
ह्याम्बर्गः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको औपचारिक भ्रमणमा जाने भएका छन्।
जर्मनीको ह्याम्बर्गमा जारी जी–२० को बैठकमा सहभागी हुन त्यहाँ आएका ट्रम्पले जर्मन चान्सलर एञ्जिला मार्केलसँग शनिबार भएको भेटका क्रममा आफू बेलायत भ्रमणमा जाने जानकारी दिएका हुन्।
द्विपक्षीय वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले भने ‘म चाँडै नै बेलायतको भ्रमणमा आउने हो र त्यस क्रममा दुई देशका बीचमा महत्वपूर्ण सम्झौतामा पनि हस्ताक्षर गर्ने हो।’
सम्झौताले आगामी दिनमा अमेरिका र बेलायतका पक्षमा मात्र नभई यसबाट युरोपेली युनियनसँगको सम्बन्धमा पनि महत्वपूर्ण प्रभाव पार्ने ट्रम्पले बताए।
तर सो भ्रमणको समय कहिले हो भन्ने बारेमा भने उनले केही बताएनन्। उनले भने,‘‘म बेलायतको भ्रमणमा जाँदैछु र दिन कुन हो भन्ने बारेमा अमेरिकाले काम गरिरहेको छ।’
यसअघि सो भ्रमणको बारेमा अन्यौल रहेको थियो। पछिल्ला केही महिना यता बेलायतमा सानातिना आतङ्ककारी हमलाहरु भइरहेका छन्।
ती हमलामा लण्डनका मेयरको क्षमताको प्रश्न राष्ट्रपति ट्रम्पले उठाएका छन्। जसका कारण लण्डनवासी मुस्लिम नागरिकमा उनीविरुद्ध आक्रोस जागेको देखिएको बताइएको थियो।
त्यसै कारणले राष्ट्रपति ट्रम्पले बेलायतको भ्रमण गर्न नचाहेको प्रश्न गर्ने गरिएको थियो। तर उनको शनिबारको यो अभिव्यक्तिपछि भने भ्रमण निश्चित प्राय भएको बताइएको छ। रासस/एएफपी