PahiloPost

May 15, 2024 | २ जेठ २०८१

कुन वादमा बाँधिन्छन् -वीपी, पुष्पलाल र गजेन्द्रनारायणका चेलाहरु? (टिप्पणी)



रमेश वाग्ले

कुन वादमा बाँधिन्छन् -वीपी, पुष्पलाल र गजेन्द्रनारायणका चेलाहरु? (टिप्पणी)

काठमाडौंः मधेसको क्षेत्रीय राजनीति सुरु गरेर गठन भएका पार्टीहरु अहिले राष्ट्रिय दलको नाम दिएर एकीकृत भएका छन्।

तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेश सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी र फोरम गणतान्त्रिक मिलेर बनेको 'राष्ट्रिय जनता पार्टी, नेपाल' निर्वाचन आयोगको दर्ता प्रक्रियामा गएको छ। एकीकरणको धेरै समयपछि मात्र दर्ता प्रक्रियामा गएको राजपा निर्वाचन आयोग जानु अघि नै् फूटका संकेतहरु देखिएका थिए।

उपस्थिति तराई मधेसमा मात्र भएर पनि नाममा राष्ट्रिय राखेको दलले अहिलेसम्म  राष्ट्रिय हैसियत प्राप्त गरेको छैन। किनभने उसले राष्ट्रिय जनता पार्टी, नेपाल भनेर दर्ताका लागि दिएको निवेदन आजसम्म निर्वाचन आयोगले स्वीकृत गरिसकेको छैन। तर त्यो हैसियत प्राप्त गर्ने विषयमा नै राजपामा गम्भीर मतभेद देखिएका थिए।

असार २१ गते दल दर्ताका लागि अन्तिम तयारी गरेर बोलाइएको बैठक अध्यक्ष मण्डलका नेता अनिलकुमार झाको गजेन्द्र नारायण सिंहको नाम विधानको प्रस्तावनामा राख्नुपर्ने अडानका कारण टरेको थियो। दुई दिन पछिसम्म पनि झा सहमत नभएपछि राजपा नेताहरुले दर्ता प्रक्रिया तत्काललाई टरेको प्रतिक्रिया दिएका थिए। त्यसको दुई दिनपछि झासहितका नेताहरु निर्वाचन आयोग पुगेर प्रस्तावनामा गजेन्द्रनारायण उल्लेख नगरी दर्ताका लागि निवेदन दिए।

‘अनिल झाजीलाई हामीले पटक-पटक विधानमा नेताको नाम हुँदैन, घोषणा पत्रमा राखिएकै छ भनेर सम्झायौ,’ अध्यक्षमण्डलकै एक नेता भन्छन्, उहाँ गजेन्द्रनारायण लेख्नैपर्छ भन्ने अडानमा अडिनुभयो। हामीसँग सहमत नै हुनुभएन। हामीले त उहाँ अब आउनुहुन्न भन्ने ठानेका थियौ, फेरि उहाँ त्यही कुरामा सहमत भएर दर्ता गरौँ भन्दै आउनुभयो।’    

यसअघि दुई नम्बर प्रदेशमा मात्र निर्वाचन सार्ने सरकारको निर्णयको विरोधमा संसद नै छोडेर आन्दोलनमा जाने विषयमा राजेन्द्र महतो पनि अहिले अनिल झाकै अवस्थामा थिए। उनले सरकारसँग हुने वार्तामा समेत आफू उपस्थित नहुने भन्दै बहिस्कार गरे र आन्दोलनका लागि मधेश झरे। पछि महन्थ ठाकुर र शरतसिंह भण्डारीले प्रधानमन्त्रीसँग वार्ता गरेपछि त्यसलाई माने पनि बाहिर नमाने झै राजनीतिक 'स्टन्ट' का लागि आन्दोलनका कार्यक्रम घोषणा गरे, र नरम आन्दोलन गर्दै स्वतन्त्र रुपमा निर्वाचनमा भागसमेत लिएका थिए। 

राजपा अध्यक्ष मण्डलमा देखिने यी मतभेदहरु वा कार्यशैली र निर्णय प्रक्रियाका मात्र नभएर ‘स्कुल अफ थट’ कै मतभेद पनि हो। बीपीको छत्रछायाँमा प्रजातान्त्रिक संस्कारमा हुर्किएका महन्थ ठाकुर, कांग्रेसकै सन्त नेता कृष्णप्रसाद भट्टराईको नजिक भएर राजनीतिमा धेरै उपलब्धि हासिल गरेका शरतसिंह भण्डारी, पुष्पलालको प्रशिक्षणमा कम्युनिष्ट 'आइडोलोजी'बाट हुर्किएका महेन्द्र राय अनि कांग्रेस छोडेर क्षेत्रीय राजनीतिको बिउ रोपेका गजेन्द्र नारायणका  को असली चेला भन्दै लडिरहेका राजेन्द्र महतो र अनिलकुमार झा र यी सबैभन्दा पछिका जता पनि फिट हुने राजकिशोर यादव। कता प्रजातन्त्रिक समाजवाद  -कहाँ साम्यवाद ! कहाँ राष्ट्रियता- कहाँ क्षेत्रीयता !

तिनै फरक सोच भएकाहरुलाई सामूहिक हिँड्न समयले नै दवाव दियो वा अरु कुनै शक्तिले त्यो त उनीहरुलाई नै थाहा होला। तर सहयात्रा किन सहज छैन भने राजनीतिमा हावी हुने विचारधारा नैं अलग-अलग भएकाले वैचारिक एकताको आधार नै कमजोर छ।

हिजो वेदानन्द झाले कांग्रेस छोडेर तराई कांग्रेस सुरु गर्दा महन्थ ठाकुरले क्षेत्रीय राजनीति गर्न हुन्न भनेर वेदानन्द नातेदार हुँदाहुँदै पनि साथ दिन सकेनन्। त्यसको करिब ५६ वर्षमा समयले उनलाई त्यही राजनीतिमा पुर्‍यायो। तर उनी अहिले पनि गजेन्द्र नारायण वा वेदानन्दलाई नभएर बीपीलाई नै आफ्नो नेता मान्छन्। पार्टी भित्रको बहसमा उनी बीपीकै नाम लिन्छन्। 

अर्का नेता महेन्द्र यादव जो पुष्पलालका चेला हुन्। उनी बीपी वा गजेन्द्र नारायण भन्दा पुष्पलाल, मनमोहन र मदन भण्डारीलाई आदर्श ठान्छन्। उनले कम्युनिष्ट भित्रकै कुरा गर्छन उनको भाषाशैली समेत अरुको भन्दा खरो हुन्छ। वैचारिक खरोपन मात्र हैन सांगठनिक अनुशासनमा समेत उनको त्यही शैली देखिन्छ।  

शरतसिंह भण्डारी, बीपी, गणेशमान र कृष्णप्रसाद मात्र हैन गिरिजाप्रसादसम्मलाई सम्मान गर्छन्। नेविसंघको आफ्नो पृष्ठभूमिप्रति गर्व गर्छन् र गौरवका गाथा सुनाउनुपर्‍यो भने विद्यार्थी आन्दोलनका सहिदहरु रामलक्ष्मणको नाम लिन्छन्। त्यसैले अहिले राजपामा उनी महन्थसँग निकट भएर काम गरिरहेका छन्। 

राजेन्द्र महतो र अनिल कुमार झा, जो गजेन्द्र नारायण सिंहले सुरुमा सद्भावना परिषद नामको एनजिओ दर्ता गरेर ४८ सालदेखि पार्टीको रुप दिएको सद्भावना पार्टीलाई पटक-पटक फुटाएर आफू अनुकूल बनाउने मध्येका पात्र हुन्। गजेन्द्र नारायण सिंहको मृत्युपछि उनकी श्रीमती आनन्दीदेवीको नाम जोडेर भएपनि राजनीतिलाई भजाउने यी पात्र मध्ये राजेन्द्र अलिक ज्यादा सांगठनिक पहुँचमा छन्।

मधेसमा फोरमको राजनीति धपक्कै बलेका बेला राजनीति सुरु गरेका राजकिशोर त्यही दललाई फुटाएको पुरस्कार स्वरुप कम उमेरमै मन्त्री भइसकेका छ्न्। उनलाई आदर्श र वाद भन्दा पनि अवसर प्यारो छ। त्यही कारण उनी राजपामा अहिले राजेन्द्र महतोसँग मिलेर काम गरिरहेका छन्। उनी कुन अवसरबाट प्रभावित भएर कतातर्फ लाग्छन् कुनै ठेगान छैन। 

यी पात्रहरुको एकताको आधार कति मजबुत होला ? उनीहरुको विगत नै आफै बकिरहेको छ।

यी यथार्थ हुँदा हुँदै पनि समता भन्ने सद्भावना, समाजवाद भन्ने महेन्द्रको तमसपा, लोकतान्त्रिक समाजवाद भन्ने महन्थको तमलोपा। एकता पछि महन्थकै शव्द 'लोकतान्त्रिक समाजवाद' विधानको प्रस्तावनामा परेको छ। जुन वीपीले सुरु गरेको कांग्रेससँग ठ्याक्कै मिल्ने भाइ कांग्रेसका रुपमा स्थापित भएको छ। 

यसलाई जोड्न नाममा 'राष्ट्रिय' झुण्ड्याए पनि दलको मुद्दा त्यही क्षेत्रीयता अर्थात मधेश मुद्दा नै हो। त्यस बाहेक राजनीतिक दल सम्बन्धि ऐनले ल्याएको थ्रेसहोल्डको बाध्यता पनि अर्को पाटो हो। त्यसले कति समय थेग्न सक्छ र एकता कायम हुन सक्छ त्यो अबका दिनहरुले देखाउने नै छन्।

माओवादी छोडेर वादविहीन राजनीति हुन्छ भन्ने बहससहित निस्किएका डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति यस पटकको स्थानीय तहको निर्वाचनमा खास जमेको देखिएन। अब हेरौँ विपरितहरुको एकताले 'राजपा' कत्तिको जम्नेवाला छ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell