PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

सडक निर्माणलाई तीव्रता दिन सेनाले खडा गर्‍यो डोल्पाको धाउनेमा वेस क्याम्प



रासस

सडक निर्माणलाई तीव्रता दिन सेनाले खडा गर्‍यो डोल्पाको धाउनेमा वेस क्याम्प

डोल्पा : जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत खदाङ–त्रिपुराकोटखण्डको सडक निर्माण कार्यलाई तीव्रता दिन त्रिपुरा सुन्दरी नगरपालिकास्थित धाउनेमा नेपाली सेनाले नयाँ वेस क्याम्प खडा गरेको छ। 

दुनैसम्म एक वर्षभित्रै सडक सञ्जाल जोड्नका लागि जाजरकोट–डोल्पा सडकखण्डको १०० किलोमिटर धाउनेमा असार ११ गतेदेखि नयाँ वेस थप्दै २० वटा कम्प्रेसर मेसिनसहित निर्माणकार्यलाई युद्धस्तरमा अगाडि बडाइएको सडक निर्माणका कार्यदल प्रमुख विश्वबन्धु पहाडीले जानकारी दिए। 

कुल ११८ किलोमिटर सडकमध्ये १०९ किलोमिटर निर्माण भइसकेको र भिर, पहरायुक्त नौ किलोमटिर मात्रै बाँकी रहेको पहाडीले जानकारी दिए। बाँकी सबै सडकखण्डमा निर्माण कार्यलाई तीव्रता दिइएको उनले बताए। 

अहिले खदाङ–त्रिपुराकोट खण्डको धाउने, चुँगाड, चिप्ले, श्रीविन्डेलगायतको स्थानबाट दुईतर्फी रुपमा निर्माण सुरु गरेर दैनिक ४०० कामदार काममा खटिएको सेनाले जनाएको छ।

जाजरकोट–डोल्पा सडकले उत्तरमा चीनसँगको सिमाना मोरिम्ला भन्ज्याङ तथा दक्षिणमा सुर्खेतको छिन्चु हुँदै भारतसँगको रुपैहिडिया नाकासम्म जोड्ने भएकाले यस सडकलाई रणनीतिक महत्वको रुपमासमेत हेरिएको छ। 

गतवर्ष साउनमा रुकुम डोल्पा सिमान त्रिवेणी बजारसम्मको ७८ किलोमिटर सडक निर्माण सम्पन्न गरी सडक विभागलाई बुझाई सकिएको सेनाले जनाएको छ।

विगतमा यस क्षेत्रमा रहेको छिन्चु–जाजरकोट खण्डको सडक निर्माण सम्पन्न गरेर सडक विभागलाई बुझाएलगत्तै विश्व बैङ्कको सहयोगमा सडक विभागद्वारा कालोपत्रे एवम् पुल निर्माण कार्यलगायत स्तरोन्नति सम्पन्न भइसकेको छ। 

सोहीअनुसार योजनामा राखी डोल्पाको त्रिवेणीसम्मको ७८ किलोमिटर सडकखण्मा कालोपत्रे तथा बीचबीचमा स्तरोन्नतिको कार्य सरकारबाट यसै आर्थिक वर्षबाट सुरु गरियोस् भन्ने डोल्पाली जनताको अपेक्षा छ। 

हाल जाजरकोट–डोल्पा सडकखण्डका तल्नु, छेपारे, त्रिवेणी, राडीलगायत स्थानमा हलुका यातायातका साधन सञ्चालनमा ल्याइएको छ। यसबाट तीनै जिल्लाका सर्वसाधारणलाई प्रत्यक्ष रुपमा सुविधा पुगेको छ। 

डोल्पा दुनै जोड्ने राष्ट्रिय सडक सञ्जालका काम सेनाले अहोरात्र गरिरहेकाले वर्षौदेखिको मोटर चढ्ने सपना पूरा हुने भन्दै डोल्पालीमा उत्साह छाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell