
काठमाडौं : श्रममन्त्री फरमुल्ला मन्सुरले रोजगारीका नयाँ गन्तव्यकाबारेमा मन्त्रालयले पहल गरिरहेको बताएका छन्।
व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मन्सुरले मुलुकमा पर्याप्त रोजगारीको व्यवस्था हुन नसक्दा कामका लागि विभिन्न मुलुकमा २२ लाख नेपाली रहेका र त्यसमध्ये ९० प्रतिशत मध्यपूर्वी मुलुकमा मात्र रहेको जानकारी दिँदै आकर्षक रोजागारीका लागि नयाँ गन्तव्यका बारेमा मन्त्रालयकातर्फबाट पहल भइरहेको बताए।
उनले वैदेशिक रोजागारीबाट प्राप्त विप्रेषणले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २९.६ प्रतिशत योगदान पुर्याए पनि प्राप्त रकम उत्पादनशील क्षेत्रमा उपयोग हुन नसकेको बताए।
मन्त्री मन्सुरले मन्त्रालयले विदेशमा जाने व्यक्तिलाई सीपमूलक तालिम दिने योजना अघि सारेको बताउँदै वैदेशिक रोजगारीका पीडितका उजुरीमाथि आवश्यक छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरिएको पनि जानकारी दिए।
बैठकमा सहरी विकासमन्त्री प्रभु साहले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै काठमाडौँ मात्र नभई देशका प्रमुख सहरलाई आधुनिक र सुविधासम्पन्न बनाउन गुरुयोजना बनाई कार्यान्वयन गर्न मन्त्रालयले पहल सुरु गरेको जानकारी दिए।
आजको बैठकमा सहरी विकास, गृह, श्रम तथा रोजगार, अर्थ, शिक्षा, कानून, न्याय तथा संसदीय मामिला, परराष्ट्र र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीले जवाफ दिने कार्यसूची छ। बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रम जारी छ। विनियोजन विधेयकअन्तर्गत मन्त्रालयको शीर्षकमाथिको छलफल असार २० गतेदेखि सुरु भएको थियो। रासस