PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

अवरुद्ध बेनी–जोमसोम सडक एकतर्फी रुपमा सञ्चालन



पहिलोपोस्ट

बेनी: कालीगण्डकी नदीमा आएको बहावले कटान गरेपछि बिहीबारदेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक शनिबार साँझदेखि खुलेको छ।

हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको अवरुद्ध भिरकाटे खण्डमा मर्मतपछि एकतर्फी रुपमा सञ्चालनमा आएको हो।

वर्षाका कारण कालीगण्डकी नदीमा आएको बहावले अन्नपूर्ण गाउँपालिका–६, भिरकाटेमा बेनी–जोमसोम सडकखण्डअन्तर्गतको अन्दाजी ३० मिटर सडक कटान गरेको थियो भने झन्डै १०० मिटर सडक प्रभावित बनाएको थियो। अवरुद्ध सडक खुलाउनका लागि जिल्लास्थित सुरक्षा निकाय र अन्नपूर्ण गाउँपालिकाले पहल गरेका थिए।

उनीहरुको पहलमा सडक विभागको डोजर, दानामा निर्माणाधीन सवस्टेसनका दुईवटा र घलेम्दीखोला जलविद्युत् आयोजनाको एकवटा ट्रिपर परिचालन गरी सडकको अस्थायी मर्मतपछि एकतर्फी रुपमा खुलाइएको छ। अवरुद्ध सडक खुलाउन स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, प्रहरी, यातायात व्यवसायीलगायतले प्रयास गरेका थिए।

डोजरको सहायतामा नदी र सडकको छेउछाउमा ठूलाठूला ढुङ्गा राखेर बाँध बानिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख क्याप्टेन डमबहादुर पुनले बताए। सडक सञ्चालनमा आएपछि भिरकाटेमा रोकिएका सानाठूला सबै सवारीसाधन पास गराइएको छ भने सिधा सडकको सम्बन्धविच्छेद भएको हिमाली जिल्ला मुस्ताङसँग पुनः सम्बन्ध जोडिएको छ।

 

सङ्गमचोकदेखि कालीगण्डकी जाने बाटो निर्माण

यसैगरी बेनी नगरपालिका–७ को सङ्गमचोकदेखि कालीगण्डकी नदीतर्फ जाने पक्की बाटो निर्माण भएको छ।

बेनी नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय बासिन्दाको सक्रियतामा १४२।५ फिट पिसिसी ढलान गरेर बाटो निर्माण गरिएको हो। नगरपालिकाको रु ९८ हजार अनुदान र उपभोक्ताको रु २० हजार २५२ बराबरको सहभागितामा बाटो निर्माण भएको उपभोक्ता समितिले जनाएको छ।

सवा छदेखि आठ फिट चौडाइ भएको बाटो निर्माण भएपछि सङ्गमचोकदेखि जेसिज भवन हुँदै कालीगण्डकीमा स्नानका लागि जाने भक्तजन र सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको उपभोक्ता समितिका अध्यक्ष सुरज श्रेष्ठले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell