42.jpg)
काठमाडौं : योनेक्स सनराईज छैटौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा जुनियर खेलाडीहरुको दवदवा कायमै राखेका छन्।
प्रतियोगिताको दोश्रो दिन पनि विना वरियताका जुनियर खेलाडी प्रफुल महर्जनले सातौ वरियताका संजीव खड्कालाई पराजित गरे। यसै जुलाई महिनामा ईन्डोनेसियामा हुने एसियन जुनियर च्याम्पियनसिपको तयारीमा रहेका नेपाली सेनाका खेलाडी महर्जनले पुरुष एकलको प्रतिस्पर्धामा कैलालीका खड्कालाई २१-१५, २१-१७ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए।
प्रतियोगिताको पहिलो दिन पनि विना वरियताका सेनाका पविन लिन्थेपले छैटौं वरियताका पुलिसका खेलाडी दीपक बोहरालाई स्तब्ध पारेका थिए।
सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा भएको प्रतियोगितमा महर्जनले ब्वाईज यू-१७ मा पनि जित हासिल गरे। उनले जेष्ट ब्याडमिन्टनका बरुण क्षेत्रीलाई २१-९, २१-८ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए ।
पुरुष एकलको अन्य खेलमा पूर्व विजेता नेपाली सेनाका रत्नजित तामाङले अविजित यात्रालाई कायमै राखेका छन्। उनले दोश्रो दिनको खेलमा नेपालगंज ब्याडमिन्टन क्लबका सरोज अन्सारीलाई २१-१०, २१-७ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरे।
परफेक्ट फिटनेशका जिवन आचार्य सेनाका पविन लिनथेपलाई १६-२१, २१-१२,२१-११ ले पराजित गरे अन्तिम आठमा प्रवेश गरे।
यस्तै पुलिसका बिष्णु कटुवालले सेनाका रुकेश महर्जनलाई २१-१४, १६-२१, २१-१३, एपीएफका सुदीप सेंढाईले एपीएफकै विजित थापा मगरलाई २१-१६, २१-१९, सेनाका नविन श्रेष्ठले नेपालगंजका ईरफान अन्सारीलाई २१-९, २१-१४, एपीएफका साजन कृष्ण ताम्राकारले परफेक्टका निर विक्रम देवकोटालाई २१-१९, १८-२१, २१-१३ र पुलिसका दीपेश धामीले सेनाका दिलेन्द्र पुनलाई २१-६, २१-१० ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरे।
महिला एकलतर्फ बाँकेकी संझना शर्मा र सेनाकी रसिला महर्जन अन्तिम आठमा प्रवेश गरेका छन्। संझनाले जेष्ट ब्याडमिन्टनकी सिता राईलाई २१-१५, २३-२५, २१-१७ र रसिलाले जेष्टकै जेशिका गुरुङ्गलाई २१-१५, २१-१९ ले पराजित गरे।
पुरुष जोडी तर्फको खेलमा सेनाका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडी, एपीएफका सुदीप सेंढाई र नेपालगंजका ईरफान अन्सारीको जोडी, एपीएफका सुमन लिम्बु र विजित थापा मगर तथा विमल श्रेष्ठ र बिशाल प्रधानको जोडी, पुलिसका बिष्णु कटुवाल र दिपेश धामी तथा दीपक बोहरा र गौतम कठायतको जोडी, पर्फेक्टका जीवन आचार्य र निर विक्रम देवकोटा तथा ललितपुरका ससिन डङ्गोल र दिपेश शाक्यको जोडी पनि अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन्।
ब्वाईज यु–१७ एकलतर्फको खेलमा जेष्टका चिरन बिष्ट, कैलालीका देवराज राना, सेनाका पविन लिनथेप, रिजन महर्जन र रुकेश महर्जन, नेपालगंजका शिव थापा तथा ईटहरीका विकास खड्काले पनि आ–आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरे।
यस्तै गर्ल्स यू-१५ एकलमा विराट ब्याडमिन्टन क्लबकी निता लम्साल, सूर्खेतकी सामना भट्टराई र अग्रीमा भण्डारी पनि अन्तिम आठ प्रवेश गरे।