PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

नेपाल यू-१९ को भारत भ्रमण : अभ्यास खेलमा लगातार तेस्रो जित



पहिलोपोस्ट

नेपाल यू-१९ को भारत भ्रमण : अभ्यास खेलमा लगातार तेस्रो जित
फोटो : रमन शिवाकोटी

काठमाडौं : आइसीसी यू-१९ विश्वकप क्रिकेटको एसियन जोनल छनोटको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली यू-१९ क्रिकेट टोलीले अभ्यास खेलमा लगातार तेस्रो जित हासिल गरेको छ।

आइतबार भारतको ग्रेटर नोएडामा भएको अभ्यास खेलमा नेपाल यू-१९ टोलीले आरपी सिंह एकेडेमीलाई ६० रनले पराजित गरेको हो।

१ सय ७७ रनको लक्ष्य पछ्याएको घरेलु टोलुलाई १ सय १६ रनमै अलआउट गर्दै नेपाल विजयी भएको हो।

शाहिद विजय पथिक स्पोर्ट्स कम्प्लेक्समा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै १० विकेट गुमाएर १ सय ७६ रन बनाएका थियो। अघिल्ला दुई खेलमा कमजोर टिम विरुद्ध उच्च स्कोर बनाएको नेपालले आरपी सिंह एकेडेमी विरुद्ध भने २ सय रन पनि पूरा गर्न सकेन।

नेपालका लागि ओपनर सन्दीप सुनारले सर्वाधिक ४६ रन बनाए। यस्तै दीपेन्द्र सिंह ऐरीले ३९, प्रनित थापा मगरले ३३, आसिफ शेखले १४ तथा प्रकाश केसीले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

आरपी सिंह एकेडेमीका लागि हर्षित शेठीले सर्वाधिक ४ तथा सन्जिव चतुर्वेदीले २ विकेट लिए।

आइपिएलमा किंग्स एलेभेन पञ्जावबाट खेलेका अनुरित सिंहले ५ ओभर बलिङ गर्दै २ मेडन राखेर १६ रन दिएपनि कुनै विकेट लिन सकेनन्।

जवाफमा १ सय ७७ रनको लक्ष्य पछ्याएको आरपी सिंह एकेडेमी ३२.५ ओभरमा १ सय १६ रनमा अलआउट भयो।

आरपी सिंह एकेडेमीङ्का लागि ओपनर उत्कर्ष सिंहले २८ तथा बबी यादवले २६ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्।  उसलाई अलआउट गर्न नेपालका पवन सराफ र शहाब आलमले ३-३ तथा सन्दीप लामिछानेले २ विकेट लिए। रिजन ढकाल र ललित नारायण राजवंशीले समान १ विकेट झारे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell