PahiloPost

May 15, 2024 | २ जेठ २०८१

खाएको भाँडा माझ्न नमानेको भन्दै दलितलाई लाठीले कुटेर मरणासन्न 



चन्द्रकान्त खनाल

खाएको भाँडा माझ्न नमानेको भन्दै दलितलाई लाठीले कुटेर मरणासन्न 

रुपन्देही : मुसिकोट नगरपालिका वडा नम्वर–४ साविकको बडागाउँ हलोगाडेको एक पसलमा खाना खाएको भाँडा माझ्न नमानेको र मदिरा सेवन गरी पसलभित्र पिसाब फेरि दिएको आरोपमा त्यहाँका एक जना दलितलाई लाठीले कुटेर मरणासन्न बनाइएको छ। 

वडाका बासिन्दा ४२ वर्षीय कर्णबहादुर सार्कीलाई हलोगाडे बजारमा किराना पसलसँगै घरेलु मदिरा बेच्दै आएका टेकबहादुर कार्कीकी श्रीमति शोभा कार्की र उनका छोरा कृष्ण कार्कीले मरणासन्न हुने गरी कुटपिट गरेको भन्दै आज जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ।

पसलमा खाएको भाँडा नमाझेको र पिसाब समेत फेरेको आरोपमा कुटपिट गरिएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका असई सत्यनारायण यादवले बताए। निर्घात कुटिएका सार्कीको अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ। 

उनको टाउकोमा घाउहरु छन्। आँखामा रगत जमेको छ। ढाडमा लाठीका निलडाम रहेका छन्। बायाँ पट्टीको सातौँ नम्बरको करङ्ग समेत भाँचिएको उनको उपचारमा संलग्न डाक्टर सुरेन्द्र रायमाझीले बताए। 

पीडित के भन्छन्? 

म चामल लिन भनेर उनीहरुको पसलमा गएको थिएँ। एक गिलास जति रक्सी खाएर जान्छु भनेर खान थालेँ। खाँदै जाँदा तीन गिलास खाएछु। त्यो रक्सी खाएको भाँडा माझेर घर जा भन्नुभयो। रक्सीको बेला मैले अलि अटेर गरे जस्तो गरेछु। त्यसपछि माझेर जान्छु भनेर भाँडा माझ्ने ठाउँतिर पसेँ। 

रक्सी अलि लागेको थियो। म भाँडा माझ्ने ठाउँमा लड्न पुगेँ र पानी भएको भाँडो मेरो शरीर भरी पर्‍यो र म पनि भिजेँ।  भूईँभरी पनि पानी भयो। साहुनी शोभाले त्यसैबेला भूईँमा पिसाब फेर्‍यो भन्ने बहाना बनाएर कुट्दै बाहिर निकाल्नु भएको हो। 

त्यसपछि मेरी श्रीमति आएर थप कुटाई खाने डरले ओमबहादुर सिंहको घरमा ल्याएर सुताइन्। त्यही घरमा सुतिरहेको बेला उनका छोरा कृष्ण खोज्दै आएर एकाएक लाठी वर्षाएपछि म बेहोस भएर ढलेको हुँ। 

यसो भन्छिन् उनकी श्रीमति

यदि पिसाब फेरेकै भए लिपी दिन्छु भनेकै थिएँ। उनैका पसलमा  रक्सीले टिल्ल पर्नुभएका मान्छेलाई नकुट्नुस भनेर हात जोड्दा पनि हानेको हान्यै गरे। ओमबहादुर सिंहको घरमा रोक्न खोज्नेलाई पनि दिइएन। त्यहाँका पसल होटलहरुलाई हामी दलितले खाएको भाँडा नमाझ्ने हो भने त बाँच्नु छैन। सँधै माझ्दै आएका थियौं।  उहाँले पनि माझ्नु हुन्थ्यो होला तर रक्सी लागेर होला लड्नु भएछ। 


स्थानीय दलित महिला प्रतिनिधि मीरा विश्वकर्मा

त्यहाँका होटल पसलमा सँधै त्यस्तै हो। भाँडा त अनिवार्य माझ्नु पर्छ। दमन र अत्याचार त सहँदै आएका थियौं। तर हिजो गोरु चुटे झैं चुटेर बेहोस बनाउँदा स्टेचरमा हालेर अस्पतालमा लैजान समेत अवरोध गरियो। त्यसरी कुट्न नहुने भनेर आवाज उठाउँदा म आफूको समेत घरमा गएर हातपातको प्रयास गरियो।  म कांग्रेसबाट दलित महिला उम्मेदवार रहेको र उहाँले कांग्रेसमा भोट हालेको रिससमेत साँधियो। यति ठूलो घटनालाई पनि त्यहाँ उनीहरुका पक्षधरले सामान्य घटना ठानेका छन् र उल्टै झुटा आरोप लगाएर उनै पिटाई खाने मान्छेकै गल्ती देखाउने तानाबुना बुनिँदैछ।

घटना खेदजनक छः कांग्रेस प्रतिनिधि 

स्थानीय नेपाली कांग्रेसका प्रतिनिधी केशव सिंह ठकुरीले यो जमानामा पनि होटल पसलहरुमा दलितहरुलाई भाँडा माझ्न लगाउनु र झन् त्यसरी पिट्नु खेदजनक भएको प्रतिकृया दिए। त्यसमाथि बेहोस भएर लडेको मान्छेलाई उनका आफन्तले उपचार गर्न लैजान खोज्दा धेरै अरु मान्छे जुटेर घेराउ गरेको समेत आफूले जानकारी पाएको उनले बताए। 

एमाले प्रतिनिधिको बचाउ 

नेकपा एमालेका स्थानीय प्रतिनिधी तथा त्यस वडामा नवनिर्वाचित वडाध्यक्ष ओमबहादुर केसीले भने कुटपिटको आरोप लागेका ती दुई आमा छोराको बचाउ गर्ने भाषा प्रयोग गरे। उनले भने– ‘दलितहरुले पनि आफ्नो व्यवहार सुधार गर्न जरुरी छ। बढी रक्सी पिएर जथाभावी बोल्न हुँदैन्थ्यो। म तिनै कार्की परिवारको घरमा बुझेर आएँ। त्यसरी कांग्रेसजनले उचाले जस्तो गरी कुटेको होइन रहेछ। हप्काएर घर पठाएको रहेछ। पछि बाटोमा लडेर घाइते भएको भन्ने सुनेको छु। दलित भनेर हुन्छ र ? व्यवहार पनि त राम्रो हुनु पर्‍यो नि। 

 आरोपितहरुको जिकिर 

‘हामी कहाँ रक्सी किनेर खाएको होइन। अन्यत्रैबाट रक्सीले टिल्ल परेर आएको थियो। उसको दाजु हामी कहाँ बसेर रक्सी पिउँदै थिए।  उनैले दिएको रक्सी पिएर जथाभावी बोल्दै थियो। भाँडा माझ्न लगाएको होइन। आफू माझ्न जाँदा भाँडा पल्टाई दिने गरेपछि हप्काएर मात्रै पठाएको हो’ आरोपित शोभा कार्कीले भनिन्, ‘त्यसपछि यहाँका केही मान्छेहरुले बढाई चढाई गरेर केस ठूलो बनाउन खोजेका हुन्।‘ 

‘मैले लाठीले हानेको होइन, धकेलेको मात्रै हुँ। मलाई झुटो आरोप लगाएका हुन्’, उनका छोरा कृष्णले भने, ‘तपाईँहरुलाई जे सुनाइएको छ, त्यो गलत हो।‘ 


लाठी खाए/नखाएको तस्वीर आफै बोल्छ 

नवनिर्वाचित त्यस वडाका अध्यक्ष केसी र कार्की आमा छोराले भने झैं सार्की साँच्चै लडेरै त्यस्तो घाइते भए होलान्? तस्वीर आफै बोल्छ । उनको ढाडमा आज दोश्रो दिनसम्म पनि लाठीका निला डामहरु छन्। आँखमा रगत जमेको छ। मुक्का प्रहार भएको रक्ताम्य आँखा, टाउको, खुट्टा र शरीरका अन्य चोटहरुले देखाउँछ। 

त्यहाँ बहुदल आएपश्चात् पनि कुर्घाका एक जना दलितलाई अन्य जातिसँग गैर दलित बनेर विवाहको भोज खान गएकोमा लघार्दै ढुङ्गाले हान्दै मारिएको दलित अधिकारकर्मीहरु बताउँछन्। तर सबै प्रमाणहरु नष्ट गर्दै उनलाई लडेर मरेको भन्ने पारिएको थियो। अहिले डेढ दशकपछि पनि त्यस्तै प्रकृतिको घटना दोहराउन खोजिएको दलित अधिकारकर्मीहरुको टिप्पणी छ।  

एमाले निकट  उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य कृष्ण विश्वकर्माले यस घटनालाई आफूहरुले गम्भीर रुपमा लिएको र सबै दलका अधिकारकर्मी जुटेर कार्वाहीको लागि सम्वन्धित निकायलाई घच्घचाउने बताए। 

स्मरण रहोस् बहुदलीय प्रजातन्त्र पुनर्स्थापना पश्चात् पनि त्यसै गाविसको मैदानमा चिया पसलमा  खाएको भाँडा नमाझेकै कारण बाटो हिँडिरहेका हालको वडा नम्वर ३ का बाबुराम सुनारलाई बाटो कुरेर बसेका केही युवाहरुले निर्घात कुटेका थिए। पछि अदालतमा मुद्दा परेपछि उनीहरुलाई माफी मगाइएको थियो।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell