PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

भरतपुर प्रकरणः च्यातिएका मतपत्रको पोको आज खोलिएला?



पहिलोपोस्ट

भरतपुर प्रकरणः च्यातिएका मतपत्रको पोको आज खोलिएला?

काठमाडौँ: भरतपुर वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा आज सर्वोच्चमा बहस हुँदैछ। गत शुक्रबार न्यायाधीशले हेर्न नभ्याउने सूचीमा राख्दै आज मुद्दाको पेसी तोकिएको थियो।

न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा मुद्दाको पेसी तोकिएको छ। पेसी सूचीमा मुद्दा तेस्रो नम्बरमा छ । पहिलोमा अपहरण तथा शरीर बन्धक मुद्दामा बकपत्र र दोस्रोमा कर्तव्य ज्यान मुद्दाको साधक जाँच्ने सूचीमा छ।

अदालतको असार ६ गतेको आदेश अनुार वडा नम्बर १९ मा च्यातिएका ९० थान मतपत्र पनि सर्वोच्चको इजलासमा आज खुल्नेछन्। असार १३ गते च्यातिएका मतपत्र भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वोच्चमा पेस गरेको थियो।

आदेश अनुसार च्यातिएका मतपत्र सर्वोच्चमा पेस भएका हुन्। मतपत्रसँगै जिल्ला अदालत चितवनमा मतपत्र च्यात्नेविरुद्ध अदालतमा चलाइएको मुद्दाको मिसिल पनि सर्वोच्चको इजलासमा आज पेस हुनेछ।

घटनापछिको प्रहरी सञ्चारको प्रतिलिपी, मतगणना स्थगित गर्ने मुख्य निर्वाचन अधिकृतको निर्णय र पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको सक्कल पनि अदालतमा आज पेस हुनेछ।

च्यातिएका मतपत्र लगायतका प्रमाण सुरक्षाकर्मीको रोहबरमा चितवनबाट काठमाडौँ ल्याइएको थियो। महान्यायाधिवक्ता कार्यालयको समन्वयमा प्रमाण अदालतमा पेस भएका हुन्।

जेठ १४ गते मध्यरातमा मतगणना जारी रहेको बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित छ। भरतपुरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भइसेको छ। मतपत्र च्यातिएको वडा १९ को मतगणना पनि अन्तिम चरणमा थियो।

मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो। पुनः मतदानको निर्णयविरुद्ध एमालेका वडा नम्बर १९ का वडा सदस्य उम्मेदवार समेत रहेका गुन्जमान बिकले सर्वोच्चमा रिट दायर गरेका थिए।

अदालतले यसअघि जेठ २२ गते अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो। उक्त अन्तरकालीन आदेशले निरन्तरता पाए पुनः मतदान गर्ने आयोगको निर्णय रोकिनेछ। अन्तरकालीन आदेश बदर भएमा भरतपुर १९ पुनः मतदान हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell