PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

काङ्ग्रेस राजधानी विराटनगर महानगरमा काङ्ग्रेसकै राज, यसरी सम्भव भयो पराजुलीको जित



अनन्तराज न्यौपाने

काङ्ग्रेस राजधानी विराटनगर महानगरमा काङ्ग्रेसकै राज, यसरी सम्भव भयो पराजुलीको जित

विराटनगर : पहिलो चरणको निर्वाचनमा मुलुकका मुख्य २ महानगर काठमाडौं र पोखरामा पराजयको पीडा बोकेको नेपाली काङ्ग्रेसले विराटनगरको परिणामबाट शीतल अनुभव गरेको छ।

विराटनगर महानगरको प्रमुख र उपप्रमुखसहित ७ वटा वडाध्यक्षमा विजय हासिल गरेको काङ्ग्रेसलाई विराटनगरको परिणामले चित्त बुझाउने बाटो खुलेको हो।

निर्वाचन कार्यालयबाट शनिबार राति ११.४५ बजे घोषित मतगणनाको अन्तिम परिणामअनुसार काङ्ग्रेसका आकांक्षी भीम पराजुलीले ५ हजार ७ सय १० मतले एमालेका विनोद ढकाललाई पराजित गरेका छन्। पराजुलीले २३ हजार ३१ र ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा काङ्ग्रेसकै इन्दिरा कार्कीले २० हजार १ सय ४६ मत प्राप्त गरी विजय हासिल गरिन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नमिता न्यौपानेले ११ हजार ५ सय २४ मत ल्याइन् । यसप्रकार कार्कीले ८ हजार ६ सय २२ मतले अग्रता लिइन्।

विराटनगर महानगरमा जम्मा १९ वडा छन् । कुल १ लाख १३ हजार मतदातामा ८० हजारले मतदान गरेका थिए ।

काङ्ग्रेसले वडा नं. १, ३, ४, ७, ८, ९, र १६ नम्बर वडामा गरी ७ वटा वडाध्यक्ष जितेको छ । विजयी वडाध्यक्षमा क्रमशः उद्धव अर्याल, विनोद बस्नेत, देवेन्द्रराज पोखरेल, मधुबाबु तिवारी, निश्चल अर्याल, विश्वनाथ भगत र मनोज सुब्बा छन् ।

त्यस्तै मधेसी जनअधिकार फोरमले वडा नं. १२, १३, १४, १५, १७ र १८ गरी ६ वटा वडाध्यक्ष आफ्ना पोल्टामा पारेको छ । फोरमबाट विजयी वडाध्यक्षमा क्रमशः हीरालाल कामत, झरीलाल महतो, बलदेव यादव, असलाम आलम, समिम कमर मियाँ र सञ्जीवकुमार शाह छन् ।

एमाले समर्थकले वडा नं. २, ५ र ११ मा गरी ३ वटामा वडाध्यक्ष जिते । उनीहरू क्रमशः कुमार पोखरेल, मीनकुमार आचार्य र तीर्थेन्द्र न्यौपाने हुन् । माओवादी केन्द्रका विजय कामत वडा नं. ६ को वडाध्यक्षमा निर्वाचित भए ।

एमालेबाट विद्रोही भएर वडा नं. १० मा वडाध्यक्षमा प्रत्यासी भएका माधव वाग्ले र काङ्ग्रेसबाट विद्रोही भएर वडा नं. १९ मा वडाध्यक्षमा उठेका बद्री सरदारले पनि विजय हासिल गरे ।

काङ्ग्रेसको प्रतिष्ठाको विषय

यसअघि २ वटा महानगरमा चोट बोकेको काङ्ग्रेसले विराटनगरको चुनावलाई प्रतिष्ठाको विषय बनाएको थियो।

त्यसै पनि काङ्ग्रेसको जन्मथलो र राजधानीका रूपमा चिनिएको ऐतिहासिक विराटनगरमा पराजुलीको समूहलाई जिताउन पार्टीका सबै पक्ष एकजुट थिए।

प्रचार अभियानमा पार्टीका ४ केन्द्रीय सदस्य महेश आचार्य, डा. मीनेन्द्र रिजाल, डा. डिला सङ्ग्रौला र डा. शेखर कोइरालाले सक्रियता उल्लेखनीय थियो।
 
यसबाहेक पार्टीका जिल्ला सभापति डिगबहादुर लिम्बू तथा पूर्व सभापति एवम् सांसद्द्वय अशोक कोइराला र अमृत अर्यालको क्रियाशीलता पनि चर्चित थियो । सबैजसो नेताले विराटनगरमै आफ्नो ध्यान केन्द्रित गरेका थिए ।

किन आए निधि?

पार्टीले टिकट वितरण गर्दा मधेसी, मारवाडी, थारू, नेवार र मुस्लिम आदिको जातीय समीकरण मिलाउन नसकेको भन्दै चौतर्फी आलोचना भएको थियो । यसका कारण काङ्ग्रेसका अधिकांश वडाध्यक्षले पराजय भोग्नु प¥यो ।

चुनाव नजिकिँदै गर्दा केन्द्रीय सदस्य डा. शेखरले उल्लेखित समुदायका प्रतिष्ठित व्यक्तिका घरघर गएर टिकट वितरणमा गल्ती भएको स्वीकार गर्दै क्षमा याचना गरेर काङ्ग्रेसलाई जिताउन अनुरोध गरेका थिए।

तर कोइरालाको उक्त प्रयास निरर्थक देखिएपछि पार्टीले केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई विराटनगर पठाएको थियो।

मोरङको कमान्डर भई आएका केन्द्रीय सदस्य निधिले ७ दिन लगातार विराटनगर बसेर असन्तुष्ट पक्षलाई शान्त बनाउने प्रयास गरेका थिए ।

कसरी हारे विनोद ?  

एमालेका प्रत्यासी विनोद ढकाल महानगरको चुनावमा ‘हेभी वेट’ मानिए पनि अधिकांश वडामा उनले अन्तर्घातको सामना गर्नुप¥यो ।

एमालेले वडा नं. ३ को वडाध्यक्षको टिकट एमालेले राधा पोखरेललाई दिएको घोषणा गरेको थियो तर ३ दिनपछि रामबहादुर घिमिरेको नाममा निर्णय गरियो । त्यस्तै वडा नं. १० मा सर्वसम्मतिले वडाध्यक्षमा माधव वाग्लेको नाम गए पनि अर्जुन गिरीलाई टिकट दिइयो । 

विराटनगरको टिकट वितरणमा माधव नेपाल पक्षका भीम आचार्य र जीवन घिमिरे हाबी थिए । त्यसैले आचार्य र घिमिरेले  ओली पक्षका ढकालले हारून् भन्ने उद्देश्यले वडाध्यक्षको टिकट वितरण गरेको आरोप लगाइएको छ ।  

ढकालले आफ्नै पार्टीभित्रका नेतृ विमला घिमिरे वा सावित्रा रेग्मीमध्ये एकलाई उपप्रमुखमा टिकट दिने आश्वासन दिए पनि चुनावको पूर्व सन्ध्यामा लोकतान्त्रिक फोरमसित एकता गरेका थिए । यसका लागि पार्टीको नगर र जिल्ला कमिटीमा छलफल र निर्णय गरिएको थिएन । 

यसबाहेक लोकतान्त्रिक फोरमसित एमालेको तालमेल पनि फलदायी हुन सकेन । एमालेले उपप्रमुखमा तालमेल गरेका लोकतान्त्रिक फोरमका सूची चौधरीलाई पर्याप्त मतदान गरेको पाइएन । लोकतान्त्रिक फोरम समर्थकले पनि ढकाललाई भनेजस्तो साथ दिएनन् ।

त्यसै पनि मत सङ्ख्यामा कमजोर रहेको एमालेभित्र लोकतान्त्रिक फोरमसित तालमेल गरेपछि असन्तुष्टि चुलीमा पुग्यो । महेन्द्र मोरङ क्याम्पसमा २०३८ सालको स्ववियु चुनाव ताका अनेरास्ववियुका नेता फणीन्द्र तिम्सिनाको  ‘हत्याकाण्ड’लाई विनोदका विरोधी एमाले नेता–कार्यकर्ताले प्रशस्त उचाले । यस काण्डमा कर्तव्य ज्यानको अभियोग लागेका तत्कालीन विद्यार्थी नेता र हालका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले पञ्चायत कालमा सर्वोच्च अदालतबाट सफाइ पाएका थिए । 

फणीन्द्रको हत्याकाण्डलाई जोडेर विराटनगरका एमालेजन अहिले पनि गच्छदारलाई सहज रूपमा पचाउन सक्तैनन् ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell