारी रहेका तीन वटा वडामा काङ्ग्रेसका आकांक्षी पछि परेको अवस्था छ। 

पछिल्लो मतपरिणाम अनुसार प्रमुख पदमा काङ्ग्रेसका भीम पराजुली एमालेका विनोद ढकालभन्दा ६ हजार ३ सय १६ मतले अगाडि छन्।
भीमको १९ हजार १ सय ५१ र विनोदको १३ हजार ८ सय ३५ मत छ। उपप्रमुखमा काङ्ग्रेसका इन्दिरा कार्की आफ्ना निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका नमिता न्यौपानेभन्दा ६ हजार ९ सय ६४ मतले अगाडि छन्।

इन्दिराको १६ हजार ६ सय ७० र नमिताको ९ हजार ७ सय ६ मत पुगेको कार्यालयले जनाएको छ।

विराटनगरका १९ मध्ये १६ वटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ। जसमा काङ्ग्रेसले वडा नं. १, ३, ४, ७, ८, ९ र १६ मा वडा अध्यक्ष जितेको छ।

सङ्घीय समाजवादी फोरमले १३, १४, १५, १७ र १८ गरी ५ र एमालेले वडा नं. २ र ५ मा गरी २ स्थानका वडा अध्यक्ष हत्याएको छ। माओवादी केन्द्रले वडा नं. ६ र वडा नं. १९ मा काङ्ग्रेसबाट विद्रोही बनेर स्वतन्त्र उठेका  बद्री सरदारले वडा अध्यक्षमा विजय प्राप्त गरेका छन्।

वडा नंं. १०, ११ र १२ गरी ३ वटा वडाको मतगणना कार्य भइरहेको र आइतबार बिहानसम्ममा महानगरको सम्पूर्ण मत परिणाम प्राप्त भइसक्ने मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले बताए।

यस्तो छ विगत

प्रजातन्त्रको पुनःस्थापनापछि पहिलो स्थानीय निर्वाचन २०४९ सालमा भएको थियो। निर्वाचनमा नगरका २२ मध्ये २० वटा वडा अध्यक्षसहित काङ्ग्रेसका प्रमुख अशोक कोइराला र उपप्रमुख गङ्गा भगत निर्वाचित भएका थिए।

यसपछिको दोस्रो स्थानीय निर्वाचन २०५४ मा ५ वर्ष अघिको परिणाम उल्टाउँदै विराटनगरमा एमालेले बहुमतसहित किल्ला गाड्यो।

उक्त निर्वाचनमा एमालेबाट प्रमुखमा रमेशचन्द्र पौडेल र उपप्रमुखमा भूराज राई आफ्ना १३ वटा वडा अध्यक्षसहित विजयी भए।

को हुन् भीम र इन्दिरा ?

विरानगरको वडा नं. ३ मा निम्नमध्यम वर्गीय परिवारमा जन्मिएका ४४ वर्षका भीम पराजुली नेपाल विद्यार्थी सङ्घमा संलग्न हुँदै राजनीतिमा सक्रिय भएका हुन्।

२०४६ सालको जनआन्दोलनमा उनी विराटनगरको जनता माविमा पढ्दै थिए। त्यसबेला उनी आन्दोलनका कार्यक्रममा सरिक हुन्थे।

महेन्द्र मोरङ क्याम्पसमा २०५५ सालमा स्ववियु सदस्य, २०५७ मा कोषाध्यक्ष र २०५९ मा सचिव भएका उनले २०६१ को निर्वाचनमा भने सभापति पदमा पार्टीको टिकट पाएनन्। टिकट नपाएपछि उनी टिमसहित बागी उम्मेदवार भए र आफूसहित आफ्ना समर्थक सबैलाई जिताए।
भीम २०६८ र २०७२ दुबै पटक भएको पार्टीभित्रको निर्वाचनमा नगर सभापति भए। 

विराटनगरमा धार्मिक, सामाजिक र शैक्षिक कार्यक्रमहरूमा पनि बाक्लो उपस्थिति राख्ने भीम विभिन्न स्कुल, कलेज र एक अस्पतालका सञ्चालक पनि हुन्।

सर्लाही जिल्लाको तत्कालीन धनकौल गाविसमा ५७ वर्ष अघि जन्मिएकी इन्दिराको राजनीति २०४७ सालमा प्रजातन्त्रको पुनःस्थापनासँगै सुरु भएको हो।

उनी विराटनगर वडा नं. २ मा नेपाली काङ्ग्रेस र नेपाल महिला सङ्घको सभापति र त्यसपछि महिला सङ्घको जिल्ला सदस्य र सहसचिव हुँदै केन्द्रीय सदस्यसम्म भइन्। उनी पार्टीमा हाल तेस्रो पटक महासमिति सदस्य छिन्।

पराजुली भन्छन्– सय दिनमा परिवर्तनको अनुभव

विराटनगर महानगरको प्रमुख भएपछि आफ्नो पहिलो प्राथमिकता यहाँका सडकलाई दुरुस्त बनाउने तथा धुलो र हिलोबाट सडकलाई मुक्त गर्ने रहेको पराजुलीले बताए।

‘सय दिनमा हामी राहत अनुभव हुने गरी काम गर्नेछौँ’, पराजुलीले भने, ‘खानेपानी शुद्ध छ कि छैन, उपभोक्तालाई सुसूचित गर्नेछौँ र एसियाली विकास बैङ्कबाट भइरहेको सडक र ढलको निर्माण कार्यलाई तीव्र बनाउनेछौँ।

कति टिक्लान् पराजुली ?

विराटनगरमा अहिलेसम्म जति पनि प्रधानपञ्च वा प्रमुख भए तिनको राजनीति करिब–करिब सकिएको इतिहास छ।

२०४९ सालमा काङ्ग्रेसबाट प्रमुख भएका अशोकको थर कोइराला र उनी स्वर्गीय सुशील कोइरालाका सहोदर भाइ भएका कारणले मात्र हो, उनीे राष्ट्रिय सभाको सदस्य र हाल समानुपातिक तर्फका सांसद् हुन सके। तर जनाधारका हिसाबले उनी मोरङमा अत्यन्त कमजोर नेता हुन्।
अशोकपछि प्रमुख बनेका एमालेका पौडेल सक्रिय राजनीतिक परिदृश्यबाट हराएको एक दशक भइसकेको छ।

पञ्चायतकालमा प्रधानपञ्च बनेका रामकृष्ण भट्टराई र ध्रुवनारायण श्रेष्ठ पनि अहिले सक्रिय राजनीतिमा देखिँदैनन्।

किन यस्तो ?

भनिन्छ, महानगरपालिकाभित्रको कर्मचारीतन्त्रभित्रको भ्रष्टाचार संस्थागत रूपमा चुलिएको छ। महानगरमा जनताका आकांक्षा उत्कर्षमा छन्।

साधनस्रोत र दक्ष जनशक्ति भने अत्यन्त सीमित देखिन्छ। यस्तो अवस्थामा अल्पमतका प्रमुख र उपप्रमुखले आफ्नो राजनीतिलाई कसरी थाम्न सक्लान्, हेर्न बाँकी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell