
काठमाडौं : शिक्षासेवी एवम् पूर्वीय दर्शनका अन्वेषक डा रामानन्द गिरीको पार्थिव शरीरलाई सन्त परम्पराअनुसार आज देवघाटस्थित नारायणी नदीमा जल समाधिस्थ गरिएको छ।
निमोनिया रोगबाट पीडित ७१ वर्षीय गिरीको शनिबार पशुपतिस्थित शङ्कराचार्य मठमा निधन भएको थियो। कास्कीको पुरन्चौरमा १२ दिनअघि प्रवचनका क्रममा स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि राजधानीस्थित ग्राण्डी अस्पतालमा ल्याई भर्ना गरिएको थियो।
उपचारका क्रममा चिकित्सकले स्वास्थ्यमा सुधार नआउने बताएपछि शनिबार बेलुकी पशुपति मन्दिर परिसरमा रहेको शङ्कराचार्य मठमा राखिएको र उनले त्यहीँ प्राण त्यागेका निकट सहयोगी कृष्ण आचार्यले जानकारी दिए। शनिबार बेलुकी मठमा उनका चेला, शुभेच्छुकलगायत सर्वसाधारणको अन्तिम श्रद्धाञ्जली दिन भीड लागेको थियो।
शनिबार राति नै गिरीको पार्थिव शरीरलाई देवघाट लगी आज सन्त परम्पराअनुसार देवघाटस्थित नारायणी नदीको जलमा अन्त्येष्टि गरिएको महेश संस्कृत विद्यापीठका प्राचार्य गुरुप्रसाद सुवेदीले जानकारी दिए।
उनले भने,‘काठको विशेष बाकसमा गिरीको पार्थिव शरीरलाई राखी नदीको गहिरो भागमा छोडिएको छ।’। गिरीले प्रसिद्ध धार्मिकस्थल देवघाटमा विसं २०५० मा महेश सन्न्यास आश्रम एवम् महेश संस्कृत गुरुकुल स्थापना गरी कक्षा ६ देखि स्नातकोत्तर (आचार्य) तहसम्म निःशुल्क आवासीय सुविधासहित अध्यापनको व्यवस्था मिलाएका छन्।
नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त महेश संस्कृत विद्यापीठ अहिले विश्वविद्यालयकै उत्कृष्ट विद्यापीठमध्येमा गनिन्छ।
गुरुकुल र विद्यापीठमा गरी हाल ३०० भन्दा बढी विद्यार्थीले यहाँ अध्ययन गरिरहेका छन्। धादिङको केवलपुर गाउँमा विसं २००३ भदौ १० गते जन्मिएका रामप्रसाद सुवेदी विसं २०४७ मा गुरु स्वामी महेशानन्द गिरीबाट दीक्षा लिई रामानन्द गिरीका नामले प्रख्यात भएका थिए।
उनले विसं २०३० मा त्रिभुवन विश्वविद्यालयबाट शाङ्करवेदान्त विषयमा स्नातकोत्तर (आचार्य) गरेका थिए।
‘राजर्षि जनकका विदेह सिद्धान्तहरुको समीक्षात्मक अध्ययन’ विषयमा डा गिरीले विसं २०४१ मा त्रिभुवन विश्वविद्यालयबाटै विद्यावारिधि गरेका थिए।
उनको ‘रुद्राष्टाध्यायी’ पूजाविधि एवम् नेपाली भावानुवचनसहित, ‘माण्डुक्योपनिषद्’मा नेपाली अनुवाद एवम् विशेष व्याख्या, श्रीमद्भागवत् महापुराणको नेपाली व्याख्या आठ भागमा प्रकाशित छन्।
गिरीले नेपाली भाषामा व्याख्या गरेको भागवत् महापुराण अहिलेसम्मकै नेपाली अनुवादमा सबैभन्दा राम्रो भएको नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक श्रीराम सापकोटाले बताए।
यसैगरी, डा गिरीका रामगीता, देवीगीता, दुर्गासप्तशती, श्रीमद्भगवद्गीता, श्रीशिवमहिम्नः स्तोत्रम्, श्रीदक्षिणामूर्ति स्तोत्रम्, ईशादि दश उपनिषद्लगायत २० वटाभन्दा बढी पुस्तकका नेपाली अनुवाद प्रकाशित छन्।
उनले आधुनिक नेपालको गुरुकुल एवम् संस्कृत शिक्षा पद्धतिमा महत्वपूर्ण योगदान दिएको बताउँछन् संस्कृत विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेका प्रा डा दीर्घराज घिमिरे।
गिरीले तनहुँको देवघाट, अम्बरेश्वर सन्यास आश्रम कास्की, झापा, बनेपालगायत स्थानमा आश्रम स्थापना गरेका छन्। उनी पशुपतिस्थित शङ्कराचार्य मठको संरक्षक थिए। मानिसलाई आध्यात्मिक ज्ञान प्रदान गर्नुलाई गिरीले आफ्नो जीवनको प्रमुख उद्देश्य बनाएका थिए। रासस