
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक प्रक्रियामा अगाडि बढाइने बताएका छन्।
पार्टीको संसदीय बोर्डको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय हितका लागि पनि सो विधेयक अगाडि बढाइने बताए।
अध्यक्ष प्रचण्डले भने,‘संविधानको दायरा फराकिलो पार्ने र राष्ट्रिय एकता सुदृढ गर्ने हाम्रो उद्देश्य हो, त्यसैले अघिल्लो सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक अब प्रक्रियामा अगाडि बढ्छ।’
संविधान संशोधन विधेयकलाई निर्णयार्थ पेश गरेर राजपा नेपाललगायतका असन्तुष्ट दललाई पनि निर्वाचनमा ल्याउनुको विकल्प नभएको भन्दै प्रचण्डले जिम्मेवारपूर्ण भूमिका खेल्न नसके असन्तुष्टिमा खेल्ने तत्वले फाइदा उठाउन सक्ने बताए।
बैठकमा संसद्को अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको रिक्त सभापतिको उम्मेदवारी र अन्य समितिमा रिक्त सदस्यहरुको पदपूर्तिका विषयमा पनि छलफल भएको थियो।
श्रम समितिका सभापतिको उम्मेदवारी र समितिका सदस्यहरुको पदपूर्तिका लागि बैठकले आफ्नो सुझाव दिएको र त्यसबारे अन्तिम निर्णय पार्टी हेडक्वार्टर बैठकले गर्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले जानकारी दिए। रासस