PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

सिंहदरबारबाट सागरको डेब्यु : राणा शासनमाथि राणाकै खोज



पहिलोपोस्ट

सिंहदरबारबाट सागरको डेब्यु : राणा शासनमाथि राणाकै खोज

  • ऋषिकेश दाहाल/रमेश वाग्ले -
'दरबार हत्याकाण्डको किताब लेख न। बरु त्यसका लागि बैना दिन तयार छौं। इतिहास लेखेर कसले पढ्छ?,' पुस्तक प्रकाशनको डिलका लागि दिल्ली पुगेका डेब्यु लेखक सागरलाई कतिपय पब्लिसरले यसै पनि भने। 

तयार भएको किताब तीनवटा पब्लिसरले त रिजेक्ट पनि गरे। तर, तीन वर्षअघि 'रुपा'कहाँ पुगेपछि एकैपटकमा कुरा मिल्यो। त्यसपछि रह्यो एडिटिङका चरण – उनीहरुले पर्याप्त समय लिए र अहिलेको रुपमा पुस्तकलाई तयार पारे। 

राणा शासनको इतिहास खोतल्दा शाह वंश जोडियो, शाह वंश जोडिनासाथ मल्लहरुको पनि इतिहास तानियो। किताब लगातार मोटाइरह्यो। सागरले ८ वर्ष त लेख्ननमात्र लगाए। 

हातमा एउटा मेनस्क्रिप्ट बोकेर दाजु जगदीश शम्शेर राणाकहाँ पुगे सागर। इतिहासको एउटा बस्तुनिष्ठ सामग्री तयार भएको गर्वका साथ पुगेका थिए उनी। मेनस्क्रिप्ट मोटै थियो। 

जगदीश शम्शेरले यसो हेरे र छेउतिरै राखिदिए। केही बोलेनन्। उनको वाणी नफुट्दा पनि गेस्चरले सबैकुरा बताइरहेको थियो। 
'मैले कुरा बुझिहाले। उहाँलाई त्यो चित्त बुझेनछ,' सागरले स्वीकारे। 

पहिलोपटक एउटा इतिहासको किताबमा भिडिरहेका सागरलाई दाजुको व्यवहारले थप मेहनत गर्न दवाव दियो। 'जति सकिन्छ धेरै लेख्ने र पछि छिमल्ने' सिद्धान्तलाई अनुसरण गर्दैगर्दा १ हजार पेज पो तयार भएछ। अन्तत: 'सिंहदरबार राइज एन्ड फल अफ दी राणा रेजिम अफ नेपाल' तयार भयो।  

वस्तुनिष्ठ खोज्दा सिंहदरबार यात्रा

१०४ वर्ष लामो राणा शासनका किताब जति खोज्ने हो भने धेरैजसो राणा विरोधी र केही राणाका पक्षमा वकालत गर्ने खाले मात्र छन्। केही किताब छन् पूरै प्रायोजित – कतिपय राणाहरुले नै अंग्रेजी लेखक झिकाएरै आफूमाथि किताब लेख्ना लगाएका थिए। '९० प्रतिशत किताबहरु राणा शासन खराब चित्रण गर्नकै लागि लेखिएका छन्,' सागरशम्शेर राणाले किताब सुरुवातका दिनबारे बताए, '१० प्रतिशतले भने राणाकै गुणगान गरे। यहीनेर अब्जेक्टिभ भएर लेखिएको सामग्रीको अभाव देखियो।'

दाजुहरु जगदीशशम्शेर जबरा र भरतशम्शेर जबरा दुवै लेखकका रुपमा स्थापित भइसकेका भए पनि सागर लेखेकका रुपमा डेब्यु गर्ने क्रममा थिए। यसको आवश्यकता महसुस गरेका उनले दाजुहरुलाई नै नेपालको राणा शासन उदय र पतनको कथा लेख्नम पर्योश भनेका थिए। स्थापित लेखक दाजुद्वयले लेख्नुोपर्छ भन्ने स्वीकारे तर लेख्न् तयार भएनन्। नेपाली कांग्रेसको राजनीतिसँगै सागरशम्शेर किताब लेखनका लागि तयार भए, सन्दर्भहरु खोज्न थाले। घटनाक्रमसँग जोडिएका मानिसहरुसँग कुराकानीको सुरुवात भयो। राणा, राणाविरोधी आन्दोलनमा जुटेकाहरु, इतिहासका अध्यताहरुसँग उनी जुट्नेक्रम सुरु भयो। बनारस, दिल्ली, कोलकाताका पुस्तकालयहरु चाहर्ने क्रम सुरु भयो। त्यसैको परिणाम राणा शासनको इतिहासलाई व्याख्या गर्ने क्रममा उनले करिब ४ सय रेफरेन्सको सूची खडा गरे। 

'लेख्नेहक्रमकै बीचमा पहिलो इन्टरभ्यू सन् २००७ मा सत्यमोहन जोशीबाट थालेँ,' सागरले सुनाए, 'ज्ञान र उमेर दुवैका कारण उहाँबाट मैले यसलाई अगाडि बढाए।' उनको सूचीमा शताब्दी पुरुष जोशीजस्तै त्यतिखेरको नेपालको सन्दर्भ बुझ्ने व्यक्तिमात्र थिए। ती राणाहरु थिए, शाहहरु थिए र थिए राणा शासन विरुद्ध लडेकाहरु। 

समयको गति पनि विचित्रकै छ। समयको कथा कोर्न उनलाई उक्साउने कमलमणि दीक्षित उनको पुस्तकले आकार नलिँदै परलोक प्रस्थान गरे। 'उहाँमात्र होइन मैले जतिसँग कुरा गरेँ आधाजति त बितिसक्नुभयो,' उनले सुनाए।

नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका सागर शम्शेर अक्सफोर्ड रिटर्न्ड हुन्। 'अक्सफोर्ड रिटर्न्ड भएका कारण लिवरल थिङ्किङ हुनु स्वभाविक थियो,' उनले सुनाए। उनको अध्ययनले उनको पुस्तकमा ओज थपेको छ। पर्याप्त साइटेसन र थाँती मिलाएर राखिएका एनक्डट्सहरुले पुस्तकलाई बलियो बनाएको छ।  

सिंहदरबारको गुदी

सिंहदरबार मुलत: नेपालको राणा शासनको उदय र अवसानको कथा हो। राणा शासनको उदयदेखि प्रजातान्त्रिक आन्दोलन र प्रजातन्त्र स्थापनामा भारतीय सक्रियतालगायतका विषयलाई किताबले समेटेको छ। राणा शासनकै अवधिमा भएका राम्रा प्रयास र खराब अभ्यास दुवैलाई किताबले समेट्छ। प्रजातान्त्रिक आन्दोलनलाई पनि उत्तिकै समेटेको छ।

पुस्तकका तीन खण्ड छन्। पहिलो खण्डले नेपालको अस्तित्वको सुरुवाती कालखण्डलाई व्याख्या गर्छ। यो खण्डमा देशको उद्भवदेखि पृथ्वीनारायण शाहको एकीकरण हुँदै देव शम्शेरको शासनसम्म समेट्छ। मूलत: यस खण्डले राणा शासनको थालनीको कथा बताउँछ। राणा शासन नभएको भए के हुन्थ्यो त?

पुस्तकका लागि लामो अध्ययन गरेका राणासँग हाम्रो प्रश्न थियो। 

'सुरुमा मौलिक रुपमा हेर्दा जतिखेर राणा शासन सुरु भयो डिक्टेटरकै जमाना थियो संसारभर,' उनले उत्तर दिइहाले, 'जंगबहादुर थिएनन् भने अर्को कोही निस्किन्थ्यो। जंगबहादुर होस् या भीमसेन थापा नै राजदरबार भित्र खराब अवस्था थियो। समयले बाध्यात्मक रुपमा जंगबहादुर जन्माएको हो।' 

पुस्तकको दोस्रो खण्डले राणा शासनको मध्यकालको व्याख्या गर्छ। यस खण्डमा चन्द्रशम्मेशरको उदयदेखि जुद्धशम्मेशरको नेतृत्वकाल समेतलाई समेट्छ। राणा खलकभित्रकै वर्गीकरण र त्यसले जग बसाएको विद्रोहको स्वरुपलाई यस खण्डले खोतल्छ। 

राणा शासनका पक्ष र विपक्षमा कृति धेरै नै छ। यो शासनको खराबी सबैभन्दा बढी चित्रित भएका छन् धेरैजसो लिट्रेचरमा। आखिर राणा शासन खराब नै थियो त? सय वर्षको इतिहास त्यसै बन्छ? हो, देशको राजश्व श्री ३ कहाँ जाने र त्यो मनपरी बाँढ्न सक्ने अवस्था थियो। 

राणा शासनको इतिहासका आखिरी दिनमाथि भीमबहादुर पाण्डेले आफ्ना पुस्तक श्रृंखलाहरुमा यसबारे खुलाएकै छन्। मोहन शम्मेरको पालामा शरदार भीमबहादुर पाण्डेलाई पञ्चवर्षीय योजना बनाउन भन्दा उनले प्रश्न गरेका थिए, 'सरकारको आम्दानी कति छ भन्ने थाहै नपाई कसरी योजना बनाउने?'

विद्यालय खोल्न नदिने सुरुवाती दिनदेखि देव शम्शेरको परिवर्तनकारी सोच र पद्मशम्मेरको शिक्षामा सक्रियताजस्ता अभ्यास राणा शासनमै भए।

सागरशम्शेर मुलुकी ऐनलाई नै टर्निङ पोइन्ट मान्छन् – कानुनी राजको। 

राणा शासक जंगबहादुरले एसियाका लागि नै बेलायत जाने ढोका खुलाएका थिए। अझ उनकै शब्दमा त – चन्द्रशम्शेरको पालामा चीनसँग भएको १९२३ को सम्झौताले नेपाललाई देश बनायो। भन्छन्, 'त्यो ट्रिटी नभएको भए नेपाल भारतको भूभागमा हुने थियो।'

औद्योगिक विकासमा जुद्धशम्शेरले परिवर्तन ल्याए। 'जुद्ध शम्शेर बडो इन्टिलेक्चुअल थियो। ब्रिलियन्ट पनि,' सागरले अध्ययनको सार सुनाए, 'उद्योग खोल्यो भने लेबर मुभमेन्ट हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि उनले उद्योगहरु सुरु गराए।'

कानुनी राजको थालनी पनि राणाकालमै सुरु भयो। मुलुकी ऐन अनुसार फैसला गर्दा शासकविरुद्ध नै पर्न गएका घटनाहरु पनि छन् जसलाई उनले राणाकालीन राम्रा कदम भनेका छन्।

तेस्रो भागमा पुस्तकले प्रजातान्त्रिक राजनीतिक आन्दोलनलाई समेटेका छन्। प्रजातन्त्रको घोषणासँगै उनको पुस्तकले पनि बिट मार्छ। बिट मार्दै गर्दा भारतीय जनताले नेपालको प्रजातान्त्रिक आन्दोलनमा जसरी सहयोग गरे, नेताहरुले जसरी सहयोग गरे उल्लेख गरेका छन्। र, एकखाले निचोड दिएका छन् – जनता र नेताले सहयोग गरे पनि भारत सरकारले सहयोग गरेको थिएन। 

बैकल्पिक किताब

इतिहासलाई बुझ्न नसके वर्तमानको धरातल पहिचान हुन सक्दैन र भविष्यको आंकलन गर्न सकिन्न। लेखिएका धेरै किताब प्रायोजित छन् या कुण्ठाले ग्रसित। आरोप र प्रत्यारोपका भण्डार नै बनेका छन् कतिपय किताब। सागरलाई किताब लेख्न का लागि यसैले घच्घच्यायो। कि राणाका पक्षमा छन् किताब कि विपक्षमा। उनले बीचमा बस्ने प्रयास गरे। धेरै हदसम्म उनले आफूलाई बीचमा नै राख्न सक्षम भएका छन्। 
सिंहदरबार नयाँ र एक्सक्लुसिभ होइन। घटनाक्रमहरु पनि पुरानै हुन्। प्रस्तुतीकरणका आधारमा भने यो बैकल्पिक बनेको छ। यसको अर्को महत्वपूर्ण पक्ष भनेको पर्याप्त साइटेसन नै हो। इतिहास लेखनका जटिल विषयमा पर्याप्त उद्दरण हामीकहाँ पाइँदैन। 

त्यसो त राणा शासनभित्रका यावत विषयलाई पुरुषोत्तम शम्शेरले नउतारेका होइनन्। संख्यात्मक र विवरणात्मक हिसाबले उनका पुस्तकको ओजन उत्तिकै छ। 

सागरले पनि पुरुषोत्तम शम्मेशरसँग भेटेका छन् लेखनका क्रममा। 'केही विषयमा उहाँ पनि पक्का हुनुहुन्न रहेछ,' सागरले भने। 

स्वभाविक पनि हो, कुनै पनि लेखक पाएसम्मका विवरणका आधारमा बोल्ने हो। सतहमा आएका विषयका आधारमा विश्लेषण गर्ने हो। सागरको सिंहदरबार पनि यसअर्थमा पूर्ण होइन – तर पनि यो उनको खोजले भेटेको, पढेको र परिवारबाट पाएको सूचनाको गहकिलो सामग्री भने हो।

सिंहदरबारबाट डेब्यु गरेका सागरले अहिले पनि अध्ययनको श्रृंखला जारी राखेका छन्। यसपछि पनि उनका अन्य किताबहरु आउने तयारीमा छन्। सिंहदरबारबाट सुरु भएको उनको लेखनीले कहाँसम्मको दुरी तय गर्छ त्यो भने भविष्यकै गर्भमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell