PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

राष्ट्रपति रनिङ सिल्ड : एथलेटिक्समा प्रकाशको कीर्तिमान



पहिलोपोस्ट

राष्ट्रपति रनिङ सिल्ड : एथलेटिक्समा प्रकाशको कीर्तिमान
कीर्तिमानी चार  खेलाडी बायाँबाट प्रकाश दनुवार, भुवन महतो, निशान गुरुङ र अजितकुमार यादव पदकसाथ। साथमा ट्रिपल जम्पकी स्वर्ण विजेता विपना परियार (बीच)।

काठमाडौं : नवौँ राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र ४ सय मिटर दौडमा पूर्वाञ्चलका प्रकाश दनुवारले विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। निर्धारित दूरी ५०.२० सेकेन्डमा पूरा गर्दै प्रकाश आफ्नो नाममा कीर्तिमान लेखाउन सफल भए। प्रकाशले २०५८ सालमा भएको वीरेन्द्र रनिङ सिल्डमा कृष्ण महतोले बनाएको ५२.८ सेकेन्डको कीर्तिमान भंग गरेका हुन्।

२०६५ सालअघि राष्ट्रपति रनिङ सिल्ड वीरेन्द्र रनिङ सिल्डको नाममा सञ्चालन हुँदै आएको थियो। यस स्पर्धामा मध्यमाञ्चलका भुवन महतो दोश्रो र पश्चिमाञ्चलका सन्दिप चौधरी तेश्रो भए।

यसैगरी छात्रामा सुदूरपश्चिमाञ्चलकी अनिता भुल १ मिनेट ०७.२५ सेकेन्डमा दौड पार गर्दै पहिलो भइन्। पश्चिमाञ्चलकी कल्पना श्रेष्ठ दोश्रो र मध्यमाञ्चलकी काजल विष्ट तेश्रो बने।

छात्रा त्रिपल जम्मा मध्यमाञ्चलका भुवन महतो १३.२३ मिटर जम्प लगाउदै शीर्ष स्थानमा रहे। मध्यपश्चिमाञ्चलका सुशिल केसी दोश्रो तथा सुदूरपश्चिमाञ्चलका निरकुमार रानाले तेश्रो स्थान हात पारे। त्यसै स्पर्धाको छात्रामा पश्चिमाञ्चलकी विपना परियारले स्वर्ण जितिन्। विपनाले १०.५६ मिटर जम्प गरिन्। सुदूरपश्चिमाञ्चलकी देविका पालले रजत तथा मध्यपश्चिमाञ्चलकी पूजा चौधरीले कांस्य जिते।

छात्र ज्याभ्लिन थ्रोमा मध्यमाञ्चलका वीरेन्द्र चौधरी पहिलो भए। उनले ४५.६५ मिटर थ्रो गरे। सुदूरपश्चिमाञ्चलका रमेश पोखरेल दोश्रो तथा मध्यमाञ्चलका सन्तराम माझी तेश्रो भए। सो स्पर्धाको छात्रामा सुदूरपश्चिमाञ्चलकी खगेश्वरी ठगुन्ना २५.१९ मिटर थ्रो गर्दै अब्बल बनिन्। पश्चिमाञ्चलकी सुनीता थापा दोश्रो र मध्यमाञ्चलकी एलिना खड्का तेश्रो भए।

छात्रा २ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी जयरानी थारु पहिलो भइन्। जयरानीले २७.४४ सेकेन्डमा दुरी पूरा गरिन्। १ सय मिटर दौडमा पहिलो भएकी मध्यमाञ्चलकी लुजःला अमात्यले दोश्रो स्थानमा चित्त बुझाइन् भने पूर्वाञ्चलकी नेहा चौधरी तेश्रोमा सीमित भइन्।

४ गुणा ४ सय मिटर रिलेको छात्रमा मध्यपश्चिमाञ्चल, मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल क्रमशः शीर्ष तीन स्थानमा रहे। उक्त स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलले स्वर्ण, पश्चिमाञ्चलले रजत र मध्यमाञ्चलले कांस्य जिते।

एथलेटिक्सको समग्रमा मध्यपश्चिमाञ्चल सर्वाधिक १ सय ७३ अंक जोड्दै टिम च्याम्पियन बन्यो। १ सय ६७ अंकमा मध्यमाञ्चल दोश्रो र १ सय ३८ अंकमा पश्चिमाञ्चल तेश्रो भए।

तीनदिने एथलेटिक्समा जम्मा ४ छात्र खेलाडीले ५ विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान रचे। त्यसमा मध्यमाञ्चलका अजितकुमार यादवले दोहोरा कीर्तिमान बनाए। उनले १ हजार ५ सय र ३ हजार मिटर दौडमा कीर्तिमान बनाए। पश्चिमाञ्चलका निशान गुरुङले सटपुट, मध्यमाञ्चलका भुवन महतोले लङजम्प र पूर्वाञ्चलका प्रकाश दनुवारले ४ सय मिटर दौडमा कीर्तिमान बनाउन सफल भए।

 

भलिबल : पश्चिमाञ्चल र मध्यमाञ्चल च्याम्पियन

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको भलिबलतर्फ छात्रमा पश्चिमाञ्चल र छात्रामा मध्यमाञ्चल च्याम्पियन बनेका छन्।

छात्र/छात्रा भलिबल उपाधि विजेता मध्यमाञ्चल र पश्चिमाञ्चल टोली

राउन्ड रोविन लिगका आधारमा भएको प्रतिस्पर्धामा छात्रमा पश्चिमाञ्चलले अपराजित रहँदै १२ अंक जोड्यो। ८ अंकसाथ मध्यमाञ्चल दोश्रो तथा ५ अंकसाथ मध्यपश्चिमाञ्चल तेश्रो बने।

छात्रामा च्याम्पियन बनेको मध्यमाञ्चलले पनि १२ अंक बटुल्यो। मध्यमाञ्चलले पनि कुनै खेल गुमाएन। ९ अंक जोडेको पूर्वाञ्चल दोश्रो भयो। ५ अंकसाथ मध्यपश्चिमाञ्चलले तेश्रो स्थान चित्त बुझायो।

अन्तिम दिन छात्र र छात्रातर्फ समान २–२ खेल भयो। छात्रमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–२१ र २५–२३ तथा मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–१५, २१–२५ र २५–१६ ले पराजित गरे। छात्रामा पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–१० र २५–१८ तथा मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–१९ र २५–१६ को सोझो सेटमा हराए।

 

फुटबल : मध्यपश्चिमाञ्चल र मध्यमाञ्चललाई उपाधि

फुटबलको छात्रमा मध्यपश्चिमाञ्चल र छात्रामा मध्यमाञ्चलले उपाधि जिते। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र फाइनलमा मध्यपश्चिमाञ्चलले मध्यमाञ्चललाई २–० गोलअन्तरले पराजित गर्‍यो। विजयी टिमका लागि दिपेनसिंह ठकुरी र हेमराज राउतले १–१ गोल गरे।

छात्राको उपाधि भिडन्तमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४–१ गोलअन्तरले हरायो। विजेताका रश्मी घिसिङले २ गोल गरिन् भने सविता राना मगर र रजनी थोकरले १–१ गोल थपे। पश्चिमाञ्चलकी उदया थापाले सान्त्वना गोल फर्काइन्।

(फोटोहरु : राखेप)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell