
ह्यम्बर्गः विश्वका २० शक्ति राष्ट्रको संगठन जि२० को सम्मेलनमा जर्मनीको ह्याम्बर्गमा सम्पन्न भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सि चिनफिङ, जर्मन चान्सलर एन्जिला मार्केललगायतको बैठकमा सहभागिता रहेको थियो।
सम्मेलनमा विश्वमा जलवायु परिवर्तनको प्रभाव कमगर्ने सम्बन्धी सम्झौता, पेरिस सम्झौतामा अमेरिकाले अनुमोदन गर्न मानेन। विश्वका अरु १९ देशका कार्यकारी एवम् राज्य प्रमुखहरुले त्यसलाई एकमतले अनुमोदन गरेका छन्।
संगठनमा विश्वका २० वटा शक्ति सम्पन्न र धनी देशहरु अमेरिका, चीन, बेलायत, फ्रान्स, जर्मनी, रुस, भारतलगायत सदस्य छन्। यी नेताहरुले विशेषगरी विश्वको आर्थिक, सामाजिक, राजनीतिक र क्षेत्रीय अन्य एजेण्डाका बारेमा छलफल र कतिपय विषयमा सहमति पनि गरेका थिए।
विश्वमा जलवायु परिवर्तनको एजेण्डाका बारेमा पनि सम्मेलनमा कुराकानी भएको थियो। सोही बमोजिम सम्मेलनमा जलवायु परिवर्तन बारेको अर्को एजेण्डामा पनि छलफल भएको थियो।
पेरिसमा सम्पन्न भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा भएको पेरिस सम्झौतामा अमेरिकाले भने असहमति व्यक्त गर्दै आएको थियो। त्यसैले यस सम्झौताको अनुमोदनको एजेण्डमा अमेरिकाले असहमति नै प्रकट गर्यो।
त्यस सम्झौताले अघि सारेको हरित गृह प्रभाव कमगर्ने बारेमा विश्वका १९ देशका नेताहरुले भने प्रतिबद्धता जनाएका थिए। उनीहरुले विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्न उक्त सम्झौताले गरेको प्रतिबद्धता पूरागर्ने पक्षमा कामगर्ने बताएका थिए।
पेरिस सम्झौतामा विश्वमा आगामी दिनमा जलवायु परिवर्तनको प्रभाव कम गर्न हरित गृह प्रभाव घटाउने र विश्वको तापमान दुई डिग्री सेल्सियसभन्दा कम गरिराख्ने बारेमा व्यवस्था गरिएको छ।
साथै सम्मेलनमा विश्वका विभिन्न क्षेत्रीय आर्थिक एजेण्डाका बारेमा व्यापक मात्रामा छलफल भएको थियो। केही वर्षअघि विश्वमा देखिएको आर्थिक मन्दीको प्रभावका बारेमा पनि सम्मेलनमा छलफल भएको थियो।
यसैबीच, जर्मनीको ह्यामवर्गमा जि–२० सम्मेलन चलिरहँदा सहरका विभिन्न स्थानमा भने विरोधस्वरुप प्रदर्शनहरु गरिएका थिए। प्रदर्शन शान्तिपूर्ण भनिए पनि केही ठाउँमा सामान्य भडपका घटना भने भएका थिए।
प्रदर्शनमा समाजवादी समूह तथा कुर्दिस समूहका करिब २० हजार प्रदर्शनकारीले पूँजीवाद विरोधी नारा लगाउँदै र आफ्नो समूहका झण्डा फहराउँदै सहरका विभिन्न भागमा परिक्रमा गरेका थिए यस क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन्।
हाल जर्मनी जि२० को अध्यक्ष रहेको छ। अर्जेन्टिनाले आगामी डिसेम्बरदेखि सो संगठनको अध्यक्षता लिने छ। जि२०को अर्को सम्मेलन अर्जेन्टिनाले आगामी वर्ष आयोजना गर्ने भएको छ। रासस/एएफपी