PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

ट्राफिक जाममा एम्बुलेन्स : बन्दै विरामीको काल



सागर बुढाथोकी

ट्राफिक जाममा एम्बुलेन्स : बन्दै विरामीको काल

काठमाडौं :  अत्यन्तै सिकिस्त विरामी लिएर अस्पताल जाँदा २० मिनेट एम्बुलेन्स जाममा फस्यो भने के हुन्छ? घटनाहरुले प्रमाणित गरेको छ – बचाउने प्रयास असफल हुनसक्छ, विरामी बाटैमा मर्न सक्छ। 

दुई साताअघि बालकोटका मनोज पौडेल त्यसरी नै २० मिनेट जाममा फसे। श्वासप्रस्वास (धम्की)ले थलिएका हजुरबा सिकिस्तै भए। उनले नजिकैको नागरिक अस्पतालबाट एम्बुलेन्स बोलाए। एम्बुलेन्स तुरुन्त आयो। सिभिल अस्पताल मीनभवन लैजाने निधो गरे उनले।

बालकोटबाट एम्बुलेन्स लोकन्थली एकैछिनमा पुग्यो। लोकन्थलीबाट मीनभवन पुग्न भने २० मिनेट लाग्यो। बिहान 'अफिस आवर' भएकाले एम्बुलेन्स लोकन्थली र कोटेश्वर बीचको सडकमा जाममा पर्‍यो। लोकन्थली चोकबाट अगाडि बढिसकेकाले अर्को साइडबाट लैजान सम्भव भएन।

मनोजका हजुरबुबा सास छिटोछिटो चलाइरहेका थिए। मनोज अत्तालिएर असिन पसिन हुँदै एम्बुलेन्स चालकलाई छिटो चलाउन निर्देशन दिँदै थिए। तर, ट्राफिक जामको कारण उनी एम्बुलेन्समै भगवानको पुकार गर्न बाध्य थिए।

बल्लतल्ल एम्बुलेन्स अस्पताल पुग्यो। भाग्यले उनको हजुरबुबा बाँचे। सिभिल अस्पतालबाट हजुरबुबालाई अहिले गठ्ठाघरस्थित नागरिक अस्पतालमा ल्याएका छन् उनले। नागरिक अस्पतालमा भेटिएका उनले भने, ‘एम्बुलेन्स यात्रा यस्तो डरलाग्दो हुँदो रहेछ अनुभव गरियो।’

जामको कारण एम्बुलेन्समै मर्छन विरामी

मनोजका हजुरबालाई अस्पताल पुर्‍याउने नागरिक अस्पतालका एम्बुलेन्स चालक मणिन्द्र थापा ७ वर्षदेखि यही पेशामा कार्यरत छन्। दिनहुँ उनले यस्तो घटना देख्दै आइरहेका छन्। भन्छन,  ‘ट्राफिक जामको कारणले मेरो एम्बुलेन्समै २ जनाले ज्यान गुमाए। ३० मिनेट भन्दा लामो जाममा फसेकाले उनीहरुलाई मैले बचाउन सकिन।’

उनी २ वर्षअघिको घटना सम्झन्छन्। ३५ वर्षका मुटुको बिरामीलाई थापाले नागरिक अस्पतालबाट गंगालाल लिएर गए। अपरान्ह ५ बजेको समय भएकाले कोटेश्वरको जाममा फसे। बल्लतल्ल त्यहाँबाट पार भएका उनी फेरि गौशालाको जाममा परे। बैकल्पिक बाटो समेत नभएकाले जाम कुर्नुको विकल्प थिएन्। बल्लतल्ल जाम खुल्यो। एम्बुलेन्स अगाडि नबढाउँदै विरामीको ज्यान गयो। १३ मिनेटमा पुग्ने ठाउँ जामका कारण १ घण्टा भन्दा बढी समय लागिसकेको थियो।

६ महिना अघि पनि विरामीलाई गंगालाल लिएर जाँदा बाटोमै ज्यान गएको थियो। त्यसको कारण पनि एउटै थियो– ट्राफिक जाम।


अन्य सवारी साधन र ट्राफिक प्रहरीबाट छैन सहयोग

एक हप्ताअघि थापा न्यूरो अस्पतालमा विरामी लिएर जाँदै थिए। लोकन्थली चोकबाट अलिकति अगाडि पुगेपछि जाममा परे। फर्केर अर्को बाटो जान लाग्दा पछाडि पूरै जाम भइसकेको थियो। लोकन्थली चोकमा ट्राफिक ड्यूटीमै थिए। ती प्रहरीले लामो जाम भएको जानकारी दिएनन्। ‘मोटरसाइकल र सार्वजानिक यातायातले जस्तै आजकाल ट्राफिक प्रहरीले पनि सहयोग गर्दैनन्,' थापा भन्छन्, ‘सबै एम्बुलेन्स चालकहरु जामको मारमा परेका छन्। तर, सोचेजस्तो सहयोग पाएका छैनन्।’

केही दिनअघि सिन्धुपाल्चोकको खाडीचौरबाट खुट्टा भाँचिएको बिरामी लिएर आउँदै गरेको एम्बुलेन्स कोटेश्वरमा बाइकसँग ठोक्कियो। आफ्नो साइडमा जाम भएकाले एम्बुलेन्स अर्को साइडबाट जाँदा दुर्घटना भएको थियो। थापाले बिरामी पुर्‍याएर आउँदा त्यो दुर्घटना देखे। उनले नै त्यो बिरामीलाई अस्पताल पुर्‍याइदिए। फर्कँदा  ट्राफिकसँग लामो बिवाद गरेर एम्बुलेन्स मर्मत गर्न मोटरसाइकललाई बाध्य गराए।

जाममै बच्चाको जन्म 

एम्बुलेन्स चालक कृष्ण प्रसाद पराजुलीले पनि ट्राफिक जामले धेरै समस्या भोगेका छन्। एम्बुलेन्स चलाएको ६ वर्षमा ३ पटक त जामकै कारणले एम्बुलेन्समै बच्चा जन्मिएको उनी बताउँछन्। धेरै पटक जामले तनाव भोग्नुपरेको उनले अनुभव गरेका छन्।

एम्बुलेन्स चालक दीपक घजु बिहान ९ बजेदेखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म जामकै कारण अत्यन्तै प्रेसर हुने बताउँछन्। गंगालाल, न्यूरो, थापाथली प्रसुती गृह र छाउनी अस्पताल रुटमा 'रिस्की' बिरामीहरु पर्ने भएकाले जामले धेरै असर पार्ने उनले अनुभव गरेका छन्।

जामको चपेटा : आफन्तको रुवावासी 

४ महिना अघिको उदाहरण- एभरेस्ट हस्पिटलमा १२ वर्ष जतिको बच्चा ल्याइयो। त्यहाँ उपचार नहुने भएपछि डाक्टरले कान्ति बाल अस्पताल रिफर गरे। बच्चा बेहोस थियो। 'छिटोछिटो' भन्दै बच्चाकी आमा रोइरहेकी थिइन्। तर, बाटो पूरै जाम। 'बल्लतल्ल अस्पताल पुग्यौँ। म आफैँले बच्चालाई अस्पताल इमर्जेन्सीसम्म बोकेर लगेँ,' एभरेष्ट हस्पिटलका एम्बुलेन्स चालक रामकृष्ण भुजेलले पीडादायी घटना सुनाए, 'समयमा ल्याएको भए बच्चा बचाउन सकिन्थ्यो भन्दै डाक्टरले बच्चालाई मृत घोषणा गरे।’
 
भुजेल एक वर्ष यता एभरेस्ट हस्पिटलको एम्बुलेन्स चलाइरहेका छन्। त्यसभन्दा पहिले उनले प्राइभेट गाडी चलाउँथे। निजी गाडी चलाउँदा उनलाई जाम हुँदा दिक्क लाग्थ्यो। अहिले जाम देख्यो कि चिन्ता लाग्छ, ‘कतै जामकै कारण बिरामीलाई अस्पताल पुर्याउन नसकेर मृत्यु हुने त होइन?’ 

बिरामीका आफन्त उनलाई ‘छिटो छिटो’ भन्दै अत्याइरहेका हुन्छन्। 

‘बाटोमा यस्तो ट्राफिक जाम हुन्छ चाहेर पनि छिचोल्न सकिँदैन। त्यहीमाथि बाइक र गाडीहरुले बाटो छोड्दैनन्। कतिपय बिरामी एम्बुलेन्समै मरिसकेका हुन्छन। त्यस्तो बेला खुब ग्लानी हुन्छ,’ उनी भावुक सुनिए।

अन्य सवारी साधनले एम्बुलेन्सलाई साइड नदिने गरेको उनले धेरै अनुभव गरेका छन्। 

‘एम्बुलेन्सलाई समेत जान दिँदैनन्। अर्काको जीवनमरण भन्दा आफ्नो हतार ठूलो ठान्ने मान्छे धेरै देखेँ,’ मानवता रित्तिँदै गरेको समाजको तस्बिर व्यक्त गदै थिए भुजेल।

बिरामी बोक्दा प्रेसर 

एक वर्ष पहिले बिरामी लिन भुजेल भक्तपुर गइरहेका थिए। मुसलधारे पानी परिरहेको थियो। चाँडो आउनका लागि बिरामीको परिवारबाट फोन आइरहेको थियो। त्यसैले उनले एम्बुलेन्सको गति तीब्र पारेका थिए। तीनकुनेमा एउटा बाइक पछाडिबाट आएर एम्बुलेन्समा ठोक्कियो। तर, बाइकधनीले एम्बुलेन्सको गल्ती देखाइदिए। 

ट्राफिक प्रहरीले पनि एम्बुलेन्सले क्षतिपूर्ति तिर्नुपर्ने बतायो। क्षतिपूर्ती तिर्ने शर्तमा उनी विरामी लिन गए। 

‘धेरै गलफत्ती गरेर बसिरहँदा उता बिरामीलाई खतरा। म गल्ती नगरेको फाइन तिर्न राजी भएँ,’ उनले सुनाए।

सवारी दुर्घटना, हृदयघात, बीष सेवन लगायतका गम्भीर बिरामीलाई एम्बुलेन्समा ल्याइने गरिन्छ। यस्ता बिरामीको जीवन निमेषभरमा तलमाथि हुन सक्छ। तर, छोटो बाटो काट्नै एम्बुलेन्सलाई घण्टौ लाग्ने स्थिति छ। सडक नै ज्यान लिने प्रमुख माध्यम बनेको रामकृष्णको निष्कर्ष छ।

सिन्धुलीबाट काठमाडौं छिरेपछि अर्जुन कुमार पहाडी सवारी चलाइरहेका छन्। १२ वर्षदेखि सवारी चलाए पनि एम्बुलेन्स चलाएको ६ वर्ष मात्र भएको छ। ६ वर्ष देखि उनी सिभिल हस्पिटल बानेश्वरको एम्बुलेन्स चलाइरहेका छन्। एम्बुलेन्स चलाउनु उनलाई अन्य सवारी चलाउनुभन्दा जिम्मेवारीपूर्ण काम लाग्छ।

'कतिपय बिरामी बेहोस हुन्छन्। बेहोस होलान् भन्ठान्यो, मरिसकेका हुँदारहेछन्। डाक्टरले केही मिनेट'भो मरेको भन्दा थक्थकी लाग्छ। जामले गर्दा बचाउँन नसकेको अनुभव गर्दा साह्रै पीडा हुन्छ,’ पहाडीले भने।

एम्बुलेन्सलाई केही बाटोमा अतिरिक्त सुविधा दिइएको छ। लेनक्रस गर्ने, ट्राफिक लाइटले अवरोध नगर्ने आदि। तर, यी सुविधाले खासै नसघाएको चालकहरुको बुझाइ छ। उनीहरु भन्छन्, ‘दुवैतिरबाट चलाउन पाइन्छ भनेर के भन्नु, जामले गर्दा समयमा बिरामी पुर्याउन सकिँदैन। हाम्रो उपाय नै केही हुँदैन, चाहेर पनि हामी बिरामी बचाउन सक्दैनौँ।' 

सर्वसाधारणमा पनि छैन चेतना

बाटो नछोड्ने मोटरबाइक र अन्य सवारीसाधनबाट पीडित भएको भुजेल बताउँछन्। 

एम्बुलेन्सलाइ बाटो छोडिदिने संस्कारको विकास भएमा केही छिटो पुग्न सकिने भुजेलको सुझाव छ। ‘हतार सबैलाई हुन्छ, तर एम्बुलेन्सलाई जीवन बचाउने हतार हुन्छ, त्यो कुरा सबैले बुझ्नु पर्यो। मानिसको जीवन बचाउन केही गर्नु पर्दैन, एम्बुलेन्सलाई बाटो छोडेर सहयोग गरे पुग्छ,’ भुजेलले ६ वर्ष एम्बुलेन्स चलाउँदा निकालेको सार सुनाए।

ट्राफिक प्रहरी भन्छ : एम्बुलेन्सलाई उडाएर पठाउन मिल्दैन

ट्राफिक प्रहरी प्रवक्ता लोकन्द्र बहादुर मल्ल एम्बुलेन्सहरु जामको मारमा परेको स्वीकार गर्छन्। उनका अनुसार सडक पुर्वाधार गतिलो नहुँदा ट्राफिक व्यावस्थापन गर्न कठिनाइ भएको हो। ‘सडक गतिलो छैन। जताततै भत्काएको छ। यातायात धेरै भएकाले ‘पिक आवर’ मा गाह्रो छ,’ उनी भन्छन्, ‘हामीले एम्बुलेन्सलाई प्राथमिकतामा राखेका छौं।’

प्रवक्ता मल्ल एम्बुलेन्सहरुले बिरामी नहुँदा समेत अर्को बाटोबाट हिँड्ने भएकाले ट्राफिकले कडाइ गर्नुपरेको बताउँछन्। 

‘चालकहरुले मनपरी गर्न थालेपछि एम्बुलेन्सलाई पनि केही कडाइ गरिएको हो। तर, उनीहरुले भनेजस्तो ट्राफिकले सहयोग नगरेको होइन,’ उनले भने, ‘हामीले जाम खुलाउन सहयोग गर्ने हो। एम्बुलेन्सलाई उडाएर कटाउने हैन।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell